टीकापुरका घरहरु खरमुक्त हुँदै, २९६ घरमा खरका छाना विस्थापित गरी कर्कटपाता राखिने

टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ । नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि यस वर्ष २९६ घर छनोट गरेको छ ।

वडाबाट आएका सिफारिसका आधारमा वडा नम्बर–१ मा ५१ घर, २ मा २१, ३ मा १२, ४ मा पाँच घरमा जस्तापाता लगाइने भएको छ । त्यस्तै, वडा नम्बर–५ मा ५४, ६ मा ३७, ७ मा ४५, ८ मा ४६ घर र ९ नम्बर वडामा २४ घरमा जस्तापाता लगाइने भएको छ । नगरपालिकामा वडास्तरबाट खरको छाना विस्थापितका लागि ४०४ घर सिफारिस भएर आए पनि यस वर्ष २९६ घरलाई खरमुक्त गरिनेछ ।

‘‘नगरभरि ४०४ घर खरको छाना भएका तथ्यांक पाएका छौँ । हामीले वडास्तरमा अनुगमन गर्न भनेका थियौँ,’’ नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘‘तीमध्येबाट एकल महिला, अपांगता भएका तथा अतिविपन्न आय–आर्जन नभएका परिवारलाई यस वर्ष प्राथमिकता दिएका छौँ । बढी समस्यामा रहेका परिवारका घर यस वर्ष खरमुक्त हुनेछन् ।’’

उनले बाँकी घर आउँदो वर्ष खरमुक्त हुने बताए । ‘‘नगरपालिकाको योजनाअनुसार जस्तापाता लगाउनका लागि आवश्यक खर्च नगरपालिकाले व्योहोर्ने तयारी हो । तर, म अनुगमनमा जाँदा एकल महिला, अपांगता भएकाको घरमा जस्तापाता लगाइदिने मानिस छैन,’’ उनले भने, ‘‘यसबारे नगरपालिकाले कसरी सहयोग गर्ने भन्नेबारेमा समेत छलफल गरिरहेका छौँ । लगाउने विकल्प नभएकालाई नगरपालिकाले लगाइदिने विषयमा कार्यपालिकामा छलफल गर्छौँ ।’’

एक घरको छानामा जस्तापाता लगाउन नगरपालिकाले ४८ हजार रुपैयाँसम्म अनुदान दिनेछ । नगरपालिकाले जस्तापाता लगाउनका लागि सुरुमा ७० प्रतिशत रकम दिइने र टिन लगाइसकेपछि ३० प्रतिशत भुक्तानी दिने मापदण्ड तयार गरेको छ । संघीय सरकारको सहयोगमा नगरपालिकाले खरको छाना भएकाहरुका घरमा टिनको छाना लगाउने कार्यक्रम अघि सारेको हो । नगरपालिकाले गत वर्ष पनि जनता आवास कार्यक्रमअन्र्तगत १५ घर निर्माण गरिदिएको थियो ।

नगरपालिकाले घरमा टिनको जस्तापाता लगाइदिने भएपछि वडा नम्बर–७ की ज्येष्ठ नागरिक माता विक निकै खुसी भएकी छन् । शनिबार अनुगमनमा माताको घर पुगेका नगरप्रमुख रावललाई उनले धन्यवाद दिइन् । ‘‘भत्कन मात्र बाँकी छ । यस वर्ष वर्षात्मा कहाँ जाउला भन्ने चिन्ता थियो,’’ ७५ वर्ष उमेर नाघेकी एकल महिला माताले भनिन्, ‘‘अब नगरपालिकाले टिन लगाइदिने भएपछि म पनि घामपानीबाट बच्ने भएँ । अब ढुक्कले घरभित्र सुत्न पाइएला भन्ने लागेको छ ।’’

घरको छाना बन्ने भएपछि टीकापुरकै कौशीदेवी बुढा पनि खुसी छिन् । पाँच वर्षदेखि खर नपाएर मर्मत नभएको उनको घरले पनि अब कर्कटपाताको छाना पाउने भएको छ । ‘‘खर किन्ने पैसा नभएर पाँच वर्षदेखि पानी आउँदा चुहिने घरमा बस्न बाध्य थिएँ,’’ उनले भनिन्, ‘‘अब घर मर्मत हुने भयो, किन खुसी नलागोस् ।’’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।