आलेख – दाताकै भरमा चेपाङ ः न रोजगारी छ न खेती गर्ने जमीन
नवलपुर, चितवन राष्ट्रिय निकुञ्जले भरिएको माडी नगरपालिका । निकुञ्जले चारैतिरबाट घेरिएको चितवनको क्षेत्र नं ३ मा पर्ने माडी नगरपालिकामा बर्सेनि खहरे खोलाले दुःख दिइरहन्छ । यस नगरपालिकाको परुई खोला किनारमा रहेको चेपाङ बस्ती राहतकै भरमै बाँचिरहेको छ ।
करिब ५५ घरपरिवार रहेको यो गाउँको अवस्था निकै दयनीय छ । विभिन्न सामाजिक सङ्घसंस्था तथा व्यक्तिले दिएको राहतको भरमा यहाँका अधिकांश चेपाङ परिवारको गुजारा चलिरहेको छ । केही परिवारका सदस्यले मात्र मौसमी मजदुरी गर्दै आएका छन् ।
गरिबीको परिभाषा परुई खोला किनारको चेपाङ बस्तीमा पुग्दा थाहा हुन्छ । गाउँका ५५ परिवारकै स–साना छाप्रा छन्, जहाँ उनीहरुले घाम र पानीबाट आफूलाई जोगाउनुपर्ने बाध्यता छ । एउटा सानो झुपडीमा पाँच÷सात जना बसिरहेका हुन्छन् । यो गाउँमा न बिजुली बत्ती छ न अन्य कुनै भौतिक पूर्वाधारको विकास । न खेती गर्ने जग्गा÷जमीन, न त किनेर खाने आम्दानी नै । सङ्घसंस्थाले गरेको सहयोगकै भरमै यो बस्तीका मानिस बाँचिरहेका छन् ।
विभिन्न सामाजिक सङ्घसंस्था तथा दाताहरुबाट प्राप्त खाद्यान्नकै भरमा गुजारा चलेको छ परुई खोला किनारका चेपाङ समुदायको । राहत पाउँदा यहाँका चेपाङको अनुहारमा खुशी देख्न सकिन्छ, अघिपछि फेरि अवस्था उस्तै हो । खाद्यान्न वितरणका दिन चेपाङ बालबालिकाहरु “आज त टन्न चामलको भात खान पाइने भयो”, भन्दै एक अर्कासँग भलाकुसारी गर्दै खुशी साटिरहेका देख्न सकिन्छ ।
खोलाले विस्थापित गरेपछि खोला किनारमै
दुई वर्षअघि चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको कुसुम खोलाबाट विस्थापित भएर आएकाहरु यो बस्तीमा छन् । निकुञ्जले वन क्षेत्रको जग्गामा बस्ती नराख्न भनेको थियो । त्यसपछि माडी नगरपालिकासँगको समन्वयमा बस्ती विस्थापित गराउने निर्णय भयो । विसं २०७६ मा निकुञ्ज, नगरपालिका र राष्ट्रपति तराई चुरे कार्यक्रमबीच सहमति भई उनीहरुलाई विस्थापित गराउने निर्णय भएको थियो ।
उनीहरुलाई दुई कोठाको घर बनाइदिने र जीविकोपार्जन गर्न पनि सहयोग गर्ने आश्वासनसहित माडी नगरपालिकाले विस्थापित गराएको थियो । कुसुम खोलाबाट विस्थापित हुन केही चेपाङ परिवारले सहजै स्वीकार गरेका थिए भने केहीले अटेर गरेका थिए । त्यतिबेला अटेर गर्ने परिवारलाई निकुञ्जले विस्थापित गराउन निकै जोडबल गर्नुपरेको थियो । चेपाङ परिवारले बस्न बनाएका टहराहरु निकुञ्जले हात्ती लगाएरसमेत भत्काएको थियो ।
विस्थापित गराएर नगरपालिकाले परुई खोला, राई डाँडा, स्कूल डाँडा, खरिकुना, इन्द्रबस्तीलगायतका क्षेत्रमा एक कट्ठा जमीनमा एउटा परिवार राख्यो । चेपाङलाई निकुञ्जको जग्गाबाट विस्थापित गराएर नगरपालिकाले पुनः निकुञ्जकै जग्गामा ल्याएर राखेको थियो । कुसुम खोलामा दुई दशकदेखि चेपाङहरु बस्दै आएका थिए । दुई दशकपछि उनीहरुलाई विस्थापित गराइएको हो ।
विस्थापित गराउने भनेपछि केही चेपाङ परिवार आफैँ शुरुमै परुई खोलामा आएर बसेका माडी नगरपालिकाले जनाएको छ । त्यसपछि अरु परिवालाई पनि त्यहाँ ल्याइएको नगरपालिकाको भनाइ छ । बस्ती विस्थापित गरिएपछि नगरपालिकाले दुई कोठासहितको घर बनाउन लागि प¥यो ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्ती बसाउन लागिएको र घर बनाउन रुखहरु काटेर अपचलन गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत प¥यो । ‘राष्ट्रप्रेमी जनसमुदाय माडी नगरपालिका’ को नाममा परेको उजुरीमा चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाका प्रमुखसमेत आर्थिक प्रलोभनमा परेर वन फँडानीमा सहभागी भएको आरोप लगाइएको छ ।
उजुरी परेपछि निकुञ्जले बस्ती निर्माणमा रोक लगाएको छ । निकुञ्जलाई थाहै नदिई फेरि निकुञ्जकै जग्गामा बस्ती बसाउन लागिएको भन्दै निकुञ्जले मध्यवर्ती क्षेत्रमा घर बनाउन र पूर्वाधार विकास गर्न नदिने भनेको छ ।


