भोजपुरले कृषिको नमुना देखाउँछ, हतुवागढी गाँउपालिकामा नै चिउरीखेती किन गर्ने ?

जीवनप्रसाद राई
सङ्घीय नेपालको प्रदेश नम्बर १ मा पर्ने १४ जिल्लामध्ये भोजपुर एक हो । दुई नगरपालिकासमेत नौवटा स्थानीय तहमा विभाजित भोजपुर जिल्लाको क्षेत्रफल १,५०७ वर्ग किलोमिटर छ भने यहाँको जनसङ्ख्या १,८२,४५९ (२०६८) देखिन्छ । पूर्वमा धनकुटा र सङ्खुवासभा, पश्चिममा सोलुखुम्बु र खोटाङ, उत्तरतर्फ सोलुखुम्बु र सङ्खुवासभा जिल्ला रहेका छन् दक्षिणी सीमा उदयपुर जिल्लासँग जोडिएको छ ।

भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, आमचोक गाउँपालिका, टेम्केमयुम गाउँपालिका, अरूण गाउँपालिका, पौवादुङ्मा गाउँपालिका र साल्पासिलिचो गाउँपालिका रहेको यो जिल्लामा उष्ण, उपोष्ण, समशीतोष्ण, शीतोष्ण हावापानीको सम्मिश्रण छ । भोजपुर जिल्लाको सबैभन्दा होचो भूभाग दुधकोशी र अरुणको मिलन भएको ठाँउ माईबेनीक्षेत्र (समुद्र सतहदेखि १५३ मिटर) तथा सबैभन्दा अग्लो भूभाग साल्पासिलिचो (समुद्र सतहदेखि ४,१५३ मिटर उच्च) रहेको छ । २६ͦ ५३’ उत्तरदेखि २७ ͦ २७’ उत्तरी आंक्षाश र ८६ ͦ ५३’ पूर्वदेखि ८७ ͦ १७’ पूर्वी देशान्तरसम्म फैलिएको भोजपुर जिल्लाको उत्तर–दक्षिण सरदर लम्बाइ ६२ किमी र पूर्व–पश्चिम सरदर चौडाइ ३५ किमी रहेको छ । राई, क्षत्री, तामाङ, नेवार, बाहुन लगायत अन्य जातिहरुको बसोबास रहेको यो जिल्लाको साक्षरता प्रतिशत ६९ प्रतिशत रहेको छ ।

अनेकौं भौगोलिक विविधता बोकेको यो जिल्लालाई अरूण नदी तथा दूधकोसीले घेरेको छ । यसै गरी साना खोलाहरु पिखुवा, सिक्तेल, कावा खोलाले पनि भोजपुरको माटोलाई भिजाएका छन् । क्षेत्रफलका आधारमा मध्यम जिल्लाको रूपमा स्थापित यो जिल्ला विविध हावापानीका दृष्टिकोणले महङ्खवपूर्ण रहेको छ । जिल्लाको २.९ प्रतिशत भूभाग उष्ण हावापानीले रमेको छ, ३०.५ प्रतिशत भूभागमा उपोष्ण जलवायु वा वातावरण छ भने सबैभन्दा बढी ४९.८ प्रतिशत भूभागमा समशीतोष्ण जलवायु छ । बाँकी १५ प्रतिशत भूभाग शीतोष्ण हावापानी भएको क्षेत्रमा पर्छ भने सबअलपाइन क्षेत्र १.८ प्रतिशत । तराईदेखि हिमालसम्मको हावापानी र वातावरणीय विविधता बोकेको यो जिल्ला पर्यटन, कृषि पर्यटनको प्रचुर सम्भावना रहेको मध्ये एक हो । एउटा विमानस्थल मार्फत हवाई सेवामा पुगेको यो जिल्लामा हाल सडक सञ्जालले सबै स्थानीय तहलाई जोडेको छ । कृषिमा फरक प्रस्तुति दिन सक्ने भोजपुर जिल्लाको सबै स्थानीय तहलाई कृषि सम्भावनाका दृष्टिले पकेट क्षेत्र बनाई कार्य गर्न सकिन्छ ।

