स्कुस र फर्सी खेतीबाट पौवादुङ्मा गाँउपालिका कसरी संमृद्ध बन्न सक्छ ?

जीवनप्रसाद राई
साबिक श्यामशिला, तिवारी भन्ज्याङ, च्याङ्ग्रे, बास्तिम, सानो दुम्मा, ठुलो दुम्मा गाविस मिलेर बनेको पौवादुङ्मा गाउँपालिकाको पूर्वी–उत्तर सीमा अरूण गाउँपालिका र धनकुटा जिल्लासँग जोडिन्छ । पश्चिममा भोजपुर नगरपालिका रहेको पौवादुङ्मा गाउँपालिकाको दक्षिणमा हतुवागढी र रामप्रसाद राई गाउँपालिका पर्छन् । साबिकको च्याङ्ग्रे गाविस यस गाउँपालिकाको केन्द्र कार्यालय पर्छ । २०६८ सालको जनगणनाअनुसार १५,३९४ जनसङ्ख्या रहेको यस गाउँपालिकाको क्षेत्रफल ११८.८६ वर्ग किलोमिटर छ । भूगोलका आधारमा भोजपुर जिल्लाकै सानो स्थानीय तह पौवादुङ्माले कुल भूभागको ७.८८ प्रतिशत क्षेत्रफल ओगटेको छ । यो गाउँपालिकाको सबभन्दा माथिल्लो उचाइ समुद्र सतहदेखि २,३६६ मिटर भएकाले यहाँ उपोष्ण, समशीतोष्ण तथा शीतोष्ण हावापानी पाइन्छ ।

यो गाउँपालिका विशेषतः बेमौसमी तरकारी खेतीका लागि उपयोगी भए पनि हालसम्म सबै ठाउँमा समय र मौसमलाई मध्यनजर गरी खेती गरिने भएकाले यसलाई विशिष्टीकरण गरिएको छैन । तर यसलाई ठाउँ, परिवेश र मौसम वा समयअनुसार खेती गर्दै निरन्तरता दिनुपर्छ ।

तरकारी खेतीको अवधारणाअनुरुप यो गाउँपालिकालाई दुई पाटामा विभाजित गर्न सकिन्छ । गाउँपालिकाको तल्लो क्षेत्रलाई ‘फर्सी पकेट क्षेत्र’ र माथिल्लो क्षेत्रलाई ‘स्कुस पकेट क्षेत्र’ बनाए व्यावसायिक तरकारी खेतीबाट सिङ्गो गाउँपालिका उन्नत बन्न सक्छ । हुन त परम्परादेखि नै गर्दै र देख्तै आएको फर्सी तथा स्कुसको खेती कुनै सिङ्गो गाउँपालिकाले पकेट क्षेत्र बनाई उच्च उत्पादन गर्नुपर्छ भन्दा हाँसोको विषय बन्न सला तर हाँस्नुभन्दा पहिले फर्सी र स्कुसबारे राम्ररी बुझ्नुपर्छ ।

क) स्कुस
अङ्ग्रेजी नाम: Chayote, पारिवारिक नाम: Cucurbitaceae र वैज्ञानिक नाम: Sechium edule ।
उच्च पोषक तङ्खव रहेको स्कुस आफैमा अग्र्यानिक तरकारी हो । यसको खेतीका लागि पौवादुङ्मा गाउँपालिकाका ७ सय मिटर माथिका सबै क्षेत्रहरु उपयुक्त छन् । मानव स्वास्थ्यका लागि स्कुस निकै फाइदाजनक रहेको कुरा खाद्य तथा पोषणविद्हरुले बताएका छन् ।

पोषणमा धनी:
स्कुसको मुख्य विशेषता हो पोषण । यसमा पोषक तङ्खवको मात्रा उच्च हुन्छ, जसबाट शरीरका लागि महङ्खवपूर्ण भिटामिन, खनिज र रेसा प्राप्त गर्न सकिन्छ ।

