आमचोक गाउँपालिकालाई एभोकाडो र कफीमय बनाउँ
-जीवनप्रसाद राई ।
क्षेत्रफलको आधारमा भोजपुर जिल्लाकै तेस्रो ठुलो स्थानीय तह हो आमचोक गाउँपालिका । यसको क्षेत्रफल १८४.८९ वर्ग किलोमिटर रहेको छ भने २०६८ सालको जनगणनाअनुसार १८,७२० जनसङ्ख्या रहेको छ । यसको पूर्वी सिमाना हतुवागढी गाउँपालिका, पश्चिममा खोटाङ जिल्ला, उत्तरमा रामप्रसाद राई गाउँपालिका र दक्षिणमा उदयपुर जिल्ला रहेका छन् । यस गाउँपालिकाको सबैभन्दा माथिल्लो उचाइ २,२४२ मिटर छ । समग्रमा न्यानो वा गर्मी हावापानीयुक्त भएकाले यो गाउँपालिकामा एभोकाडो तथा कफी खेतीका लागि निकै महङ्खवपूर्ण मानिन्छ । एभोकाडो तथा कफी एकैसाथ एकै ठाउँमा लगाउन सकिने बालीहरु भएकाले पनि यस गाउँपालिकाका लागि सही मानिएको हो ।

परिचय
पछिल्लो समय नेपालमा एभोकाडो तथा कफी निकै चर्चामा आएका छन् । धनकुटा नगरपालिकाले एभोकाडोको पकेट क्षेत्र नै निर्माण गरी कार्य अगाडि बढाएको छ भने कफीबारे स्थानीय तहले पकेट क्षेत्र निर्माण गरी काम गरेको हालसम्म पाइएको छैन ।
क) एभोकाडो ः एभोकाडोलाई नेपालीमा घिउ फल भनिन्छ । कतिपय ठाउँमा यसलाई लप्से काउलो पनि भन्ने गरिएको छ । पछिल्लो समय विश्वमै निकै लोकप्रिय बन्दै गरेको एभोकाडोको उत्पत्ति मेक्सिकोमा भएको मानिन्छ । यसको अङ्ग्रेजी नाम Avocado, वैज्ञानिक नाम Persia Americana mill र परिवार Lauraceae हो ।
ख) कफी ः पहिले कतैकतै सोखको रुपमा मात्र रोपेको देखिने कफी खेतीले पछिल्लो समय व्यावसायिक रुप लिँदै गरेको छ । सानो बोटमा बाक्लो गरी फलेका फल पाक्न थालेपछि यसले बगैंचाको शोभा निकै बढाएको देखिन्छ । अङ्ग्रेजीमा Coffee भनिने यस वनस्पतिको वैज्ञानिक नाम Coffea Arabica Coffea robusta Hort र पारिवारिक नाम Rubiaceae हो ।
उष्ण र समशीतोष्ण हावापानीमा अधिक उत्पादन हुने एभोकाडो र कफी खेती नेपालका धेरै ठाउँमा व्यावसायिक रुपमा सुरू गर्नु आवश्यक छ । एभोकाडो खाने तथा प्रशोधन गरी अन्य धेरै वस्तुहरु उत्पादन गर्नका लागि कच्चा पदार्थ हो भने कफीलाई पेय पदार्थका रुपमा उपयोग गरिन्छ । अझ कफीलाई त विश्वव्यापी रुपमा पेट्रोलियम पदार्थपछि सबभन्दा बढी बिक्री हुने वस्तुको रुपमा लिइन्छ ।
एभोकाडो र कफी नै किन ?