१) हतुवागढी गाउँपालिका

साबिकका गाविसहरु होम्ताङ, रानीवास, हसनपुर, सिन्द्राङ, खैराङ र पात्नेपानी मिलाई बनाइएको यो गाउँपालिका क्षेत्रफलका हिसाबले निकै ठुलो छ । पूर्वमा धनकुटा जिल्ला र पौवादुङ्मा गाउँपालिका, पश्चिममा आमचोक गाउँपालिका, उत्तरमा रामप्रसाद राई र पौवादुङ्मा गाउँपालिका र दक्षिणमा धनकुटा र उदयपुर जिल्ला रहेको छ । यो गाउँपालिकाको केन्द्र भने घोरेटारमा रहेको छ । जम्मा जनसङ्ख्या २०६८ को जनगणना अनुसार २०,४०४ जनसङ्ख्य रहेको यो गाउँपालिकाको क्षेत्रफल १४२.६१ वर्ग किमी छ । भोजपुर जिल्लाको कुल क्षेत्रफलमध्ये ९.४६ प्रतिशत यस गाउँपालिकाले ओगटेको छ । हतुवागढी गाउँपालिकामा केही आधुनिक फलफुल तथा तरकारीजन्य कृषि वस्तुहरुको खेती सुरु भए तापनि व्यावसायिक विस्तार हुन सकेको छैन ।

धनकुटा तथा उदयपुर जिल्लासँग सिधै सम्पर्क भएको र ठुला बजारको हिसाबमा सुनसरीसँग नजिकै भएका कारण यहाँका कृषि वस्तुहरु बजार अभावमा खेर जाँदैनन् । तर, प्रविधियुक्त खेती पद्धतिको अभाव तथा पर्याप्त सूचनाको अभावमा यस गाउँपालिकाले कृषिमा फड्को मार्न नसकेको यथार्थता हो ।

नेपालमै उच्च महङ्खव राख्ने दुई ठुला नदीहरु अरूण र दुधकोसीको मिलन भएको गाउँपालिका भएपनि यसले दोभानको फाइदा लिन सकेको देखिँदैन । भौतिक पूर्वाधारको अभावमा व्यवसायिक रुपमा खेती गर्न लागि पर्याप्त सिँचाइको अभाव देखिन्छ । ठुला नदी वा खोलाको किनारको छेउछाउको जमिन हराभरा हुने तर त्यहीँ मास्तिर नजिकैका उब्जाउयुक्त जमिन सुक्खा हुने र सिँचाइको अभावमा खेती हुन नसक्ने समस्या यस गाउँपालिकाको मात्र होइन, समग्र देशकै हो । नेपालका धेरैजसो पहाडी जिल्लाहरु यही समस्याले पिल्सिएका छन् । त्यसैले यही समस्याका बीचबाट हामीले समग्र हतुवागढी गाउँपालिकाको कृषि विकासका बृहत्तर योजनाहरु तर्जुमा गर्नुपर्छ । सूचना प्रविधिका कारण हाल सुक्खाग्रस्त क्षेत्रहरुमा पनि खेती गर्न सकिने थुप्रै कृषिजन्य वस्तुहरु छन् । तिनको सम्भावना अध्ययन गर्दै व्यावसायिक विस्तार आजको आवश्यकता हो । समुद्र सतहदेखि १५० मिटरमा पाइने उष्ण प्रदेशीय हावापानीदेखि १५४० मिटरसम्मको उच्च भूभाग रहेको यो गाउँपालिका भोजपुर जिल्लाकै सबैभन्दा होचो भूभाग पनि हो । यस्तो भूभागमा उष्ण तथा उपोष्ण हावापानी अर्थात् गर्मी ठाउँमा उब्जाउन सकिने सबै प्रकारका बालीनाली लगाउन सकिन्छ ।

