पर्यटकीयस्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण

म्याग्दी । जिल्लाकाे मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण भएको छ। गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले मालिका–७ बिम र वडा नं ६ को दुखु हुँदै मालिका धुरी जाने पदमार्ग निर्माण गरेको हो। कार्यालयका संरक्षण अधिकृत शम्भुकुमार मिश्रले एक हजार २७२ मिटर पदमार्ग निर्माण भएको जानकारी दिए।

“उकालोमा १.५ मिटर चौडाइमा ढुङ्गा चिनेर र तेर्सोमा ढुङ्गा बिछ्याइएको छ”, उनले भने, “उपभोक्ता समितिले रु ३९ लाख २० हजार भुक्तानी लगेका छन् ।” देउराली भन्ने ठाउँभन्दा केही माथिबाट मालिका धुरीसम्मै पदमार्ग बनाइएको हो।

यसैगरी, मालिका धुरी परिसरमा ५१० मिटर सुक्खा पर्खाल निर्माण भएको छ । पदमार्गमा प्रयोग गर्ने ढुङ्गा ओसार्न थप ३०० मिटर माटो काटेर पदमार्ग बनाइएको छ। डेढ सय स्थानीय युवाले एक महिनासम्म जङ्गलमा बास बसेर पदमार्ग निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष देवबहादुर पुनले बताए। “नजिकै बस्ती नभएकाले जङ्गलमै बास बसेर पदमार्ग बनायौँ”, उनले भने, “मजदुरलाई शिविर बनाएर राख्नुपर्दा व्यवस्थापनमा पनि खर्च भयो ।”

यसअघि उकालो, भिरालो र साँघुरो बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने समस्या थियो। पदमार्ग निर्माण भएपछि सुरक्षित र सहजरूपमा यात्रा गर्न सकिने भएको बिमका पलवीर जुग्जालीले बताए। “साँघुरो बाटोमा चिप्लिएर लड्ने जोखिम थियो”, उनले भने, “अब भने ढुक्क भएर हिँड्न सकिन्छ ।”

सडक र पदमार्ग बनेपछि मालिकाको यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिकाले बिम हुँदै मालिका धुरी जाने ११ किलोमिटर सडक निर्माण गरेको छ । रु ८३ लाखको लागतमा बाइन्दफाँटदेखि धौलागङ्गा र नागीथलाको बीचसम्म सडक पुर्याइएको बिमका वडाध्यक्ष रेशम जुग्जालीले जानकारी दिए।

“बिमबाट अहिले साढे दुईदेखि तीन घण्टामै मालिका पुग्न सकिन्छ”, उनले भने, “पहिलेको तुलनामा आधाभन्दा धेरै यात्रा अवधि घटेको छ ।” मालिका गाउँपालिकाको वडा नं ७ र ६ तथा रघुगङ्गा गाउँपालिकाको वडा नं ६ को सिमानामा अवस्थित मालिका धुरी समुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ।

रघुगङ्गा गाउँपालिकाले रु १० लाखको लागतमा ठाडाखानीदेखि पहिरेनीसम्म करिब पाँच किलोमिटर सडक र रु चार लाख २० हजारमा बथानडाँडादेखि सरघारीसम्मको उकालो बाटोमा तीन किलोमिटर पैदलमार्ग निर्माण गरेको छ। बीस भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पक्षीको अवलोकन गर्न सकिने मालिकाको धार्मिक महत्व छ । दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको मालिका क्षेत्र विकास समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताए।

“सन्तान, रोजगारी, शिक्षा, व्यापार, व्यवसायदेखि राजनीतिमा सफलताको कामना पूरा भएकाको जेष्ठी, चण्डी पूर्णिमा र भाइतिहारका दिन बलि चढाउन आउनेको भीड लाग्छ”, उनले भने, “म्याग्दी र छिमेकी जिल्लाका साथै काठमाडौँ, पोखरालगायत ठाउँबाट भक्तजन आउँछन् ।” मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका थानमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन छ। लालीगुराँसको जङ्गलको बीचमा रहेको मालिकादेखि सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका अधिकांश बस्तीको अवलोकन गर्न सकिन्छ।

सदरमुकाम बेनीदेखि सवारी साधनमार्फत एकै दिन र पैदलयात्रा गर्दा दुई दिनमा पुगिने मालिका क्षेत्रको जङ्गलमा पाइने वन्यजन्तु, पक्षी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार थप आकर्षण हो । गत वर्ष विनियोजन भएको रु १५ लाख बजेटबाट सत्तल र मालिका थान परिसरमा पर्खाल बनाएर रेलिङ निर्माण भएको छ । थप पूर्वाधार बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने काम अन्तिम चरणमा पुगेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए। उनका अनुसार खानेपानी व्यवस्थापन र हेलिप्याड निर्माण गर्ने तयारी भएको छ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।