अंकुरण कृषि समूहलाई प्रदेशको २५ लाख अनुदान
नारायण कुमार राई/धनकुटा,१० चैत्र । छथर जोरपाटी धनकुटाको वडा नं.२ मा प्रदेश अनुदानमा सन्चालित एक कृषि तथा पशुपालन अनुदान कार्यक्रम सम्पन्न भएको छ ।

वडाको श्री अङकुरण कृषक समुहद्वारा सन्चालित उक्त कार्यक्रमको मंगलबार सार्वजनिक सुनुवाई गर्दै कार्यक्रम सम्पन्न भएको जानकारी दिएको छ ।
कार्यक्रम सम्पन्न भएपछि समुहले सार्वजनिक कार्यक्रम गरेर भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश सरकारको २५ लाख अनुदानमा सम्पन्न बिभिन्न ८ वटा कार्यक्रमहरु सकिएको जानकारी दिएको छ ।
सार्वजनिक सुनुवामा प्रतिवेदन प्रस्तुत गर्दै समुहका नबिन भुजेलले प्रदेशको ७५ प्रतिशत अनुदान र समुहको २५ प्रतिशत गरी कुल ३५ लाख बराबरको कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो । समुहको प्रतिवेदन अनुसार गोठ सुधार तथा खोर निर्माणका लागि १८ लाख २० हजार,च्यापकटर खरिद तथा ढुवानी तर्फ ७ लाख ४० हजार ५ सय बराबरको काम गरिएको छ ।
त्यस्तै ७ लाख ६७ हजार ८ सय बराबरको दुध चिस्यान मेसिन,जेनेरेटर तथा आवश्यक मेसिन तथा उपकरण खरिद गरिएको छ ।
त्यस्तै पशु आहार खाँस खेती कार्यक्रम,पशु स्वास्थ्य सेवा (टिट डिपिरिङ्ग) कार्यक्रम र कृषक क्षमता अभिबृद्धि तालिमका लागि ५० हजारका दरले जम्मा १ लाख ५० हजार बराबरको काम गरिएको छ ।
त्यस्तै सार्वजनिक सुनुवाईका लागि २५ हजार र अनुगमनका लागि रु १० हजार गरी जम्मा कार्यक्रम खर्च ३५ लाख ८ हजार ३ सय खर्च भएको समुहका अध्यक्ष खड्ग कुमार मगरले जानकारी दिनुभएको थियो ।
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष भीमकला श्रेष्ठले वडा बासीहरुले गरेको कामको प्रसंशा गर्दै राम्रो काम गरे आगामी दिनहरुमा थप सहयोगहरु उपलब्ध हुंदै जाने आश्वसन दिनुभयो ।
कार्यक्रममा पशु सेवा कार्यालय धनकुटाका प्रमुख लोकनाथ ढुंगाना,भुमि ब्यबस्थापन प्रदेश मन्त्रालयका अधिकृत दिपक बाबु सिंहले कार्यक्रम सफलता पूर्वक सम्पन्न भएकोमा बधाई तथा शुभकामना दिनुभएको थियो ।
सार्वजनिक सुनुवाईको अवसरमा बोल्दै वडा अध्यक्ष कृष्ण मगरले कृषि तथा पशु बिकास कार्यक्रमको क्षेत्रमा वडामा भईरहेका कार्यक्रमहरुको बारेमा जानकारी दिनुभएको थियो ।
कृषि समुहमा आवद्ध २६ कृषक मध्ये यस कार्यक्रमबाट प्रत्यक्ष रुपमा १८ कृषकहरु लाभाम्बित हुने पालिकाका भेटेरेनरी अधिकृत राजकुमार राईले जानकारी दिनुभयो ।


