डोल्पाका दलित महिलालाई छाक टार्नै मुस्किल

सिमिकाेट । हिमाली जिल्ला डोल्पामा दलित समुदायका महिलालाई छाक टार्नै मुस्किल हुने गरेको छ। अशिक्षा र चरम गरिबीले थलिएका उनीहरुलाई हरेक दिन छाक टार्ने कुराले नै पिरोल्ने गरेको छ। जिल्लाका अधिकांश दलित समुदायको अर्थावस्था कमजोर भएकाले दैनिक गिट्टी कुट्ने, ढुङ्गा बोक्ने, मल बोक्नेलगायतका काम गरेर पनि बिहान बेलुकीको छाक टार्न धौधौ पर्ने गरेको उनीहरुको गुनासो छ।

“पढ्ने लेख्ने कलिलै उमेरमा बिहे गराइदिए, घरमा कसैको रोजगारी छैन, एक छाक टार्न पनि दशपटक सोच्नुपर्ने बाध्यता छ”, त्रिपुरासुन्दरी नगरपालिका–१ बस्ने कलमी सार्कीले भनिन्। “बिहान–बेलुकी छाक टार्नकै लागि दैनिक मजदुरी नगरी सुख छैन, एक छाक खान र एकसरो लगाउन रातदिन नभनी ढुङ्गा–माटोसँग खेल्नुपर्ने बाध्यता छ।”

गरिबीकै कारण औषधोपचार गर्ने पैसा नपाएर घर नजिकै बस्ने एक छिमेकी महिलाको आँखै अगाडि मृत्यु भएको भन्दै सार्कीले दुःख व्यक्त गरिन्। दलितलाई ढुङ्गा कुटेर पनि खान नपुग्ने र पढेलेखेकाले पनि जागिर नपाउने अवस्था अझै नछुटेको स्थानीयवासी गीता सार्कीले बताइन्।

त्यसैगरी अर्की रुप्सी सार्कीको पीडा पनि उस्तै छ । खाइनखाई अर्काको मजदुरी गरेर पढाएका छोराछोरी पनि जागिर नपाएर अर्काकै मजदुरी गर्न बाध्य भएको उनले बताइन्। “बाबुआमाको जस्तै दैनिक मजदुरी गरेर खानुपर्ने अवस्था नआओस् भन्दै शरीरलाई रातदिन पिसेर छोरालाई कक्षा १२ पास गराएँ, अहिले त्यही छोरो सानोतिनो जागिर पनि नपाएर मजदुरीमै लाग्न बाध्य भयो, दलितलाई पढेलेखेर पनि के काम छ”, उनले गुनासो गरिन्।

दुर्गम ठाउँका पढेलेखेका दलित शक्ति र पहुँच नभएकै कारण जागिरको आशा मारेर मजदुरीमै लाग्न बाध्य हुने गरेको उनको भनाइ छ । “पाखुरामा बल हुञ्जेल त दैनिक मजदुरी गरेर आफू र आफ्नो परिवारको पेट पालौँला, भोलि बुढेसकालमा कसरी छाक टार्ने त्यही कुराको ठूलो पिरलो छ”, उनले भनिन्।

कलमी र रुप्सी प्रतिनिधि पात्र मात्र हुन् । जिल्लाका जुफाल दुनै, त्रिपुराकोट, ल्हालगायतका विकट गाउँबस्तीमा बसोबास गर्ने अधिकांश महिलाको पीडा एउटै हो। सानै उमेरमा बिहे गरेर धेरै सन्तान जन्माउने कारणले अधिकांश महिलालाई पाठेघर खस्ने समस्यासमेत देखिएको दलित अगुवा बमबहादुर सार्कीले बताए।

कमजोर अर्थावस्था भएकै कारण दुर्गमका दलित महिला उपचार गर्नुको सट्टा रोग लुकाएर बस्ने गरेको सार्कीले बताए। “जिल्लाका अधिकांश दलितको जग्गा केही टुक्रा मात्र छ, त्यसमा उत्पादन पनि नगन्य मात्र हुन्छ, त्यसैले पनि कतिपय दलित अझै पनि माथिल्लो जातसँग खलो थापेर पुस्ता धानिरहेका छन्”, उनले भने।

गाउँमै सरकार भए पनि दलित महिलाको जीवनस्तर उकास्नका लागि अहिलेसम्म कसैले पनि सहयोग नगरेको सार्कीको भनाइ छ। गरिबीले ग्रस्त जीवन झेल्दै दलित महिलाको जीवनलीला समाप्त हुने गरेको दलित अगुवाहरुको जिकिर छ। देशमा जति व्यवस्था परिवर्तन भए पनि ग्रामीण भेगका दलित अझै पनि रोग, भोक र शोकले ग्रस्त भएको उनीहरुको भनाइ छ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।