चिउरी खेती

परम्परादेखि नै विशेष उत्पादन हुँदै आएको क्षेत्र भएकाले यहाँ चिउरी पकेट क्षेत्र बनाई व्यावसायिक खेती गर्न आवश्यक देखिन्छ । हुन त यो क्षेत्रमा एभोकाडो, कफी, कागती, सुन्तला, आँप, लिची जस्ता कृषि वस्तुहरु फलाउन नसकिने होइन । सुन्तला तथा आँप उत्पादन हुँदै आएको पनि छ । अन्य धेरै कृषि बाली उत्पादन गर्न सकिने सम्भावना हुँदाहुँदै पनि यो क्षेत्रमा सबैभन्दा बढी चिउरी खेती उपयुक्त देखिन्छ । चिउरी समुद्र सतहबाट ६ सयदेखि १६ सय मिटरसम्मको उचाइमा खेती हुन सक्ने बहुगुणी वनस्पति हो । तर पछिल्लो समय यसको फुल्ने र फल्ने क्षमतामा निकै गिरावट आएको स्थानीयहरु बताउँदै आएका छन् । त्यसको एक मात्र कारण हो— पहिला पहिला धेरै चमेरा आउने र त्यसबाट परागसेचनमा सहयोग हुन्थ्यो तर अचेल त्यस्ता प्राणी लोप हुँदै गएकाले चिउरीमा फल्ने क्षमतामा ह्रास आएको हो । त्यसैले यसलाई पुनर्ताजकीकरण गर्न सकिने सम्भावना उच्च छ ।

कृषिजन्य उत्पादनमा बहुउपयोगी भए पनि चिउरीको उचित व्यवस्थापन गरी व्यावसायिक प्रयोजनमा ल्याउन हामीले नसकेको यथार्थ हो । चिउरीको अङ्ग्रेजी नाम द्यगततभच तचभभ, वानस्पतिक नाम म्ष्उयिपलझब र पारिवारिक नाम क्बउयतबअभबभ हो । पतझर समूहमै परे पनि अन्य वनस्पतिभन्दा यसको स्वभाव फरक छ । त्यसैले चिउरीले वनपाखालाई सदावहार वनस्पतिले ढाकिएको देखाउँछ । जति बेला सबैजसो रुखहरुका पात झरेर नाङ्गिएका हुन्छन्, त्यस बेला चिउरी भने हरियो भई फुल्ने र फल्ने अवस्थामा हुन्छ । तर, साउन–असोजको समयमा भने चिउरी पात झरिसकेका हुन्छन्, अन्य वनस्पतिमा हरियाली छाउँछ । त्यसैले पनि वनपाखा वा जङ्गलमा चिउरीको बेग्लै महङ्खव बढेको हो । चिउरीको व्यावसायिक खेती विस्तारले कृषि र औद्योगिक क्षेत्र उन्नत हुने मात्र होइन, वातावरणीय सुधारमा पनि उत्तिकै सफलता मिल्छ । किनभने चिउरीको रुखले बढ्दो गर्मी वा तातोपन न्यूनीकरण गरी प्रकृतिमा वातावरणीय सन्तुलन कायम गर्छ । सर्वत्र उच्च महङ्खव बोकेको यस वनस्पतिका अन्य फाइदाबारे पनि चर्चा गर्नु अत्यावश्यक छ ।

क) मौरीपालन व्यवसाय विस्तार

चिउरीको व्यावसायिक खेतीले सबैभन्दा फाइदा मौरीपालनलाई पुग्छ । अगौटे र पछौटे चिउरीको वृहद् खेती गर्नाले लामो समयसम्म मौरीको चरन विकास गर्न सकिन्छ । साधारणतः अगौटे चिउरी मौसमअनुसार भदौ महिनादेखि नै फुल्ने गर्छ भने पछौटे चिउरी फागुनसम्म पनि फुलिरहेको हुन्छ । सिङ्गो गाउँपालिका चिउरीको पकेट क्षेत्र भएपछि खेतबारी मात्र होइन, वनपाखाहरुलाई पनि चिउरीको जङ्गल बनाउन सकिन्छ । भदौदेखि फागुनसम्म ७ महिना भनेको आधा वर्षभन्दा बढी हो । सो समयमा चिउरीबाट प्रशस्तै मह उत्पादन हुन्छ । मौरीका आधुनिक घारहरु उत्पादन गरी व्यवसाय विस्तारमा पनि चिउरीले महङ्खवपूर्ण योगदान गर्छ ।

