ताल संरक्षणका लागि मन्त्रालयसँग साझेदारी

कावासोती, ३० माघ (रासस) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित टरुवा तालको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न रु सात करोडको लागतमा कार्यक्रम गरिने भएको छ ।

कावासोती नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा टरुवा तालको संरक्षणसँगै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागिएको हो । पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत रु सात करोड बराबरको काम गर्न लागिएको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो । ताल अहिले झारले ढाकेर जीर्ण बनेको छ ।

कावासोती–७ र ८ अन्तर्गत टरुवा ताल तथा सिद्धेश्वर क्षेत्र समेटेर पर्यटकीय विकासका कार्यक्रम गरिने छ । नगरपालिकाकै मत्वपूर्ण पर्यटकीय क्षेत्रको सम्भावनाका रूपमा रहेको टरुवा तालसहितको क्षेत्र आवश्यक पूर्वाधारको अभावमा ओझेल पर्दै आएको थियो । यस क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा अब काम अगाडि बढ्ने नगरप्रमुख पुनले बताउनुभयो ।

नगरपालिकाको हरेक क्षेत्रको विकासमा आफूहरु नगरस्तरबाट लागेको बताउँदै प्रदेश र सङ्घसँग समेत साझेदारीमा यहाँको विकासका लागि काम अगाडि बढाइरहेको उहाँले बताउनुभयो । “हामी नगरका हरेक क्षेत्र समेटेर विकासका कामलाई अगाडि बढाइरहेका छौँ, पर्यटकीय क्षेत्रको विकासमा मन्त्रलायसँग समेत साझेदारीमा काम गर्न लागेका छौँ”, नगरप्रमुख पुनले भन्नुभयो, “आवश्यकताअनुसार प्रदेश र सङ्घसँग समन्वय गर्दै अघि बढ्नेछौँ ।” पर्यटकीय क्षेत्रको विकासका लागि मन्त्रलायसँगको साझेदारीमा काम अघि बढन् लाग्नु खुशीको कुरा भएको नगरप्रमुख पुनले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार साझेदारीमा काम गर्न लागिएका देशभरका २०० योजनाको सूची सार्वजनिक गरेको छ ।

टरुवा तालसहितको क्षेत्रको पर्यटकीय पूर्वाधार विकासका लागि यति धेरै बजेट विनियोजन भएको हो । पहिलोपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच यति धेरै बजेट साझेदारीमा कार्यक्रम गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताउनुभयो । कावासोती नगरपालिका पर्यटकीय गन्तव्यको प्रबल सम्भावना भएको क्षेत्र भएकाले यसको थप विकासका लागि साझेदारीमा टरुवा क्षेत्रमा काम गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले बताउनुभयो ।

टरुवा ताल क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने नगरको पहिल्यैकै योजना रहेको र सोहीअनुसार गुरुयोजनासमेत तयार गरिसकिएकाले अब ठेक्का प्रक्रियामार्फत तत्काल काम अगाडि बढाइने नगरपालिकाका आर्किटेक्ट इञ्जिनीयर पवन रुपाखेतीले बताउनुभयो । उहाँले पर्यटन पूर्वाधार विकासका काम सम्पन्न गरेसँगै टरुवा ताल नगरकै गहनाका रूपमा विकास हुने बताउनुभयो ।

मन्त्रालय र नगरपालिकाबीच साझेदारीमा पर्यटन पूर्वाधार विकासमा क्रमागत योजनाका रूपमा कार्यक्रम अगाडि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका योजना शाखाका शाखा अधिकृत होमनाथ काफ्लेले बताउनुभयो । उहाँका अनुसार तीन वर्षसम्ममा साझेदारीमा काम सक्ने गरी कार्यक्रम अगाडि बढ्नेछ । मन्त्रालयको रु चार करोड ५५ लाख र कावासोती नगरपालिकाको रु दुई करोड ४५ लाख लागत साझेदारीमा काम अगाडि बढ्ने शाखा अधिकृत काफ्लेले बताउनुभयो ।

कावासोती नगरपालिकामा रहेको टरुवा ताल यहाँको महत्वपूर्ण क्षेत्र हो । बजार क्षेत्रबाट नजिकै रहेकाले समेत भोलिका दिनमा महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुने आशा गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।