धार्मिक पर्यटकिय स्थल तथा झरना संरक्षण, प्रवर्दन गर्ने लक्ष्यका साथ मेलाको आयोजना
धनकुटा । सडक पूर्वाधार तथा प्रचार प्रसारको अभावमा ओझेलिएको पाख्रीबास ९ मजुवामा रहेको धार्मिक पर्यटकिय स्थल तथा झर्ना संरक्षण, प्रवद्र्धन गर्ने लक्ष्यका साथ मेला आयोजना गरिने भएको छ ।

वडा नं ९ मजुवामा रहेको छेङखामा राजा,रानीदेवीको पूजा तथा प्रिती झरना र तीन तले वनझाक्री गुफा संरक्षण प्रवद्र्धनका लागि आगामी बैसाख १ गते यहाँका स्थानियको अगुवाइमा मेलाको आयोजना गर्न लागिएको हो ।
मेलाको अवसरकामा यहाँ आउने मानिसहरुले छेङखामा राजा,रानीदेवीको पूजा तथा प्रिती झरना सहित तीन तले वनझाक्री गुफा घुम्न पाउने त्यहाँका स्थानिय शुक्र वहादुर राईले बताउनु भयो ।

यस वडामा वसोवास गर्ने राइहरुको देवता छेङखामा राजा र रानीदेवीको दर्शन र देबिको नजिकै रहेको कुब्याटङ मुहानमा पानी उम्रिने ठाउँमा नुहाएमा छाला तथा कपाल सम्बन्धि रोग निको हुने जनविश्वास रहेको अर्का स्थानिय सुरेश तुम्बा राइले बताउनु भयो ।
धार्मिक,साँस्कृतिक तथा पर्यटकीय स्थलको दृष्टिले महत्वपूर्ण यस्ता स्थलहरु सडक पूर्वाधारको र प्रचारप्रसारको अभाव कै कारण ओझेलमा परेको भन्दै तुम्बाले यसको विकासका लागि मेला आयोजना गर्न लागिएको बताउनु भयो ।