चिउरीको फूल फुलिरहेको बेला प्रत्येक महिना पाँच पटकसम्म पनि मह निकाल्न सकिने कुरा सुदूरपश्चिम प्रदेशअन्तर्गत बैतडीका उद्यमी वासुदेव भट्टको अनुभव छ । उनले आधुनिक उपकरणबाट मौरी पालेर धेरै फाइदा लिएको देखिन्छ । उनको कार्य हेर्दा जोकोहीलाई पनि लोभ लाग्छ । खासमा मौरीले मह जम्मा गर्ने चाका बनाउन सबैभन्दा बढी समय खर्चने गर्छ । परम्परागत प्रविधिमा महका लागि चाकासमेत निकाल्ने गरिन्छ तर चाकालाई कुनै नोक्सानी नगरी हलुका खुर्किएर आधुनिक मेसिन मार्फत मह निकाल्न सकिन्छ । त्यसरी मह निकालिसकेपछि चाकालाई जस्ताको तस्तै फ्रेममा राखिदिँदा मौरीलाई चाका बनाउन समय लाग्दैन र फेरि मह जम्मा गर्छ । यस्तो प्रविधि प्रयोग हुनेबित्तिकै मह उत्पादन कार्य बढ्ने मात्र होइन, एकै महिनामा पाँच पटकसम्म मह निकाल्दा एकै घारबाट २५ किलोसम्म उत्पादन हुन्छ ।

ख) चिउरीको घिउ

चिउरीको अर्को महङ्खवपूर्ण फाइदा हो बिजुलाबाट निस्कने घिउ । यसको घिउलाई आयुर्वेदिक औषधिको रुपमा प्रयोग गर्ने चलन छ । खानका लागि योग्य नमानिए पनि चिउरीको घिउले छाला नरम र मजबुत बनाउनुका साथै शरीरको दुखेको अङ्गमा मालिस गरे ठिक आराम हुन्छ । यही कारण बर्सेनि यसको घिउको माग युरोपेली बजारमा बढेको छ भने कोरियामा पनि यसको घिउको माग हुन थालेको छ । जाजरकोटे चेली शिला नेपालीले त गुणस्तरीय च्युरीको घिउ फ्रान्स पठाउने गरेको धेरै वर्ष भइसक्यो । सुर्खेतमा रहेको देउती हर्बल उद्योगले समेत चिउरीको घिउ विदेश निकासीको प्रयास गरिरहेछ । सुर्खेती व्यवसायीहरुले चिउरीको घिउ निकाल्ने आधुनिक मेसिनसमेत ल्याइसकेका छन् ।

ग) साबुन उद्योग

चिउरीको घिउ आफैमा कच्चा वस्तु हो । यसबाट मानव स्वास्थ्यलाई उच्च फाइदा हुने गुणस्तरीय साबुन बन्ने गर्छ । टिम्मुरको तेलसमेत मिसाई चिउरीबाट उत्पादित साबुनले शरीरमा चिलाउने तथा छालाका विभिन्न समस्याहरुबाट पीडितहरुले छुटकारा पाउँछन् । हाल जापानमा चिउरीबाट बनेको साबुनको माग निकै उच्च छ । विगत १२ वर्षदेखि नै प्युठान मरन्ठानाका दुर्गा केसी चिउरीको घिउ बाट बनेको साबुन जापान पठाउने गरिरहेका छन् ।

