रसुवामा नमूना सिँचाइ योजना निर्माण

रसुवा, ५ साउन,जिल्लाको कालिका गाउँपालिकाअन्तर्गत जिवजिवे क्षेत्रको भदौरेगाउँका भूभागलाई सिञ्चित पार्न नयाँ प्रविधिमा आधारित नमूना सिँचाइ निर्माण भएको छ । दीर्घकालीन कृषि रणनीतिको मर्म र भावनालाई आत्मसाथ गर्दै खानेपानीका धाराबाट खेर जाने पानीसमेत सहीरूपमा सदुपयोग गर्दै सिँचाइ व्यवस्थापन गरिएको छ ।

दुई सय ४० रोपनी पाखो जमीन सिञ्चित गराई कृषि उत्पादनमा आत्मनिर्भर गराउने उद्देश्यले सङ्घीय सरकारको अनुदानमा सबडिभिजन सिँचाइ कार्यालय रसुवामार्फत पाइपद्वारा सिँचाइका संरचना निर्माण गरिएको हो । सौरेनी खोला मुहान गरी निर्माण गरिएको सिँचाइबाट भदौरे गाउँका २४० रोपनी पाखो जमीनमा सिँचाइ सुविधा पुग्ने र कोदो रोप्ने स्थानमा धान रोप्ने तयारी भएको छ । उक्त सिँचाइ योजनाबाट ५२ घरधुरीका २७० स्थानीयवासी लाभान्वित भएका छन् ।

हिउँद तथा वर्षा दुवै समयमा सिँचाइ सुविधाको सहजता ल्याउन ६० हजार लिटरको एक रिजर्भ र गाउँ टोलटोलका खानेपानी धाराबाट खेर गइरहेको पानी सङ्कलनका लागि पाँच÷पाँच हजार लिटर क्षमताका ४८ वटा सङ्कलन ट्याङ्की निर्माण गरिएको सबडिभिजन सिँचाइ प्रमुख कृष्णबहादुर पाण्डेले जानकारी दिनुभयो ।

धान रोपाइँका लागि वर्षायाममा यथेष्ट पानी पुगे पनि सुक्खायाममा मुहानको स्रोतमा कमी हुने भएकाले हिउँदे खेतीका लागि सिँचाइ पाइपबाट निरन्तर आउने पानीका साथै खानेपानीको धारामा भाँडा माझेका, नुहाउँदा र हातमुख धोएर खेर गइरहेका पानीलाई समेत ट्याङ्कीमा सङ्कलन एवं सदुपयोगबाट कृषि उत्पादन बढाउने लक्ष्य रहेको छ ।

उक्त सिँचाइका लागि एक हजार २०० मिटर मुख्य एवं खेतीयोग्य जमीनमा लैजान शाखा लाइनका पाइप खरिद तथा ट्याङ्कीसमेतका संरचना निर्माणमा रु एक करोड हाराहारीमा रकम खर्च भएको उपभोक्ता समितिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । बर्षा कमी भएको समयमा कोदोको बोटसमेत सुक्ने भदौरे क्षेत्रका जमीनमा वर्षायाममा धानका बाला झुलाउन र हिउँदयाममा तरकारीबाट आयआर्जन बढाउन सहजता आएको छ ।

विकास निर्माणमा पछाडि परेको भदौरे क्षेत्रमा सिँचाइको व्यवस्थापनले गाउँवासी हर्षविभोर भएको स्थानीय किसान शिवराम पौडेल बताउनुहुन्छ । यस्तै सङ्घीय एवं प्रदेश सरकारको अनुदानअन्तर्गत सबडिभिजन सिँचाइ कार्यालय रसुवाले गत आव २०७७÷७८ मा जिल्लाभित्र निर्माण गरेको सिँचाइ विकासका विवरण सञ्चारमाध्यमलाई सालतमामीको अन्त्यमा प्रदान भएको छ ।

प्राप्त विवरणअनुसार सङ्घीय सरकारको अनुदानबाट १० वटा र प्रदेश सरकारको अनुदानबाट तीनवटा सिँचाइ आयोजना निर्माण सम्पन्न भएका छन् भने चार आयोजना क्रमागतरूपले निर्माणाधीन अवस्थामा अगाडि बढिरहेका छन् ।

समग्रमा ७१२ दशमलव आठ हेक्टरमा सिँचाइ सुविधा पुगेको बताउँदै सिँचाइ प्रमुख पाण्डेले सिँचाइ विकासमा गत वर्ष पूँजीगततर्फ रु १५ करोड ३६ लाख विनियोजित रकममध्ये रु १३ करोड ८६ लाख खर्च भई भौतिक प्रगति ९० दशमलव पाँच र वित्तीय प्रगति ९० दशमलव तीन प्रतिशत कार्यसम्पन्न भएको जानकारी दिनुभयो । कतिपय सिँचाइ मुहानका भूअवस्था कमजोर पाइएकाले करिब ३० प्रतिशत पोलिथिन पाइप प्रयोग गरिएको बताइन्छ ।

निर्माण भएका सिँचाइ योजनाबाट एक हजार ४०९ घरपरिवारका आठ हजार १७ किसान प्रत्यक्ष लाभान्वित भएको सबडिभिजन सिँचाइ कार्यालयले जनाएको छ । नदी नियन्त्रणतर्फ १५ वटा कार्यक्रम सम्पन्न भएको र कूल खर्च रु चार करोड २३ लाख भएको छ भने कार्यालयको फर्निचर, मेसिनरी औजार, प्राविधिक उपकरणजस्ता सामग्री खरिदका लागि रु १६ लाख ८५ हजार खर्च भएको छ ।

पहिला–पहिला निर्माण भएको सिँचाइ संरचना विसं २०७२ को भूकम्पले क्षति पु¥याएको र वर्तमान अवस्थामा निर्माण भएका सिँचाइ संरचना दिगो एवं आम किसानमाझ लाभदायी हुँदै गएको बताउँदै जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले रसुवामा कार्यरत सिँचाइ सबडिभिजन कार्यालयमा कार्यरत प्राविधिकको कार्य प्रशंसनीय भएको जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।