२०३ ग्राम तौलको स्थानीय नेपाली स्कुसमा निम्नअनुसार पोषण पाइन्छ—
क्यालोरी ३९ ग्राम
कार्बोहाइडे«ट ९ ग्राम
प्रोटिन २ ग्राम
रेसा ४ ग्राम (दैनिक आवश्यकताको १४ प्रतिशत)
भिटामिन सी (दैनिक आवश्यकताको २६ प्रतिशत)
भिटामिन बी१ (थायमिन), बी२ (रिवोफ्लेविन), बी३ (नियासिन), बी५ (प्यान्टोथेसिन एसिड),
भिटामिन बी६ (दैनिक आवश्यकताको ८ प्रतिशत)
भिटामिन बी९ (फोलेट, दैनिक आवश्यकताको ४७ प्रतिशत)
भिटामिन के (दैनिक आवश्यकताको १० प्रतिशत)
म्याग्निज (दैनिक आवश्यकताको १९ प्रतिशत)
कपर (दैनिक आवश्यकताको १२ प्रतिशत)
जिन्क (दैनिक आवश्यकताको १० प्रतिशत)
पोटासियम (दैनिक आवश्यकताको ७ प्रतिशत)
म्याग्नेसियम (दैनिक आवश्यकताको ६ प्रतिशत)
फ्याट ०.१३ ग्राम, कोलेस्टेरोल ० ग्राम

प्रमुखतः स्कुसलाई फोलेट तङ्खवको धनी मानिन्छ, जसले कोषिका विभाजन प्रवर्धन गर्छ । स्कुसको पोषण घनत्व विश्लेषण गर्ने हो भने यसमा फ्याट, क्यालोरी, सोडियम र कार्बोहाइडे«टको मात्र कम हुन्छ । त्यसैले स्कुस स्वस्थ फल मानिन्छ र विभिन्न खानाका साथ प्रयोग गर्न सकिन्छ ।


शक्तिशाली एन्टिअक्सिडेन्ट

एन्टिअक्सिडेन्ट शरीरलाई चाहिने विशेष तङ्खव हो । विभिन्न खानामा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोषहरु क्षति हुनबाट जोगाउँछ । सुन्निएको मांसपेशी घटाउँछ र मानसिक तनावबाट मुक्त गर्न सहयोग गर्छ । विभिन्न खानेकुरामा पाइने क्वर्सेटिन, माइरिसेटिन, मोरिन र केम्पफेरोलबाट शरीरले एन्टिअक्सिडेन्ट प्राप्त गर्छ । स्कुसमा माइरिसेटिनको मात्रा प्रशस्त हुन्छ । अध्ययनअनुसार माइरिसेटिनमा क्यान्सर (अर्बुद) र मधुमेह प्रतिरोधात्मक तथा सुजन (दुखाइ) निदानात्मक विशेषता हुन्छन् । स्कुसलाई भिटामिन सीको उत्कृष्ट स्रोत मानिन्छ, जसले शरीरमा एन्टिअक्सिडेन्ट प्रदान गर्छ ।

हृदय स्वास्थ्यको प्रवर्धन

नियमित स्कुस सेवनले मुटुसम्बन्धी विभिन्न जोखिमहरु (उच्च–न्युन रक्तचाप, उच्च कोलेस्टेरोल आदिबाट बचाउन सहयोग गर्छ । विभिन्न अध्ययन–अनुसन्धानबाट देखिएअनुसार स्कुसले रक्तवाहिनीलाई आराम दिन्छ, जसबाट शरीरमा रक्तसञ्चार प्रशस्त भई रक्तचाप कम गर्न मद्दत गर्छ । स्कुसमा पाइने माइरिसेटिनले कोलेस्टेरोल घटाउन विषेश भूमिका खेल्छ ।