घ) बाइप्रोडक्टहरु

चिउरीको घिउबाट साबुनबाहेक सेम्पो, क्रिम, सौन्दर्य प्रसाधनका अन्य सामग्रीहरुसमेत बन्ने गर्छन् । यसका विभिन्न उत्पादनलाई राम्रो ब्रान्ड निर्माण गर्ने हो भने देश–विदेशमा राम्रो बजार सिर्जना गर्न सकिन्छ । जापान, कोरिया, मलेसिया, थाइल्यान्ड, चीन, भियतनाम, बर्मा, सिङ्गापुर जस्ता मुलुकतिर चिउरीको साबुन मात्रै पठाउन सक्ने वातावरण निर्माण हुने हो भने नेपालको अर्थतन्त्र निकै माथि पुग्छ । अधिकांश नेपालीहरुले रोजगारी पाउने निश्चित छ । यसै गरी व्यवसायका लागि उचित वातावरणमा लगानी गर्ने ठाउँ नपाएर बसिरहेका व्यक्ति तथा संस्थाहरुका लागि पनि यो अवसर निकै महङ्खवपूर्ण हुनेछ ।

चिउरीको फलबाट निस्कने रस प्रयोग गरी स्तरीय जुस, वाइन, ह्विस्की, ब्रान्डी जस्ता पेय पदार्थहरु बनाउन सकिन्छ । खासमा रक्सीजन्य पदार्थका लागि नेपाली समाज पनि हाल निकै उदार भइसकेको छ । पछिल्लो समयमा स्कटल्यान्डले रक्सी उत्पादनबाट गरेको प्रगतिले संसारै चकित हुन पुगेको छ । प्रमुखतः र’क्सी उत्पादन नराम्रो होइन, यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने मात्रै समस्या हो । रक्सीका कारण कसैको परिवारले दुःख पाउने अवस्था सिर्जना नहोस् भन्ने मात्रै हाम्रो सरोकारको विषय हुनुपर्छ । खासमा र’क्सीको राम्रो ब्रान्ड बनाई विदेश निर्यात गर्ने अवस्था बनाउनुचाहिँ देशकै खुबीको विषय हो । स्कटल्यान्डले वार्षिक झन्डै ५ खर्ब पाउन्डको र’क्सी मात्रै निर्यात गरिरहेछ । यो भनेको नेपालको झन्डै २५ वर्षको कुल बजेट हो । हामीले चिउरीको जुस, र’क्सी निर्यात गर्न सके हाम्रै मुलुकको अर्थतन्त्र बलियो हुन्छ । अहिले परम्परागत रुपमा बनाइएको र’क्सीको मूल्य त निकै राम्रो छ भने चिउरीको फल प्रयोग गरी बनाइएको र’क्सीको ब्रान्ड पनि निर्माण भइसकेकाले यसको माग दिनदिनै बढिरहेछ । खास गरी चिउरीबाट बनेको र’क्सी शरीर दुखेको, सुत्केरी अवस्थामा राम्ररी स्याहार पुग्न नसकेका महिलाहरुका उत्तिकै फाइदाजनक रहेको यथार्थसमेत विज्ञहरुले बताउँदै आएका छन् तर यसको सेवनचाहिँ सिफारिस मात्रामा मात्रै हुनुपर्छ । नेपाली काइदाले एकैपटक उठ्नै नसक्ने गरी खाइयो भने फाइदा होइन, सिङ्गो समाज नै बेफाइदा बेहोर्नुपर्न सक्छ ।

चिउरीको अर्को फाइदा घिउ निकालिसकेको पिना हो । यसबाट बायो–अग्र्यानिक मल तथा जैविक विषादी बनाउने कारखाना स्थापना गर्न सकिन्छ । हाल विभिन्न वातावरणीय दुष्प्रभावका कारण विश्व नै मारमा परिरहेका बेला वातावरण सुधारलाई सम्बोधन गर्ने हेतुले अग्र्यानिक मल तथा जैविक विषादी उत्पादन गरी हतुवागढी गाउँपालिकाले सङ्घीय नेपालका सातै प्रदेशमा पु¥याउन सक्ता मात्रै पनि विदेशबाट आयातित खतरनाक रासायनिक विषादीबाट स्वदेशी वातावरण सुधार गर्न सकिन्छ । जैविक मल तथा विषादी मात्र प्रयोग भएको तरकारी उत्पादन गरी मित्र राष्ट्रमा निकासी गरेर प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।

