यो बर्ष छथरमा २ सयले रोजगार पाए,भित्रिदै करिव १ करोड नगद
नारायण कुमार राई,धनकुटा । छथर जोरपाटी गाउँपालिका धनकुटाले यो बर्ष करिव २ सय जनालाई रोजगार दिएको छ । रोजगारबाट पालिकाका नागरिकहरुले करिव १ करोड नगद भित्राउने छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत राजगारका लागि परेको ५१८ आवेदन मध्ये बिपन्न,दलित तथा पछि परेका समुदायका १९१े ब्यक्तहरुले १०० दिन बराबरको रोजगार पाएका छन् ।
कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्तर्गत १३ वटा योजना र यूवा रोजगारिका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत १४ वटा आयोजनामा स्थानियबासीहरुले रोजगारी पाएका छन् ।
दुबै आयोजना अन्तर्गत बाटो सोलिङ्ग र पहिरो नियन्त्रणका क्षेत्रमा काम भईरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमका छथर जोरपाटी गाउँपालिकाका संयोजक सुशिला कार्कीले जानकारी दिनुभयो ।
कामका लागि पारिश्रमिक शिर्षमा ४७ लाख ४ हजार ७ सय र यूवा रोजगारिका लागि ५१ लाख ७० हजार गरी कुल ९८ लाख ७४ हजार ७ सय रुपैया पालिकाका नागरिकहरुले कमाउनेछन् ।
२०७५ सालबाट प्राथमिकताका आधारमा छनौटमा परेका ब्यक्तिहरुले प्रति ब्यक्ति दैनिक ५१७ रुपैयाका दरले १०० दिनको रोजगार पाउँदै आएका छन् ।
आयोजनाबाट ३ बर्षमा हाल सम्म ३४५ जनाले रोजगार पाएको प्रधानमन्त्री रोजगार कार्यलय छथर जोरपाटी गाउँपालिकाले जानकारी दिएको छ ।


