महानगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु तीन अनुदान दिने

चितवन, ५ साउन,भरतपुर महानगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु तीन अनुदान दिने भएको छ ।

विगत दुई वर्षदेखि प्रतिलिटर दूधमा रु एक अनुदान दिँदै आएको महानगरपालिकाले चालू आर्थिक वर्षमा प्रतिलिटर रु दुई बढाएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार दूधको गुणस्तर र उत्पादन वृद्धि गरेर किसानलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले अनुदान रुकममा वृद्धि गरिएको हो । यसबाट किसान प्रत्यक्ष रुपमा लाभान्वित हुँदै उत्पादन बढ्ने महानगरपालिकाको लक्ष्य छ । किसानको समस्यालाई बुझेर लाभ पु¥याउने उद्देश्यले क्रमश वृद्धि गरी प्रतिलिटर रु ३ पु¥याइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसबाट प्रत्यक्ष रुपमा किसानले लाभ पाउनेछन् ।”

हालसम्म सहकारीमार्फत अनुदान दिँदै आएकोमा यस वर्षबाट सोझै किसानको खातामा अनुदान पठाउने तयारी गरिएको प्रमुख दाहालको भनाइ छ । यस कार्यक्रमबाट महानगरभित्रका १० लाखभन्दा बढी किसान प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । प्रमुख दाहालका अनुसार गत आर्थिक वर्षमा दूधमा रु एक करोड ५८ लाख १५ हजार ८४४ अनुदान दिइएको छ ।

चौवालिस सहकारी, पाँचवटा कृषि फार्म र एक समूहले अनुदान पाएका हुन् । अघिल्लो आर्थिक वर्षमा रु एक करोड ६२ लाख ६१ हजार ५८७ अनुदान दिइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकामा जनप्रतिनिधि आएसँगै प्रतिलिटर २५ पैसा अनुदान दिएर कार्यक्रम शुरु गरिएको थियो । प्रमुख दाहालले भन्नुभयो, “नेपालमा नै हामीले पहिलो पटक दूधमा अनुदान दिन शुरु गरेका हौं ।” भरतपुर महानगरपालिका देशभरका ७५३ पालिकामध्ये सबैभन्दा बढी दूध उत्पादन हुने पालिका भएको उहाँको भनाइ छ ।

यहाँ दैनिक एक लाख लिटर हाराहारी दूध उत्पादन हुने तथ्याङ्क छ । केही वर्षअघि गरिएको सर्वेक्षणमा वार्षिक तीन करोड ३२ लाख लिटर दूध उत्पादन हुने गरेको तथ्याङ्क सङ्कलन भएको थियो । यस आर्थिक वर्षमा दूधमा अनुदान दिन रु पाँच करोड १० लाख विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखा प्रमुख मेघराज ढकालका अनुसार महानगरभित्र १५६ गाई र १५ भैँसीका व्यावसायिक फार्म छन् । महानगरपालिकाले गत आर्थिक वर्षमा अनुदानका लागि रु एक करोड ७० लाख रकम विनियोजन गरेको उहाँले बताउनुभयो । महानगरपालिकाले कार्यविधि बनाएर अनुदान दिँदै आएको छ ।

सहकारी संस्थामा दूध बिक्री गर्ने किसानलाई सहकारीमार्फत समन्वय गरेर अनुदान दिइएको उहाँको भनाइ छ । निजको हकमा दुग्ध विकास संस्थानमा दूध बेचेको प्रमाणित अभिलेखको आधारमा अनुदान दिइने गरेको छ । ढकालले यति धेरै रकम अनुदानका लागि विनियोजन गर्ने भरतपुर पहिलो भएको बताउनुभयो ।

उहाँका अनुसार एउटै सहकारीले रु १९ लाख दुई हजार ११० सम्म अनुदान पाएर किसानलाई वितरण गरेको छ । भरतपुर महानगरपालिका–६ स्थित अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले सबैभन्दा बढी अनुदान पाएको हो । संस्थाका अध्यक्ष ऋषिराम चापागार्इंले अनुदान बढाइएसँगै सबै किसान थप लाभान्वित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी थप अनुदान पाउने भएपछि अत्याधिक लाभान्वित हुने छौँ ।” किसानका समस्यालाई बुझेर महानगरपालिकाले अनुदान थप गरेको भन्दै उहाँले यससँगै पशु पाल्ने किसानको सङ्ख्या थप हुने अपेक्षा गरिएको बताउनुभयो ।

गाई भैँसी पाल्न सहुलियत

महानगरपालिकाले उन्नत जातका गाई भैँसी पाल्ने किसानलाई विभिन्न प्रकारका सहुलियत प्रदान गर्दै आएको छ । महामहानगरपालिकाले पशुपालक किसानलाई गोठ सुधार, फार्म आधुनिकीकरण कार्यक्रम, यन्त्र उपकरण वितरणलगायतका क्षेत्रमा दुग्ध उत्पादक किसानलाई अनुदान दिँदै आएको छ ।

यहाँ उत्पादन भएको दूध जिल्लासहित काठमाडौँ, पोखरा, गोरखा, लमजुङ, मकवानपुरलगायतका जिल्लामा जाने गर्दछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।