ङ) दुनाटपरी उद्योग

चिउरीको फल मात्र होइन, यसको पातबाट स्तरीय दुना र टपरी बनाउन सकिन्छ । हाल नेपाली बजार मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत दुनाटपरीको माग उच्च छ । नेपालबाटै सिकेर जर्मनहरुले अहिले रुखको पातबाट राम्रा थाल बनाउन थालेका छन् । टपरी बनाएर त्यसमा आफैले खाने नभई व्यापार गर्ने हो, त्यसका लागि सफाइ तथा व्यावसायिक दक्षतामा ध्यान दिनुपर्छ । हाल बजारमा चिउरीको पातबाट दुनाटपरी बनाउने मेसिनसमेत पाइन्छन् । आधुनिक प्रविधिको प्रयोग, कुशल व्यवस्थापनमार्पmत दुनाटपरीको व्यावसायिक उत्पादन गर्ने हो भने भोजपुरको हतुवागढीमै यसको कारखाना स्थापना गरी रोजगारी सिर्जना गर्न सकिनेछ ।

चिउरी विकासमा गाउँपालिकाको भूमिका

बहुल उत्पादन क्षेत्रमा महङ्खवपूर्ण वनस्पतिको प्रवर्धनका लागि हतुवागढी गाउँपालिकाले सर्वप्रथम आफ्नो क्षेत्रलाई ‘चिउरीको पकेट क्षेत्र’ घोषणा गरी त्यसैअनुरुपका कार्यहरु अगि बढाउनुपर्छ । चिउरीको व्यावसायिक विस्तारमा निम्न कामहरु क्रमिक रुपमा गर्दै जाने हो भने यस गाउँपालिकाको रुपै फेरिनेछ ।

बिरूवा तयारी ः गाउँपालिका नै चिउरी पकेट क्षेत्र भएपछि यसका उन्नत बिरूवा प्रशस्त चाहिन्छ । बाहिरबाट ल्याएर सम्भव हुँदैन, सम्बन्धित क्षेत्रमै यसको बिरूवा तयार गर्नुपर्छ । त्यसका लागि चिउरीका बिजुला टिप्नेबित्तिकै माटोमा गाडिसक्नुपर्छ । त्यसै गरी आधुनिक प्रविधि प्रयोग गरी चिउरीको कमली बिरूवा तयार गरेर छिटोभन्दा छिटो फल्ने पद्धति विकास गरिनुपर्छ । गमलामै पनि फल्न सक्ने खालको बिरूवा तयार गर्न सके ग्रामीण क्षेत्रका खेतबारी तथा पाखा र जङ्गलमा मात्र होइन, सहरबजारका घरहरुमा पनि चिउरी उत्पादन हुन थाल्छ । एक पटक सारा गाउँवासीलाई नै यसबाट बिरूवा बनाउने तालिम प्रदान गरी करोडौंको सङ्ख्यामा बिरूवा तयार गराउनुपर्छ ।

बिरूवा रोपाइ ः यसरी तयार गरिएको बिरूवालाई निजी तथा सामुदायिक वनहरुमा समेत रोप्ने र व्यावसायिक खेतीको विस्तार गर्ने रणनीतितर्पm अग्रसर हुनुपर्छ । पकेट क्षेत्र घोषणालगात्तै प्रत्येक वर्ष यसको बिरूवा रोप्ने कार्यलाई प्राथमिकतामा राखेर त्यसैअनुसार कार्य गर्नुपर्छ ।