फाइबरको विशेष स्रोत हो स्कुस । यसबाट मानव शरीरलाई दैनिक चाहिनेमध्ये १४ प्रतिशत फाइबर प्राप्त हुन्छ । फाइबरले पाचन शक्ति बढाउने हृदय रोग कम गर्न भूमिका खेल्छ । फाइबर प्रशस्त हुने चायोटे जातिका फल खानाले आन्द्रा मजबुत बनाई पाचन प्रणालीदेखि निष्कासन प्रक्रियासम्मका सम्पूर्ण कार्य सहज बनाउने हुँदा मुटु, मधुमेह जस्ता समस्याबाट बँच्न सकिन्छ ।

रगतमा चिनीको मात्रा सन्तुलन

स्कुसमा कार्बोहाइड्रेट कम र घुलित रेसा बढी पाइने हुनाले रगतमा चिनीको मात्रा सन्तुलित राख्न सहयोग गर्छ । घुलित रेसाले पाचन प्रक्रिया सुस्त गराई कार्बोहाइड्रेट सोस्न मद्दत गर्ने हुनाले खाना खाएपछि पनि चिनी (ग्लुकोज) को मात्रा नियन्त्रण हुन्छ । अन्यथा शरीरमा आवश्यक इन्सुलिनको मात्रा ननिस्कने हुनाले चिनीको मात्रा बढेर जोकोही मधुमेहको सिकार हुन सकिन्छ । एक अध्ययनअनुसार स्कुसमा हुने विभिन्न तङ्खवले इन्सुलिनको संवेदनशीलता बढाएर मधुमेह न्युनीकरण गर्न प्रत्यक्ष मद्दत गर्छ ।

गर्भको शिशु स्वस्थ राख्न सहयोग

स्कुस फोलेटको विशेष स्रोत हो । शरीरलाई अत्यावश्यक हुने फोलेट अर्थात् भिटामिन बी  जस्ता तङ्खव गर्भवतीलाई मात्र होइन, गर्भावस्थाको तयारीमा रहेका महिलाहरुलाई अझ महङ्खवपूर्ण मानिन्छ । गर्भावस्थाको सुरुमा फोलेटले बच्चाको मष्तिस्क एवं मेरुदण्ड विकासमा मद्दत गर्छ, समयअगावै बच्चा जन्मने सम्भावना कम गर्छ । तसर्थ स्कुस र अधिक फोलेट पाइने अन्य फलफुल गर्भावस्था र गर्भको योजनामा रहेका व्यक्तिका लागि अत्यन्त फाइदाजनक मानिन्छ ।

क्या’न्सर प्रतिरोधात्मक क्षमता

विभिन्न फलपूmल र तरकारी उचित मात्रामा नियमित सेवनले शरीरलाई क्यान्सर जस्ता घातक रोगसँग लड्न तयार गर्ने मानिन्छ । स्कुसमा यस्ता थुप्रै गुण हुन्छन् । अध्ययनअनुसार स्कुसमा पाइने केही विशेष तङ्खवहरुले ब्लड क्यान्सर (ल्युकेमिया) र सर्भिकल क्यान्सर जस्ता कोष विकास हुन नदिन विशेष भूमिका निर्वाह गर्छन् ।

बुढेसकालका लक्षण कम गर्छ

बुढेसकाल हरेक प्राणीमा प्रकृतिप्रदत्त अवस्था हो । ‘फ्री ¥याडिकल’ सिद्धान्तका आधारमा उमेर बढ्दै गएपछि शरीरका कोषिका नष्ट भई शारीरिक क्षमतामा कमी आउँछ । विभिन्न अध्ययनले बताएअनुसार पर्याप्त एन्टिअक्सिडेन्ट खानाले मानिसहरुलाई चाँडै देखिने बुढेसकालका समस्याबाट बच्न सहयोग हुन्छ । स्कुस एन्टिअक्सिडेन्ट र भिटामिन सीको प्रमुख स्रोत हो । यसले शरीरमा कोलाजिन (प्रोटिन) उत्पादनमा सहयोग गर्छ र जवान देखिन मद्दत पु¥याउँछ । छालामा निखारता ल्याउनु र सूर्यको प्रकाशमा हुने विकिरणबाट छालाका कोषिका बचाउनु यसको प्रमुख काम हो ।

