कारागार चुहिँदा कैदीबन्दीलाइ सास्ती

डोटी, राणाकालमा निर्माण गरिएको डोटी जिल्ला कारागार जीर्ण भई पानी परेर चुहिन थालेपछि कैदीबन्दीलाई निकै सास्ती भएको छ । अहिले लगातार वर्षा भइरहेका कारण पानी चुहिदा त्यहाँका कैदीबन्दी प्लाष्टिकको छानो हालेर रात बिताउन बाध्य छन् । जिल्ला कारागारका नाइके दीपेन्द्र जेठाराले भन्नुभयो, “बाहिर सामान्य पानी पनि पर्नु हुँदैन सबैभित्र छिर्छ, बढी पानी पर्दा भाँडाकँुडा थापेर सुत्नुपर्छ, थपिएको भाँडा भरिए पटक पटक पानी फाल्नु पर्ने अवस्था छ, सारै पीडा भयो ।”

प्रमुख जिल्ला अधिकारी सुनिल खनालले कारागार चुहिने भएकाले कैदीबन्दीलाई हिजोआज निकै समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भवन पुरानो छ, बेलाबेलामा पानी पर्दा चुहिन्छ, कारागार मर्मतका लागि हामीले बजेट माग गरेका छाँै, बजेट आएको छैन ।” जेल प्रशासनले जीर्ण भएको कारागार टालटुल गरे पनि पानी चुहिने काम नरोकिँदा समस्या भएको हो ।

कारागारका छानामा राणाकालमा लगाइएका स्लेट पनि खिइएर झर्न थालेको छ । “दिउँसो हामी बाहिर चौरमा हुन्छौँ, सामान्य हुरी चल्दासमेत सिलेट खसेर कस्को टाउकामा लाग्छ र मर्छन् भन्ने चिन्ताले पिरोलेको छ, पानी पर्दा चुहिन्छ, हाम्रा पीडा कसैले बुझेनन् ।” पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको नाइके जेठाराले जानकारी दिनुभयो ।

आर्थिक अभावले कारागारको जीर्ण भवन मर्मत हुन नसकेको कारागार प्रशासन प्रमुख लालबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन निकै पुरानो भएकाले छत चुहिन्छ, फर्समा पानी चुहिने भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो छ ।” कारागारमा कूल २५ कैदीबन्दी राख्ने क्षमता भए पनि हाल ५९ कैदीबन्दी राखिएका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण एउटै कोठामा१२ देखि १५ जनासम्म सुत्ने गरेका छन् ।

कैदीबन्दी बढी हुँदा खानेपानी र शौचालयको प्रयोगमा समेत समस्या आएको छ । खान र बस्न कुनै समस्या नभएको तर छत चुहिने भएका कारण रातभरि जाग्राम बस्न बाध्य भएको कैदीबन्दीको गुनासो छ । अर्का कैदीबन्दी नवराज बिनाडी भन्नुहुन्छ्, “निकै कष्ट सहेर बाँच्नुपरेको छ । सहजरुपमा बाँच्न पाउनुपर्ने अधिकार त सुनिश्चित गरिनुपथ्र्यो ।”

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जिल्ला कारागार मर्मतका लागि पहल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जीर्ण कारागारले कैदीबन्दीलाई समस्या भएको रहेछ, कारागार मर्मत र चुहिने छाना छाउनका लागि तत्काल पहल हुन्छ ।” कारागारको भौतिक संरचना तथा त्यहाँ राखिएका कैदीबन्दीको अवस्था बुझ्नका लागि हालै अनुगमनसमेत गर्नुभएका उहाँले मर्मतका लागि काम शुरु गरिने आश्वासनसमेत दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