समाधी स्थल हुँदै सडक खनिएको विषयमा विवाद
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ६ सिंधुवा साविक परेवादिन ५ मा पर्ने नेवार समूदायको समाधी स्थल हुँदै सडक खनिएको विषयलाई लिएर विवाद सिर्जना भएको छ ।

सिधुवाका नेवार समूदाय र सडक खन्ने पक्ष वीच विवाद सिर्जना भएको हो । विवाद भएपछि आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति धनकुटाले अनुगमन निरिक्षण गरेको छ ।
महासंघका अध्यक्ष सञ्जय सन्तोषी राई, महासंघका सदस्य तथा आठपहरिया समाजका जिल्ला अध्यक्ष अष्ट वहादुर छोङ्गेन र महासंघका सदस्य निरोज गुरुङ्ग सहितको टोलीले निरिक्षण गरेको हो ।
निरिक्षणको क्रममा सिधुवा क्षेत्र नेवारका समूदायले आफुहरुको समन्वय विना समाधि स्थल हुदै व्यक्तिले सडक खनेको आरोप लगाएका छन् । उनिहरुले सडक खन्ने क्रममा १५ वटा भन्दा वढी समाधि स्थल भत्काइएको वताएकाछन् ।

सिधुवाका स्थानिय लिलाकृष्ण श्रेष्ठले आफ्ना पिता पूर्खाले नेवार समूदायको समाधि स्थलका लागि जग्गा दिएपछि २०३१ साल वैशाख १३ गते देखी सो स्थान समाधि स्थलको रुपमा उपयोग गर्दै आएको वताउनुभयो । तर अहिले सोही वडाका राम वहादुर थापा भनेर चिनिने डम्वर वहादुर थापाले आफ्नो व्यक्तिगत प्रयोजनका लागि नेवार समूदायको समाधि सथल भत्क्याउदै सडक खनेको वताउनुभयो ।
पछिल्लो समय यो स्थललाई नेवार समूदायले मात्र नभई सवै जातजातीका मानिसहरुले समाधि स्थलको रुपमा उपयोग गरिरहेको भन्दै यस्तो ठाउँबाट व्यक्तिगत उपयोगका लागि सडक खन्न नदिईने उहाँले वताउनुभयो । साथै राज्यले पनि यो विषयमा ध्यान दिनुपर्ने वताउनुभयो ।
यता आरोपित डम्वर वहादुर थापाले भने आफ्नो व्यक्तिगत प्रयोजनका लागि नभई २ महिना अघि त्यहाँ रिङ्गरोड वनाउने भनि गरिएको सर्वपक्षिय अवधारणा अनुसार नै सडक खनेको वताउनु भयो ।
सडक खन्नेक्रममा १५ वटा नभई दुई वटा समाधि स्थल भत्किएको स्वीकार्दै त्यसको व्यवस्थापन र त्यहाँ सडक खनेकै कारण जाने पहिरो लगायतका जोखिम न्यूनिकरणका लागि वाल उठाउने लगायतका काम गरिने वताउनुभयो ।
त्यसक्षेत्रमा ४३ नं कित्तामा आफ्ना थोरै जग्गा रहेको र त्यसमा कुखुरा वाख्रा पालन गर्ने फर्म सञ्चालन गर्ने लक्ष रहेपनि व्यक्तिगत उपयोगका लागि मात्र यो सडक खनिएको भन्ने कुरा गलत भएको उहाँको भनाई छ ।
उहाँका छोरा तथा सिधुवा देवीथान चिहान डाँडा रिङ्गरोड समितिका सचिव दर्शन थापाले यसअघि पनि सो सडक खण्डलाई रिङ्गरोडको अवधारणामा विकास गर्ने र तेलिया खोला सम्म सडक पुर्याई खोला किनारमा समाधि स्थल वनाई अहिले भईरहेको समाधि स्थलमा वृक्ष रोपण गर्ने गरि गरिएको सल्लाह अनुसार सडक खनिएको वताउनुभयो ।

यो सडकले त्यस क्षेत्रका ६० घरपरिवार लाभान्वित हुने उहाँको भनाई छ । स्थानिय प्रकाश श्रेष्ठका अनुसार सिधुवामा १२० घरधुरी नेवार समुदाय वसोवास गर्दछन् ।
अनुगमन निरिक्षणको क्रममा आदिबासी जनजाति महासंघ जिल्ला समन्वय समितिका अध्यक्ष राईले यसरी समुदायले समाधी स्थलको रुपमा उपयोग गरिरहेको ठाउँबाट समन्वय नगरि सडक खन्न नमिल्ने भन्दै भत्क्याईएका समाधि स्थलको चिहान को व्यवस्थापन गर्नु पर्ने, क्षति पूर्ति दिनुपर्ने र दोषीलाई सजाय हुनु पर्ने वताउनुभयो ।