कलेजोको कार्यप्रणालीमा उच्च सुधार

तन्तुहरुमा बोसो जम्मा भई कलेजोको कार्यप्रणालीमा देखिने ह्रास विश्वमै प्रमुख समस्या मानिएको छ । यस समस्याले सिङ्गो शरीरमा असर गर्छ । विभिन्न अध्ययनअनुसार स्कुसले कलेजोमा बोसो जम्मा हुनबाट बचाउँछ । यसलाई मुसामा गरिएको एक अनुसन्धानले प्रमाणित गरेको छ । यस तथ्यलाई प्रामाणिक बनाउन थप अनुसन्धान आवश्यक छ ।

स्वस्थ शारीरिक र तौल सन्तुलनमा सहयोग

स्कुसमा न्युन फ्याट र ० कोलेस्टेरोल हुने हुँदा यसले शरीरको तौल नियन्त्रणमा मद्दत गर्छ । एउटा २०३ ग्रामको स्कुसले ३९ ग्राम क्यालोरी र ४ ग्राम फाइबर प्रदान गर्छ । फाइबरको सेवनले शरीरको तौल वृद्धिमा असन्तुलन ल्याई शरीर विकास सकारात्मक भूमिका खेल्छ ।

मजबुत पाचन प्रणाली

शारीरिक तन्दुरुस्तीका विभिन्न कार्यहरु पाचन प्रक्रियासँग सम्बन्धित हुन्छन् । स्कुसमा पाइने फ्लाबिनोइड र अन्य विभिन्न इन्जाइमले पाचन प्रणाली सहज बनाई शरीरबाट विकार निकाल्न मद्दत गर्छन् । स्कुसलाई पकाएर, उसिनेर, साँधेर विभिन्न ११ तरिकाले खान सकिन्छ । छिप्पिएको स्कुसको चाना काटेर घाममा सुकाइ सिम्टा बनाएर पछिका लागि राख्न सकिन्छ । कोरेसोमा कोरेर बनाएको यसको भुजुरी सुकाएर अचार बनाउँदा निकै स्वादिलो हुन्छ । फल मात्र होइन, हामीले परम्परागत रुपमा यसका तीनवटा भाग अर्थात् मुन्टा, फल र जरा (तरूल) उसिनेर र पकाएर खाने गरेका छौं । स्कुसको मुन्टा हरियो तरकारीको प्रमुख स्रोत हो । यसमा भिटामिन ए, क्याल्सियम लगायत धेरै तङ्खव पाइन्छ । सागको सट्टा खाद्य प्रयोगमा आउने स्कुसको मुन्टा नेपालमा निकै प्रसिद्ध तरकारी मानिन्छ । स्कुस खेतीलाई नै अचम्ममा पार्ने सहउत्पादन हो स्कुुसको जरा । तरूल समूहमा पर्ने स्कुसको जरामा स्कुसभन्दा बढी पोषण पाइन्छ ।

किरात क्षेत्रका राई र लिम्बुहरुले यसलाई मासुसँग मिसाएर पकाउने गरेका छन्, जुन ज्यादै वैज्ञानिक पद्धतिमा आधारित छ । विश्व बजारमा स्कुसलाई परिकार बनाई खाने तरिकाहरु निम्नअनुसार रहेका छन्— १) बेक स्टुफेड स्कुस, २) फ्राइड स्टुफेड स्कुस, ३) फेस्टिभ स्कुस सलाद, ४) स्कुस र गाजरको पार्टिच, ५) स्कुसको सुप, ६) स्कुसको अचार, ७) चाउचाउ चोपा, ८) चिकेन टिनोला, ९) स्कुससँग गोलभेडा र ग्रिन चिल्ली, १०) फ्राइड अप्पल, ११) ग्राँता क्रिस्टोफिन ।

