६ महिला उद्यमी पुरस्कृत,१ सम्मानित
नारायण कुमार राई,धनकुटा । छथरजोरपाटी गाउँपालिकाले आफ्ना ६ वडाका महिला उद्यमीहरुलाई पुरुकृत तथा एक अगुवा महिला राजनीतिज्ञलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

पालिकाले १११ औ महिला दिवसको अवसरमा एक ‘उद्यमी अनुभव आदानप्रदान तथा सम्मान कार्यक्रम’को आयोजना गरेर महिलाहरुलाई पुरस्कृत तथा सम्मान गरेको हो । सम्मानित तथा पुरस्कृत हुनेहरुमा वडा नं.१ का ढाका उद्यमी रविना लिम्बू,वडा नं.२ बाट ज्याकेट तयारी ब्यबसायी कल्पना दर्लामी मगर,वडा नं.३ बाट बाख्रा पालक उद्यमी उर्मिला भुजेल रहनुभएको छ ।
त्यस्तै वडा नं. ४ का सिलाई कटाई ब्यबसायी पार्वता जवेगु लिम्बू,वडा नं.५ बाट चिप्स तथा कुरमुरे उत्पादक पार्वता संग्रौला ओझा र वडा नं.६ बाट थुक्पा उद्योगी मेनुका कार्की रहनुभएको छ । कार्यक्रममा वडा नं. २ की राजनितिज्ञ धनीमायाँ सिंजालीलाई न्यानो कपडा प्रदान गरेर सम्मान गरिएको छ । सम्मानित धनीमायाँलाई कदर–पत्र र पुरस्कृत ६ जनालाई कदर–पत्र र ब्याग पुरस्कार स्वरुप दिईएको थियो ।
उहाँहरुलाई कार्यक्रमका अध्यक्ष तथा पालिका उपाध्यक्ष भीमकला श्रेष्ठ,कार्यक्रमका प्रमुख अतिथी तथा पालिका अध्यक्ष शेरबहादुर लिम्बूले दोसल्ला ओढाएर सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी तथा पालिका अध्यक्ष शेरबहादुर लिम्बूले महिलाहरुलाई पनि राज्यले पुरुष सरह अधिकार दिएकोले अब महिलाहरुले अधिकार माग्नु नपर्ने र पाएको अधिकार सदुपयोग गरे पुग्ने बिषयमा सचेत गराउनुभएको थियो ।
महिलाहरुलाई वडा अध्यक्षका तर्फबाट वडा नं.६ का अध्यक्ष दिलबहादुर थापा,पालिका सदस्य गंगामायाँ लिम्बू,पालिकाका निमित्त प्रशासकीय अधिकृत निर्मला सुवेदीले महिला दिवसको शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको औचित्यका तथा महिला दिवसको बिषयमा पालिकाका महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिनुभएको थियो ।
महिला दिवशको अवसर पारेर पालिकाले आफ्ना ६ वटा वडाका महिलाहरुका लागि १५ दिने बुटिक तालिमको उत्घाटन पनि गरेको छ ।


