विद्यालयबाट सिधै घाँस–दाउरा

जाजरकाेट । आइतबार अपराह्न ३ः०० बजे छेडागाड नगरपालिका–१ का आठ वर्षीयादेखि १५ वर्षीया छात्रा जङ्गलमा हँसिया र नाम्लोसँगै भेटिए। सडककै छेउमा रहेको जङ्गलमा भेटिएका सबै छात्राले कक्षा ३ देखि ९ सम्म कालिका माध्यमिक विद्यालय सोडारीमा पढ्ने विद्यार्थी रहेको बताए। बिहान विद्यालय गएर हत्तपत्त पढाइ सकी उनीहरु घर आएर सिधै जङ्गलमा घाँस–दाउराका लागि आएको कक्षा ६ मा पढ्ने कालिका रानाले बताइन्।

“घरमा आमा छन्, दाइ र बाबा भारत गएका छन्, आमालाई काममा सघाउनका लागि जङ्गल आएकी हुँ”, उनले भनिन्। उनीसँगै कक्षा ९ मा पढ्ने छात्रा रविना बुढाले घरमा नास्तासमेत नखाई सिधै जङ्गलमा आएको बताइन्। उनले भनिन्, “विद्यालयमा पढ्ने चिन्ताभन्दा घरको कामको चिन्ता बढी हुँदा पढाइ बिग्रिएको छ । विद्यालयमा पढाएको कुरा घरमा आएर हेर्नसमेत पाउँदिन, कामको चापले गर्दा हैरान छु।”

कोरोनाका कारण बल्लतल्ल सञ्चालन भएका विद्यालयका विद्यार्थी घरायसी कामले घरमा पढ्न नपाउँदा पीडा भएको सुनाउँछन् तर त्यसको विकल्प उनीहरुसँग नहुँदा पढ्न नपाएको घाउ जति दुखे पनि सहन बाध्य छन्। “विद्यालयमा थोरै पढाइ भएको छ, घरमा पढ्ने वातावरण छैन”, अर्की छात्रा मेलिना थापाले भनिन्, “न घरको काम राम्रोसँग हुन्छ न विद्यालयको पढाइ नै, विद्यालयबाट ल्याएको गृहकार्यसमेत गर्न नपाउँदा परीक्षामा अङ्क राम्रो आउँदैन ।” घरायसी काममा समय बढी बिताउनुपर्ने बाध्यताका कारण आफूहरुको पढाइ राम्रो हुन नसकेको उनीहरुको भनाइ छ। अभिभावकले समेत छोरीलाई पढाइभन्दा काममा बढी लगाउने गरेको उनीहरुको आरोप छ । घरमा खाना पकाउनेदेखि घाँस–दाउरासम्मको काममा छोरीलाई नै लगाउँदा पढाइ प्रभावित भएको हो।

छोरासरह छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना विकास नहुँदा छोरी काममा व्यस्त हुनुपर्ने स्थानीयवासी लालुमाया थापाले बताइन्। छेडागाड नगरपालिका–१ को मात्रै समस्या नभएर जिल्लाभरिकै समस्या यही रहेको महिला अधिकारकर्मी बताउँछन्। छोराछोरीलाई समान व्यवहारको आवश्यकता परेको अधिकारकर्मी धर्मशीला बस्नेतले बताइन्। उनले भनिन्, “मुखले बोलेर मात्र हुँदैन, व्यवहारमा समेत समान हुनुपर्छ । छोरीलाई बाध्यताले विद्यालय पठाउने गरिएको छ, अझै पनि घाँस–दाउरामा लगाइन्छ । विद्यालयबाट छोरा आएपछि मिठो खानासँगै घरमा मजाले बस्ने गर्छन्, छोरी घरको काममा लाग्नुपर्ने अवस्था छ।”

सदरमुकामलगायत केही बजार क्षेत्रबाहेक अन्य गाउँका अधिकांश छात्राको घरायसी कामको बोझले गर्दा पढाइ राम्रो नभएको महिला अधिकारकर्मी बताउँछन् । कसकी छोरीले कति ठूलो घाँस–दाउरा ल्याइन् भन्नेमा होडबाजी हुँदा पढाइ बिग्रिएको उनीहरुको भनाइ छ। कसकी छोरीको पढाइ कति राम्रो भन्ने प्रतिस्पर्धा गर्नुपर्नेमा उल्टो दिशातिर समाज गइरहेको अर्की अधिकारकर्मी पार्वती विकले बताइन्। सामान्य कृषकको घरमा मात्र नभई जनप्रतिनिधि र पढेलेखेकाको घरमा समेत छोरीलाई विभेद भएको विकको भनाइ छ।

“छोरा र छोरीको विभेदले गर्भमै छोरीले मृत्यु वरण गर्नुपर्ने पीडा त छँदैछ, खुला संसारमा आइपुग्दासमेत यस्तो विभेदमा छोरीले परिवर्तनको अनुभूति गर्न सकेका छैनन्”, विकले भनिन्। स्थानीय तहमाथि पनि छात्राहरुको सुरक्षादेखि कुनै खालका सहयोगका कार्यक्रम सञ्चालन नगरेको आरोप लाग्दै आएको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।