यी त व्यवहारमा आएका परिकार मात्र हुन् । हामी पनि नेपाली परिवेशअनुसार स्कुसका परिकार बनाई ग्राहकहरुलाई खुवाउन सक्छौं भने नयाँ परिकारको रुपमा विश्वबजारमा पनि लान सक्छौं । स्कुसमा प्रशस्त औषधीय गुण रहेका छन् । स्कुसको खेती गर्न केही सुधारात्मक कार्यहरु मात्र गरे पुग्छ हामीलाई । सिङ्गो पश्चिम नेपाल यसको बजार हो भने जनसङ्ख्याको हिसाबले विश्वकै ठूला मानिने छिमेकी चीन र भारत वैदेशिक बजार हुन् । हालसम्म नेपालले ‘स्कुस कसरी खाने र यसका फाइदा केके छन्’ भन्ने विषयमा कुनै नयाँ सोच दिन नसकेकै प्रशस्त सम्भावना भए पनि कृषिवस्तुहरुको विशेष बजार बन्न सकेको छैन । तर निरन्तर यसैमा क्रियाशील हुने हो भने स्कुसको बजार विस्तारमा कुनै समस्या छैन । स्कुसको सबैभन्दा फाइदाजनक कुरा हो यसलाई बोटबाट टिपेर लामो समय (३ देखि ६ महिना) सम्म भण्डारण गरेर राख्न सकिन्छ ।

ख) फर्सी:

फर्सी नेपालमा परम्परादेखि नै खेती हुँदै आएको तरकारी बाली हो । तर यसको खास फाइदाबारे थाहा नहुँदा फर्सीले व्यावसायिक खेतीको रुप धारण गर्न सकेको छैन । हालसम्म पनि हाम्रा गाउँघरमा फर्सीका केही बोट हुन्छन् मुन्टा, गट्टा र परिवारलाई चाहिने फर्सीको माग पूरा गर्न वा निर्वाहमुखी खेतीको रुपमा । फर्सीलाई नै आम्दानीको प्रमुख स्रोत बनाउन सक्ने सम्भावना व्यापक रहे पनि यसलाई व्यावसायिकता दिन नसक्नु सूचना प्रणाली तथा वैदेशिक रोजगारी प्रमुख समस्याका रुपमा देखिन्छ । यही कारण पौवादुङ्मा गाउँपालिकाले स्कुससँगै फर्सीको विशेष पकेट क्षेत्र बनाई उत्पादन विस्तार गर्न सक्छ ।

उच्च पोषणको स्रोत मानिने फर्सीको मुन्टा, फल र बियाँ उपभोगका मुख्य वस्तु हुन् । विश्वमै विश्वासिलो समाचारको स्रोतको रुपमा चिनिने बीबीसीले गरेको अध्ययनअनुसार पोषक तङ्खव पाइने उत्कृष्ट सय कृषिजन्य बालीहरुमा फर्सीको मुन्टा र फर्सीलाई ९६ औं स्थानमा राखेको छ भने यसको बियाँलाई छैटौं स्थानमा दिएको छ । फर्सीको बजारीकरणका लागि यस्ता सूचनाहरु प्राथमिकतामा पर्नुपर्छ ।

फर्सीमा भिटामिन ए, बी६ सी, ईका साथै विभिन्न मिनरल्स फोलेट, पेन्टाथोनिक एसिड, रिबोफ्लाभिन, कपर, नाइसिन, आइरन, म्याग्नेसियम, फस्फोरस, म्याग्निज, थाइमिन, पोटासियम, क्याल्सियम, फाइफर आदि पाइन्छ । १०० ग्राम फर्सीमा १.७६ ग्राम प्रोटिन, २.७ ग्राम फाइबर, ४९ केसीएल क्यालोरी, ०.१७ ग्राम फ्याट र १२ ग्राम कार्बोहाइडेड पाइए पनि कोलेस्टोलर हुँदै नहुने भएकाले स्वास्थ्यवर्धक मानिन्छ र पाकेको फर्सी (पहेंलो) त भिटामिन ए (क्यारोटिन) को प्रमुख स्रोत नै हो ।

