एक गला: सय राष्ट्रगान

रामबहादुर थापा/बागलुङ, १५ माघ (रासस) ः कोभिड–१९ का कारण विश्वयात्रा एक्कासी रोकिए पनि सङ्गीत अभ्यास र साधनालाई विश्राम दिनुभएन गायक रामजी नेपालीले । राष्ट्रगान गाउँदै देशदेशावर घुम्ने रहरमा ठेस लाग्दासमेत उहाँ निराश हुनुभएन ।

“प्रतिकूलतालाई अवसरमा बदलेँ”, ४१ वर्षीय नेपालीले भन्नुभयो, “कोरोनाअघि म २५ देशका राष्ट्रगान गाउँदै विश्वयात्रामा थिएँ, अहिले सय राष्ट्रगान गाउन सक्ने भएँ ।” उहाँले सयौँ राष्ट्रगानका रुपमा साउथ सुडानको राष्ट्रगान गाएको भिडियो आफ्नै युट्युब च्यानलमार्फत हालै सार्वजनिक गर्नुभएको छ ।

उहाँले गाएका सबै राष्ट्रगानको भिडियो÷अडियो सामग्री युट्युब र सामाजिक सञ्जालमा हेर्न÷सुन्न सकिन्छ । बागलुङ नगरपालिका वडा नं ६ भीरलाङ्खुरीका नेपाली “विश्व बन्धुत्व, साँस्कृतिक पर्यटन र सद्भावना’को सन्देशसहित २५ देशका राष्ट्रगान गाउँदै सन् २०१७ देखि विश्वयात्रामा निस्कनुभएको थियो । यद्यपि राष्ट्रगानको अभ्यास र विश्वयात्राको आन्तरिक तयारी भने सन् २०१५ देखि नै थालेको उहाँले बताउनुभयो ।

गत वर्षदेखि विश्वभर एकाएक फैलिएको कोरोना महामारीका कारण उहाँले आफ्नो विश्वयात्रा बीचमै स्थगन गर्नुपर्ने अवस्था आयो । भारतका सात प्रान्त घुमेर बङ्गलादेश जाने क्रममा अघिल्लो वर्ष पुसमा सिलुगढीबाट नेपाली घर फर्कनुभएको थियो । महामारी थामिएर स्थिति सामान्य भएपछि पुनः विश्वयात्रा शुरु गर्ने योजनामा उहाँ हुनुहुन्छ । “सन् २०२१ भित्र संयुक्त राष्ट्र सङ्घका १९५ वटै सदस्य राष्ट्रका राष्ट्रगान गाउने लक्ष्य छ”, नेपालीले भन्नुभयो, “स्थिति सहज हुनासाथ बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स हुँदै फेरि विश्वयात्रामा निस्कन्छु ।”

जापान, सिङ्गापुर, मलेशियालगायतका देशमा पुग्न त्यहाँ रहेका नेपाली सङ्घसंस्थासँग समन्वय भइरहेको उहाँले सुनाउनुभयो । नेपालीको पहिलो विदेश यात्रा सन् २०१७ मा बेल्जियमबाट शुरु भएको थियो । बेल्जियमसँगै फ्रान्स, स्पेन र नेदरल्याण्डका विभिन्न शहर र सार्वजनिक स्थलमासमेत राष्ट्रगान गाएको उहाँले स्मरण गर्नुभयो । “आइफिल टावरमा पुगेर फ्रान्सको राष्ट्रगान गाएँ, प्रवासी नेपालीहरूसँगको समन्वयमा म युरोप पुगेको थिएँ”, उहाँले विगत सम्झनुभयो । गत वर्ष भारत पुग्दा उहाँले चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्म यात्रा गर्नुभएको थियो ।

झण्डै चार महिना भारतमा रहँदा नेपाली समुदाय रहेका धेरै ठाउँमा औपचारिक÷अनौपचारिक कार्यक्रम भएको उहाँले बताउनुभयो । नेपालीले जुन देश पुग्दा पनि पहिले नेपालको र त्यसपछि मात्र सम्बन्धित देशको राष्ट्रगान गाउने गर्नुभएको छ । “कार्यक्रमको प्रकृतिअनुसार एकै ठाउँमा धेरै देशका राष्ट्रगान पनि गाउँछु”, नेपालीले भन्नुभयो । सन् २०२५ भित्र १९५ देशका राष्ट्रगान गाउँदै विश्वका २३२ वटै देश पुग्ने उहाँको लक्ष्य कोरोनाकै कारण पछाडि धकेलिने देखिएको छ । चाँडै स्थिति ठिकठाक भएर आफ्नो विश्वयात्रा फेरि शुरु हुनेमा उहाँ आशावादी हुनुहुन्छ ।

कोरोनापछिको फुर्सदिलो समय नयाँनयाँ देशको राष्ट्रगान सङ्कलन र गायन अभ्यासमा बितिरहेको नेपालीले बताउनुभयो । “राष्ट्रगानमै समर्पित भएर लागेको छु, अभ्यास गर्दागर्दा कहिलेकाहीँ रातको दुई÷तीन बजेको पनि पत्तै हुँदैन”, नेपालीले भन्नुभयो । उहाँ बाटोमा हिँड्दा पनि मोबाइलको एयरफोन कानमा राखेर ट्रयाकमा राष्ट्रगान गुन्गुनाइरहेको सुनिन्छ, देखिन्छ । पहिलो चरणमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रको राष्ट्रगान गाएपछि दोस्रो चरणमा बाँकी देशको राष्ट्रगान गाउने नेपालीको सोच छ ।