मौरीपालन व्यवसाय प्रवर्धन ः चिउरीको पकेट क्षेत्रलाई थप महङ्खवपूर्ण बनाउन मौरीपालन व्यवसाय प्रवर्धनका लागि गाउँपालिकाले मौरीपालन तालिम, घार र मह उत्पादनमा आधुनिक सिप विकाससँगै आवश्यकीय भ्रमणहरु गराउनुपर्छ । यसबाट नागरिकहरुले चिउरी तथा मौरी दुवैबाट उच्च फाइदा लिन सक्नेछन् । फाइदासँगै नागरिक र सरकार दुवैको आय बढ्नेछ ।

अन्य उद्योगलाई प्रोत्साहन ः चिउरीको पकेट क्षेत्रमा अत्यधिक उत्पादन हुने चिउरीमा आधारित उद्योगहरु प्रशस्तै स्थापना गर्न सकिन्छ । यसका लागि गाउँपालिकाले देश–विदेशको पुँजी परिचालन गरी काम गर्न चाहनेहरुलाई विविध सुविधा दिएर काम अगाडि बढाउनुपर्छ । अर्थात्, मौरीपालनसँगै मह प्रशोधन उद्योग, चिउरीको घिउ उत्पादन उद्योग, पिनाबाट बन्ने जैविक मल र विषादी उद्योग, घिउबाट बन्ने साबुन, सेम्पो उद्योग, फलबाट उत्पादन हुने जुस, वाइन, ह्विस्की, ब्रान्डी उद्योग, पातबाट बन्ने दुनाटपरी उद्योग आदि अनेक उद्योग स्थापनाका लागि लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्छ ।

चिउरी सूचना केन्द्र स्थापना ः नेपालमा प्रशस्तै पाइने भए पनि चिउरीबारे पर्याप्त सूचना पाइँदैन । चिउरी सूचना केन्द्र स्थापनाका लागि प्रदेश तथा सङ्घीय सरकारको सहयोग आवश्यक हुन्छ तर पहल भने गाउँपालिकाले नै गर्नुपर्छ । चिउरीबाट बन्न सक्ने अधिकतम सामग्रीबारे, यसको व्यावसायिक खेती प्रविधिबारे, यसबाट हुने पर्यटकीय आकर्षण र सम्भावनाबारे वृहत् सूचना केन्द्र स्थापना हुनु आजको आवश्यकता पनि हो ।

चिउरी स्कुल ः छिमेकी राष्ट्र चीनमा बाँस स्कुल, घाँस स्कुल, अन्न बाली स्कुल, बाख्रा स्कुल, गाई स्कुल, सुँगुर स्कुलहरु प्रशस्त चलेका छन् । तिनबाट चिनियाँ जनताले कृषि उत्पादनका धेरै क्षेत्रमा विशेषज्ञता हासिल गरेका छन् । त्यसको नक्कल होइन, हाम्रो आफ्नै मौलिकपनमा आधारित चिउरी स्कुल हामी पनि निर्माण गर्न सक्छौं । उक्त स्कुलमा चिउरी र यसबाट हुने विविध उत्पादनबारे सिप सिक्न चाहने, छिटो रोजगारी हासिल गर्न चाहने, स्वारोजगार बन्न चाहनेहरुका लागि प्रभावकारी शिक्षण र प्रशिक्षण सञ्चालन हुनेछ । त्यस्तो स्कुलमा भाषिक तथा अन्य विषयको झन्झटिलो प्रक्रिया नभई केवल चिउरीसम्बन्धी विषयवस्तु मात्र पढाइ हुनेछ । त्यहाँको शिक्षा हासिल गरेका उत्पादनहरु आफै उद्यमी बन्ने, उद्योगको दक्ष कामदार बन्ने, प्राविधिक वा सिपयुक्त कर्मचारी बन्न सक्नेछन् । यसको तारतम्य गाउँपालिकाले गर्नेछ ।