नियमित फर्सी सेवनले रक्त सञ्चारमा सही प्रवाह ल्याई उच्च रक्तचाप हुनबाट जोगाउने गर्छ । यसै गरी फर्सीले क्यान्सर हुनबाट पनि यसले बचाउने दाबी गरिन्छ । मधुमेह लाग्न नदिन तथा लागेकाहरुलाई पनि नियन्त्रण गर्न र बुढौलीमा हुने आँखाको कमजोरी सुधार गर्न पनि फर्सीले फाइदा पु¥याउँछ । यही कारण फर्सी बहुगुणी कृषि उत्पादन हो ।

फाइदाजनक कृषि बाली

हुन त हामीकहाँ यस्त गुण भएका तरकारी तथा कृषिवस्तु धेरै छन् तर स्कुस र फर्सीजतिको फाइदाजनक तरकारी तथा कृषिजन्य वस्तुहरु अरु छैनन् । फर्सी र स्कुस आफैमा अग्र्यानिक बाली हुन् । यिनमा अन्य तरकारी बालीमा भैmँ रोग र किराहरुको प्रकोप हुँदैन । त्यसैले रासायनिक मल र अन्य विषादी प्रयोग गर्नै पर्दैन । यही कारण अग्र्यानिक कृषिवस्तुको ब्रान्ड निर्माण गर्न सर्वप्रथम स्कुस र फर्सीको खेती गर्न-गराउन आवश्यक छ ।

गाउँपालिकाले गर्ने काम

पकेट क्षेत्र घोषणा: गाउँपालिकाले आफ्नो क्षेत्रलाई प्रमुख प्राथमिकता दिई ‘स्कुस तथा फर्सी पकेट क्षेत्र’ घोषणा गर्नुपर्छ । यो कार्यक्रम गर्नुभन्दा पहिला कति क्षेत्रफलमा स्कुस र कतिमा फर्सी खेती हुने, यकिन तथ्याङ्क लिई आधार रेखा सर्वेक्षण गर्नुपर्छ । कुनै पनि नयाँ काम गर्दा आधार रेखा सर्वे गरियो भने काम गर्दै जाँदा ‘कहाँबाट कहाँ पुगियो’ भन्ने प्रस्ट हुन्छ ।

स्रोत केन्द्र स्थापना : फर्सी र स्कुसको पकेट क्षेत्र घोषणा गर्नेबित्तिकै गुणस्तरीय बिउ र बिरूवा माग हुने गर्छ । विभिन्न जात र तिनका विशेषता छुट्टिने खालका बिउको व्यवस्थापन तथा असल खेती पद्धतिका लागि पकेट क्षेत्रले विशेष पहल गर्नुपर्छ । यसर्थ यस गाउँपालिकाले फर्सी र स्कुस उत्पादन गर्ने योजना बनाएपछि राम्रो बिउ उपलब्ध गराउन ठाउँ पनि व्यवस्था गर्नुपर्छ ।

सूचना केन्द्र स्थापना: यस गाउँपालिकाले प्रमुख प्राथमिकतामा राख्नै पर्ने कार्यमध्ये फर्सी तथा स्कुसको सूचना केन्द्र स्थापना हो । विश्वमा पाइने फर्सी र स्कुसका अनेक जातहरु, तिनका विशेषता झल्कने अनेक सूचनाहरु एकै ठाउँबाट प्रदान गर्ने केन्द्र स्थापना नगरे योजना सफल हुन सक्तैन । सूचना केन्द्रले फर्सी र स्कुसबाट बन्न सक्ने परिकार बनाउने तरिका र उपभोग गर्दा हुने फाइदालाई उत्कृष्ट तरिकाले प्रस्तुत गर्ने कोसिस गर्नुपर्छ ।

