मुदीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार

म्याग्दी, म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले मुदीमा शनिबार साँझ केन्द्रीय प्रसारण लाइनको विद्युत् बिस्तार गरेको हो ।

प्राधिकरणका प्राविधिक रवीन्द्र भण्डारीले मुदीका २५० घरमा विद्युतीकरण भएको जानकारी दिनुभयो । “मिटर जडान गरेका सबै घरमा बिजुली बलेको छ”, उहाँले भन्नुभयो, “सोही वडाको खाम्ला, खारा र बाँसबोटका ६५ घरमा यसअघि नै विद्युतीकरण भइसकेको छ ।” ताकम, मच्छिम, फलियागाउँ, मुना, दर हुँदै विस्तार गरिएको केन्द्रीय प्रसारण लाइन वितरणका लागि मुदी र खाम्लामा एक÷एक सय एमभिए क्षमताका दुई वटा ट्रान्सफर्मर राखिएको छ ।

मुदीमा विद्युत् विस्तार गर्न त्यहाँ सडक नपुग्दै विसं २०७६ चैतको पहिलो हप्ता धवलागिरिले वडा नम्बर ७ काउसीबोटबाट हेलिकप्टरमार्फत दुई वटा ट्रान्सफर्मर ढुवानी गरेको थियो । विसं २०७७ असारमा मुदी सडक सञ्जालमा जोडिएको थियो । खाम्लामा अझै सडक सुविधा छैन ।

उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसीयाली छाएको छ । घरायसी काम गर्न तथा विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको स्थानीयवासी गणेश पुनले बताउनुभयो ।

विसं २०७६ चैतमा वायरिङ गरिए पनि कोरोना, बन्दाबन्दी र निषेधाज्ञाका कारण विद्युतीकरण प्रभावित भएको थियो । प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्त झाले धवलागिरिको फलिगाउँ, मुना, दर र मङ्गलाको अर्मनमा चालु आर्थिक वर्षभित्रै विद्युतीकरण गर्न लागिएको बताउनुभयो ।

मुनास्थित गाउँपालिकाको कार्यालयमा विद्युतीकरण भइसकेको छ । मुदीको थलडाँडामा रहेको नेपाल टेलिकमको बिटिएस टावरमा पनि विद्युत विस्तार गरिएको छ । दर हुँदै थलडाँडासम्म विद्युत् विस्तार गर्न गाउँपालिकाले लगानी गरेको छ । मुदी र मुनाका सबै घरधुरीमा विद्युतीकरण भएपछि धवलागिरिलाई उज्यालो पालिका घोषणा गर्ने तयारी छ ।

यसअघि धवलागिरिको वडा नं ७ ताकम र वडा नं ६ मराङको करिब डेढ सय घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगिसकेको छ । विसं २०७६ कात्तिकमा वडा नं २ लुलाङमा लघुजलविद्युत् र वडा नं ४ कै बगरमा सौर्य ऊर्जामार्फत विद्युतीकरण गरिएको छ ।

गुर्जा, मल्कवाङ, खिवाङ र मराङमा लघुजलविद्युत् परियोजनामार्फत विद्युतीकरण गरिएको छ । पालिकाका सबै घरमा केन्द्रीय लाइन, लघुजलविद्युत र सौर्य ऊर्जामध्ये कुनै एक माध्यमको विद्युत सुविधा पु¥याउने गाउँपालिकाको योजना छ । लघुजलविद्युत् परियोजना नभएका र केन्द्रीय लाइन नपुग्ने १२० घरधुरीलाई प्रदेश सरकारमार्फत गत कात्तिकमा ५० वाट क्षमताको सोलार सेट वितरण गरिएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।