“राष्ट्रगान गाएर नेपाललाई विश्वसामु चिनाउनुछ, यसले विश्व मानवजातिलाई एकापसमा जोड्ने मेरो विश्वास छ”, उहाँले भन्नुभयो, “राष्ट्रगान गाउँदा मलाई जहिल्यै नयाँ उर्जा मिल्छ, गौरव महसुस गर्छु ।” सबैभन्दा धेरै देशका राष्ट्रगान गाउन सक्ने गायकका रुपमा विश्व कीर्तिमान पनि राख्ने नेपालीको लक्ष्य छ । बुद्ध र सगरमाथाको देशका रूपमा नेपालको चिनारी बोकेर विदेश पुग्दा गौरवबोध हुने गरेको उहाँले बताउनुभयो । विश्वयात्राको उद्देश्य नेपालको पर्यटन प्रवद्र्धन गर्नु पनि रहेको उहाँको भनाइ छ । “संसारभरका मानिसलाई एकपटक नेपाल घुम्न आउनुस् भनेर सन्देश दिन चाहन्छु”, नेपालीले भन्नुभयो ।

भाइचारा र सद्भावनाको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने विश्वयात्राको मुख्य उद्देश्य रहेको नेपालीले बताउनुभयो । विश्वयात्राका लागि अहिलेसम्म कतैबाट कुनै सहयोग नलिइ आफ्नै खर्चमा हिँडेको उहाँले सुनाउनुभयो । “विस्तारै सहयोगको माहोल पनि बन्ला गर्दै जाऔँ, हेर्दै जाऔँ”, नेपालीले भन्नुभयो । उहाँले ‘गुगल’, ‘युट्युब’ जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्रयाक’ खोज्नुहुन्छ । आवश्यक पर्दा दुतावासबाटसमेत सहयोग लिने गरेको उहाँको भनाइ छ । “१९५ देशकै राष्ट्रगान र तिनका ट्रयाक सङ्कलन गरिसकेको छु”, नेपालीले भन्नुभयो ।

संसारका विभिन्न भाषामा बनेका राष्ट्रगान सही ढङ्गले गाउनु चुनौतीपूर्ण विषय भएको उहाँको अनुभव छ । अहिलेसम्म दर्जनौँ भाषाका उहाँले राष्ट्रगान गाइसक्नुभएको छ । “सङ्गीत, भाषा, उच्चारणदेखि धेरै पक्ष ख्याल गर्नुपर्ने हुन्छ, एउटा राष्ट्रगान गाउने सक्ने हुन लामो अभ्यास र प्रकृया पार गर्नुपर्छ”, नेपालीले भन्नुभयो । उहाँले सबै भाषाका गीतलाई नेपाली रोमनमा उतारी गाउने गर्नुहुन्छ ।

नेपालीले अहिलेसम्म गाएकामा सबैभन्दा बढी समय र मेहनत स्वीजरल्याण्डको राष्ट्रगान गाउँदा खर्चिनुप¥र्यो । “स्वीजरल्याण्डको भाषा पनि जटिल र सङ्गीत पनि चल्तीको भन्दा भिन्दै रहेकाले अभ्यास बढी गर्नुप¥यो”, नेपालीले भन्नुभयो, “नेपालपछि भारत र अमेरिकाको राष्ट्रगान सजिलो लाग्यो ।”

एकै मञ्चमा ८० राष्ट्रगान

विश्व पर्यटन दिवसका सन्दर्भमा गत असोज ११ गते बागलुङ बजारमा आयोजित एक कार्यक्रममा एकै मञ्चबाट ५० देशका राष्ट्रगान गाउनुभएका नेपाली पर्यटकीय नगरी पोखरामा पनि उस्तै प्रकृतिको कार्यक्रम गर्ने योजनामा हुनुहुन्छ ।

पोखरामा एकै मञ्चबाट ८० देशका राष्ट्रगान गाउने गरी कार्यक्रमको तयारी भइरहेको नेपालीले बताउनुभयो । कोरोना सङ्कटका बेला विश्व एकता र भातृत्वको सन्देशसहित पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर सो कार्यक्रम गर्न लागिएको हो । “पोखरा अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय केन्द्र भएकाले त्यहाँ कार्यक्रम गर्दा देश विदेशमा सन्देश प्रवाह हुन्छ”, नेपालीले भन्नुभयो । यसअघि गत फागुनमा गलकोट नगरपालिका–५ टेउमामा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा उहाँले नेपालसहित ११ देशका राष्ट्रगान गाउनुभएको थियो ।

नेपालीले जापान, इटाली, चीन, युक्रेन, क्यानाडा, इजरायल, ब्राजिल, फ्रान्स, ताइवान र भारतको राष्ट्रगान गाउँदा कार्यशालामा सहभागी सम्बन्धित देशका मूर्तिकारहरूले आफ्नो राष्ट्रगानको सम्मान गरेका थिए । ‘वर्ष दिनको मेला’ (२०५३), ‘जवानीमा तानेको’ (२०५९), ‘भीरको टुनी’लगायतका गीतमा स्वर दिनुभएका नेपालीले विश्वयात्रापछि पुनः मुलधारकै सङ्गीत कर्ममा फर्कने बताउनुभयो ।

“राष्ट्रगान गाउँदै विश्व घुमेपछि यात्राको समापन सगरमाथा आधार शिविरमा गर्ने सपना छ”, नेपालीले भन्नुभयो । (खोजी समाचार)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।