ब्रसर तथा पुस्तिका प्रकाशन : फर्सी तथा स्कुसमा आधारित विभिन्न खालका पुस्तक, पुस्तिका, ब्रसर लगायतका पाठ्यसामग्रीहरु छपाई जनमानसमा पु¥याउने मात्र होइन, छोटा भिडियो र डकुमेन्ट्रीहरु पनि तयारी गरिनुपर्छ ।

पकेट क्षेत्र निर्माण : कार्यक्षेत्रमा फर्सी तथा स्कुस विकास, अध्ययन–अनुसन्धान एवं परीक्षण शाला, उत्पादनको गुणस्तर पहिचानसँगै स्कुस तथा फर्सीको नमुना खेती पनि गाउँपालिकाले गर्नुपर्छ । त्यसबाट किसानहरुले सिक्न सक्ने मात्र होइन, बाहिरबाट घुम्न आउने आगन्तुक र आमउपभोक्तलाई देखाउन सकिन्छ ।

प्रचारप्रसार : गाउँपालिकाले स्कुस तथा फर्सीको पकेट क्षेत्र घोषणा गरी कार्य अगाडि बढाएपछि जनस्तरमा पु¥याउन विभिन्न भेला, छलफल, तालिम, गोष्ठी, प्रदर्शनीमार्पmत प्रचारात्मक अभियान सञ्चालन गरिनुपर्छ ।

आउट लेट निर्माण : तुलनात्मक रुपमा चाँडै उत्पादन दिने कृषिवस्तु हुन् फर्सी र स्कुस । यिनको उत्पादनलाई बजारीकरण गर्न निकै सजिलो छ । दुवैका मुन्टा हाम्रो समाजमा तरकारीका लागि लोकप्रिय छन् । यसैले यिनका मुन्टा तथा फलहरु गोर्खा, भाटभटेनी जस्ता बिगमार्ट र सुपरमार्केटहरुमा छुट्टै ब्रान्डको रुपमा बजारीकरण गर्ने र सकेसम्मा धरान, विराटनगर, इटहरी, झापा लगायत ठुला सहरहरुमा आउटलेट खोलेर बिक्रीवितरण गर्नुपर्छ ।

फर्सी -स्कुस महोत्सव : गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेपछि यसलाई थप मजबुत र घोषणाको औचित्य पुष्टि गर्न समय समयमा फर्सी तथा स्कुसको महोत्सव गर्नुपर्छ । महोत्सवमा उत्कृष्ट कृषक, खेती पद्धतिमा र बजारीकरणमा नौलोपन प्रस्तुत गर्नेहरुलाई पुरस्कृत गरिनुपर्छ ।

गाउँपालिकालाई हुने फाइदा

गाउँपालिका आफैमा स्थानीय सरकार हो । यसैले आफ्नो क्षेत्रमा कुन वस्तु कसरी उत्पादन र बजारीकरण गर्ने, त्यसबाट आमजनताले कति आय आर्जन गर्छन् र गाउँपालिकालाई केकति फाइदा हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । त्यसैले गाउँपालिकाले स्कुस र फर्सीको पकेट क्षेत्र निर्माण गर्दा हुने फाइदाबारे सबैभन्दा पहिले नेतृत्व तहमा आत्मविश्वास भर्नुपर्छ । त्यसैले पौवादुङ्मा गाउँपालिकालाई स्कुस र फर्सीको पकेट क्षेत्र बनाउँदा निम्न फाइदा हुनेछ :-

सङ्घीय नेपालमा स्कुस र फर्सीको पकेट क्षेत्र बनाई कार्य अगि बढाउने पहिलो गाउँपालिका बन्नेछ । यही कारण पकेट क्षेत्र बनाई उल्लेखनीय कार्य गरिँदा नेपालकै मुख्य आकर्षण बन्नेछ ।