चिउरी–मौरी पर्यटन ः अहिले हामीले आफ्ना सन्ततिहरु कृषिबाट निकै टाढा पु¥याएका छौं । चिउरीको बोट कस्तो हुन्छ ? पूmल र फल कसरी लाग्छ ? चिउरी फुल्ने बेलामा कस्तो बास्ना आउँछ ? यसको खेती कस्तो ठाउँमा गर्न सकिन्छ ? मौरीको घार कस्तो हुन्छ ? नयाँ घार कसरी बनाइन्छ ? मौरीले कसरी मह जम्मा गर्छ ? यसको बच्चा कस्तो हुन्छ वा मौरीका अन्य सदस्यहरु कस्ता हुन्छन् आदि जान्नु जरूरी हुन्छ । यही कारण चिउरी र मौरी पर्यटनका लागि गाउँपालिकाले छुट्टै कार्यक्रम अगि बढाउन सक्छ ।

अग्र्यानिक मह प्रवर्धन ः चिउरीबाट बनेको मह शुद्ध तथा अग्र्यानिक हो । यसको ब्रान्ड निर्माण गर्न सकिएमा पकेट क्षेत्रका प्रत्येक घरमा मौरीपालनबाट अत्यन्तै राम्रो आम्दानी गर्न सकिन्छ । अन्तर्राष्ट्रिय बजार व्यवस्थित गर्न सके देशले विदेशी मुद्रा आर्जन गर्नेछ । रानी मौरीले खाने विशेष प्रकारको मह (जेल) को मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो ५ लाख रूपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

मौरीको रानो उत्पादन ः मह उत्पादनबारे जानकारी भए पनि मौरीको रानी उत्पादनको विषय धेरैलाई नयाँ हुन सक्छ । तर, पछिल्लो समय नेपालमा समेत मौरीको रानो उत्पादन गर्ने प्रविधि भित्रिइसकेको छ । गाउँपालिकाले अनुदानसहित त्यस्ता प्रविधिलाई प्रोत्साहन गर्दै असल रानी उत्पादन गर्ने व्यवस्था मिलाउनुपर्छ । असल जातको रानीको प्रचलित मूल्य नेपालमा ११ सय रूपैयाँ भए पनि युरोपमा २ हजार पाउन्ड छ ।

नमुना खेती ः चिउरी पकेट क्षेत्र विस्तारसँगै स्वामित्वमा चिउरीको नमुना खेती भने गाउँपालिका आपैmले गर्नुपर्छ । यसका लागि चिउरी विकास शाखा राखेरै कार्यक्रम अगाडि बढाउनु आवश्यक छ । सो शाखाले कलमी तथा बिजु दुवै तरिकाबाट विकासित बिरूवाबाट उत्पादित फलको अध्ययन–अनुसन्धान एवं यसबाट बन्ने वस्तुहरुबारे निरन्तर नमुना प्रयोग र प्रशोधनका सम्भाव्यता अध्ययन हुनुपर्छ ।

स्मरण रहोस्, गाउँपालिकाले चिउरीको पकेट क्षेत्र घोषणा गरिसकेपछि चिउरी मात्रै खेती गरिनुपर्छ भन्ने छैन । जुन ठाउँमा चिउरी खेती गर्न सकिँदैन, त्यहाँ अन्य वस्तुहरुको उच्च प्रविधियुक्त खेती गर्न सकिन्छ । चिउरीलाई पहिचानको रुपमा मुख्य आकर्षण र आम्दानीको स्रोत हुने हिसाबले पकेट क्षेत्र घोषणा गरिने हो । हतुवागढी गाउँपालिकाको ६० प्रतिशतभन्दा बढी भूभागमा व्यावसायिक चिउरी खेती विस्तार गर्न सकिन्छ ।

(लेखक कृषि अभियन्ता तथा कृषि परामर्शदाता हुन् । कृषि अभियान लिएर नेपालका ७७ वटै जिल्ला घुम्ने उहाँ नेपालको पहिलो नागरिक पनि हुन । यस स्तम्भ अन्तर्गत लेखकले भोजपुर जिल्लाका ९ वटै स्थानीय तहमा गर्न सकिने कृषिका बारेमा लेखिएका लेख सम्बन्धी दैनिक रुपमा छाप्दै जानेछौ ।-सम्पादक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।