द्व’न्द्वका अ’शक्त प्रहरी डाँगी, अहिले सफल गाईपालक ! वार्षिक रु आठ लाख बचत गर्न सफल

नारायणी रजौरे/दाङ, २३ माघ (रासस) : दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ४४ वर्षीय चन्द्रबहादुर डाँगी व्यावसायिकरूपमा उन्नत जातका गाईपालन गरेर सफल व्यवसायीका रूपमा चिनिनुभएको छ ।

छोटो समयमा सफल उद्यमीका रूपमा आफूलाई चिनाउने डाँगीले अहिले दुई जनालाई आंशिक रोजगारी दिनुभएको छ । विगत चार वर्षदेखि सो पेशा अँगालेका डाँगीलाई अहिले घरपरिवारका तीन सदस्यले पनि दिनभर सहयोग गरिरहनुभएको छ । एक सफल व्यावसायिक गाईपालकरूपमा चिनिनुभएका डाँगी आजभोलि गाईका बाछाबाछीलाई स्याहार गर्ने कार्यमा निकै व्यस्त देखिनुहुन्छ । उहाँले आफूले वार्षिक रु आठ लाख बचत गर्न सफल भएको बताउनुभयो ।

नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत रहेका डाँगी पछिल्लो समय विसं २०५५ मा जाजरकोटको रक्दा इलाका प्रहरी कार्यालयमा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत हुनुन्थ्यो । त्यस समयमा उहाँ तत्कालीन द्वन्द्वको समयमा नेकपा माओवादीले रक्दामा थापेको एम्बुसमा परी घाइते हुनुभएको थियो । घाइते भएपछि लामो समयको उपचारपछि बाँचेको बताउने डाँगीले तत्कालीन सरकारले द्वन्द्वमा परी अशक्त, घाइते भएका सुरक्षाकर्मीलाई सेवाबाट अवकाश दिने नीति ल्याएपछि आफू विसं २०५९ मा सेवानिवृत्त भएको उहाँले बताउनुभयो । सोलगत्तै उहाँ रोल्पास्थित आफ्नो घरमा केही समयसम्म उपचार तथा आराम गरी बस्नुभएको र त्यसपछि बसाइँ सेरेर दाङको तुलसीपुरमा आएको उहाँले बताउनुभयो । आफ्नो स्वास्थ्यमा सुधार आएपछि तुलसीपुरमा होटल पनि सञ्चालन गर्नुभएको उहाँले त्यसमा घाटा लागेपछि व्यवसाय छोडेर एक सहकारीमा संस्था जागिर खान शुरु गर्नुभयो ।

सोही सहकारीमा बचत तथा ऋण प्रवाहमा काम गर्दा कृषि क्षेत्रमा राम्रो सम्भावना रहेको जानकारी प्राप्त गर्ने अवसर पाएपछि आफूले विसं २०७२ देखि साहारा पशुपालन फार्म खोलेर उन्नत जातको गाईपालन शुरुआत गरेको उहाँले बताउनुभयो । शुरुका वर्षमा स्थानीय व्यक्तिको दुई बिघा जमिन वार्षिक रु १२ हजारमा भाडामा लिई रु एक लाख लगानीमा यो व्यवसाय शुरु गर्नुभएका डाँगीले एउटा जर्सीगाईपालन गरेर यो व्यवसायको शुरुआत गरेको बताउनुभयो । अहिले हाम्रो फार्ममा चार जर्सी, १७ होलेस्टन, एउटा साहीवाल जातका गरी जम्मा २२ गाई र १० बाछाबाछी रहेको उहाँले जानकारी दिनुभयो ।

एउटा जर्सीगाईको मूल्य रु एक लाख, होलेस्टन जातको गाईको मूल्य रु दुई लाख र साहीवाल जातको गाईको मूल्य रु एक लाख ५० हजार पर्ने उहाँको भनाइ छ । अहिले दैनिक ८० देखि ९० लिटर दूध स्थानीय तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्नुहुने उहाँले केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरिद गरी लाने गरेको बताउनुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण केही महिनासम्म आफूले उत्पादन गरेको दूधले बजार नपाए पनि अहिले भने बजारका लागि कुनै समस्या नभएको उहाँको भनाइ छ । डाँगीले गाईको दूधका लागि मात्र नभई अहिले मलमूत्र लिनका लागि पनि बिहानैदेखि सर्वसाधारण घरमा आउने गरेको बताउनुभयो ।

गत बिहीबार उहाँको फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ की ४५ वर्षीया सुशीला भट्टराईले आफ्नै घर आँगनमा शुद्ध गाईको दूध खान पाइने भएकाले किन्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि एक लिटर दूध किन्नका लागि बजार जानुपर्ने बाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुशी लागेको छ ।” डाँगीको फार्ममा अहिलेसम्म रु २० लाखसम्म लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक रु १९ देखि २० लाखसम्म आम्दानी हुने गरेको बताइएको छ । सबै खर्च कटाएर यस व्यवसायबाट वार्षिक रु आठ लाख बचत हुने गरेको डाँगीले बताउनुभयो ।

आफूले दुई बिघा जमिन गाईपालनका लागि भाडामा लिए पनि सिँचाइ अभावका कारणले घाँसखेती गर्न नसक्दा समस्या हुने गरेको उहाँको भनाइ छ । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको डाँगीले बताउनुभयो । “अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु तर अरु आर्थिक सहयोग पाएको छैन”, उहाँले भन्नुभयो । गत वर्ष तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट गाईपालक किसान भनेर पुरस्कृत ग¥यो र त्यसबाट थप हौसला मिलेको उहाँको भनाइ छ ।

कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले अहिले मेरो फार्ममा विभिन्न ठाउँबाट गाई हेर्न, जानकारी लिन तथा गाई खरिदका लागि समेत मानिस आउने गरेका छन् उहाँले भन्नुभयो । पढेलेखेका पैसा कमाउनकै लागि जागिर खानैपर्छ भन्ने
मान्यतालाई गलत हुने भनाइ राख्ने डाँगीले साँच्चिकै पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्छ उहाँले भन्नुभयो । तर त्यसका लागि राज्यले नारामा मात्र सीमित नभई व्यवहारिकरूपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्छ, त्यसैगरी उत्पादित सामग्रीलाई बजार व्यवस्थापनमा सहयोग गर्ने उहाँको सुझाव छ । (खोजी समाचार)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।