स्कुस र फर्सीमा विविधीकरण गरी आन्तरिक र वाह्य पर्यटक आकर्षण केन्द्र स्थापना भई प्रमुख गन्तव्य स्थलको रुपमा स्थापित हुनेछ । यसका कारण यहाँ फर्सी र स्कुस मात्र नभई अन्य सबै खालका कृषिजन्य वस्तुहरुको बिक्रीवितरण हुनेछ । यसले आर्थिक स्रोतहरु पहिचान गर्न मद्दत पुग्नेछ ।

स्कुस र फर्सीका विभिन्न परिकारहरु उपलब्ध गराउने खालका रेस्टुराँहरु सञ्चालनमा ल्याउन सकिनेछ । चीनमा फर्सी खेती प्रमुख पर्यटकीय गन्तव्य र आकर्षणको केन्द्र भए जस्तै नेपालमा पनि स्कुस र फर्सीका परिकार खाने मात्र नभई यसबाट बनेका विविध कोसेलीहरु बिक्री हुनेछन् ।

विशेषतः फर्सीको बियाँ र स्कुसबाट धेरै किसिमका अचार बनाउन सकिनेछ । फर्सीको बियाँको तेलबाट सौन्दर्य प्रशाधनका धेरै सामग्री बनाउन सकिन्छ ।

फर्सी र स्कुस सम्बन्धमा गाउँपालिकामा विशेष स्कुल, प्रविधि विकास केन्द्र आदि सञ्चालन गर्न सकिनेछ । देशका अन्य ठाउँमा यस्ता पकेट क्षेत्र सञ्चालन गर्न त्यस्ता स्कुलबाट प्राविधिक तयार पार्न प्रभावकारी सिकाइ थलो बनाउन सकिन्छ । आधुनिक तरिकाले खेती गर्दा प्रतिरोपनी स्कुसबाट ५० हजार र फर्सीबाट ५० हजार कमाउन सकिने हुनाले गाउँपालिकामै धेरैभन्दा धेरै मानिसहरुलाई रोजगारीको व्यवस्थापन गर्न सकिनेछ ।

फर्सी तथा स्कुसबाट प्रशोधन उद्योगहरुसमेत स्थापना गर्न सकिने हुनाले यो अर्को आम्दानीको क्षेत्र हो । यसैले यो गाउँपालिका आर्थिक रुपमा सबल बन्न स्कुस र फर्सीको महङ्खवपूर्ण योगदान हुनेछ ।

पौवादुङ्मा गाउँपालिका हिले–भोजपुर सडकखण्डले चिरेका कारण बेमौसमी तरकारी उत्पादनका लागि पनि उपयुक्त मानिन्छ । तिवारी भन्ज्याङ, हिले भन्ज्याङ, श्यामशिला आदि ठाउँहरुमा काउली, बन्दा, मुला, गाजर, रायो, केराउ लगायतका तरकारीहरु उत्पादन गरी विशेष फाइदा लिन सकिन्छ । तैपनि भण्डारण र दिगोपनका हिसाबमा स्कुस र फर्सीको तुलनामा अन्य तरकारी टिक्न सक्तैन ।

(लेखक कृषि अभियन्ता तथा कृषि परामर्शदाता हुन । कृषि संग सम्बन्धित उनका दर्जन पुस्तक बजारमा आएका छन् । धनकुटा नगरपालिकाको एभोकाडो पकेटक्षेत्र र पाख्रीबास नगरपालिकाको कफी पकेट क्षेत्रका लागि उनको प्रत्यक्ष संलग्नता रहेको छ । भोजपुर जिल्लाका सबै पालिकाहरुको बिषयमा हामी उहाँको बिचारहरु छाप्ने क्रममा छौ । -सम्पादक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।