हाल सर्वाधिक चर्चामा रहेको र हरेक मानिसलाई खेतीमा आकर्षण भएको बाली हो एभोकाडो । नेपालमा पूर्वदेखि पश्चिमसम्म उत्तिकै सम्भावना रहेको बाली पछिल्लो समय निकै विस्तार हुँदै छ । समुद्र सतहदेखि दुई हजार मिटरसम्मको उचाइमा खेती गर्न सकिने भएकाले आमचोक गाउँपालिकाको अधिकांश भूभाग एभोकाडो खेतीका लागि उपयुक्त देखिन्छ । वयस्क भएपछि प्रतिबोट ४ सय केजीसम्म सजिलै फल दिने एभोकाडो कृषकहरुले सर्वाधिक रूचाएको बालीको रुपमा उदाएको छ ।
कफी खेती पश्चिम नेपालबाट पूर्वी नेपालमा प्रवेश पाएको हो । पहिले कफी मात्र लगाइने गरे पनि पछिल्लो समय जहाँ एभोकाडो रोपिएको छ, त्यहाँ कफीसमेत लगाउनु उपयुक्त मानिन्छ । किनभने कफीलाई छहारीको व्यवस्था गर्नुपर्छ भने एभोकाडोको रुख झ्याम्मिने र अलि ठूलो हुने भएकाले दुवैको व्यावसायिक खेती सँगै गर्न सिफारिस गरिएको हो । एउटै जमिनमा एकसाथ दुई वनस्पति खेती गर्नुलाई दुईतले बाली भनिन्छ । उत्पादनका हिसाबले दुईतले खेती ज्यादै फाइदाजनक हुन्छ । भूबनोट, हावापानी र उच्च उत्पादनका आधारमा आमचोक गाउँपालिकालाई एभोकाडो र कफी खेतीको पकेट क्षेत्रका रुपमा विकास गर्नु उपयुक्त मानिएको हो ।

एभोकाडो र कफीका फाइदा
एभोकाडोको नियमित सेवनले स्वास्थ्य र पौष्टिकतामा हुने फाइदा धेरै छन् भने आर्थिक रुपमा हुने फाइदा अझ धेरै छन् । एभोकाडो पोषणको उच्च स्रोत हो । केरामा भन्दा बढी पोटासियम र केही सोडियम पाइने भएकाले एभोकाडो सेवनले मुटु रोगीहरुलाई फाइदा पु¥याउने मात्र होइन, यसले मुटुलाई स्वस्थ राख्नसमेत मद्दत गर्छ । एभोकाडो फाइबरको पनि राम्रो स्रोत हो भने यसमा भिटामिन ए, सी र क्याल्सिय पाइन्छ । यसको सेवनले शरीरमा कोलेस्टोरल नियन्त्रण हुनुका साथै रगत सफा राख्न सहयोग मिल्छ । एभोकाडोको फल सिधै खाने वा यसलाई क्रिमको रुपमा प्रयोग गर्ने मात्र होइन, यसबाट हुने अन्य औद्योगिक उत्पादन धेरै छन् । यसबाट उच्च स्तरका चकलेट, जुस, जाम, जेली, वाइन आदि बनाइन्छ भने सौन्दर्य प्रसाधनका सामग्री उत्पादन गर्न कच्च पदार्थको रुपमा एभोकाडोको प्रयोग हुन्छ । पोषणयुक्त भएकाले स्वदेशमै एभोकाडोको माग उच्च छ भने धेरै औद्योगिक उत्पादनका लागि कच्च पदार्थ भएकाले यसको अन्तर्राष्ट्रिय बजार असीमित छ ।
यसै गरी कफी सेवनले शरीरमा अल्छीपन हटाई स्पूmर्ति ल्याउँछ । पेय पदार्थहरुमध्ये संसारमै उच्च सम्मान पाएको वस्तु हो कफी । संसारमा सबैभन्दा ठुलो व्यापार पेट्रोलियम पदार्थ मानिन्छ भने बिक्रीका हिसाबले विश्वभर फैलिएको कफी दोस्रो वस्तु हो तर यी दुईबीच ठुलो फरक छ । भूगर्भबाट निकालिने पेट्रोलियम पदार्थ चाहेअनुसार बढाउन सकिन्न तर जमिनमा फलाइने कफी चाहेअनुसार उत्पादन बढाउन सकिन्छ । कफीमा अत्यधिक पाइने क्याफिन तङ्खवले शरीरलाई उत्तेजित बनाउँछ, जसले मानसिक र शारीरिक थकान मेटाउँछ, अल्छीपन र निद्रा कम गराउँछ । कफीमा ग्लुकोजको रुपमा कार्बोहाइड्रेट, नाइट्रोजिनस कम्पाउन्डको रुपमा प्रोटिन, क्लोरोजेनिक एसिड, बास्ना (भोलाटाइल कम्पाउन्ड) र कार्बोक्सिलिक एसिड, एन्टिअक्सिडेन्ट जस्ता अन्य धेरै रसायन पाइन्छन् । नियमित कफी सेवनले पार्किन्सनका रोगीलाई आराम दिने मात्र होइन, मधुमेह र मुटु रोगीलाई मद्दत पु¥याउँछ भने क्यान्सरको चुनौती सामना गर्न निकै सहयोग गर्छ ।
गाउँपालिकाको भूमिका
आमचोक गाउँपालिकाले सर्वप्रथम एभोकाडो र कफीको पकेट क्षेत्र घोषणा गरी यिनको विस्तारका लागि योजनासहित अगि बढ्नुपर्छ । छहारी चाहिने कफीलाई एभोकाडो खेतीभित्र लगाइने बालीको रुपमा नमुना कार्यक्रम तयार गरी एउटै जमिनबाट दोब्बर उत्पादन हुने कृषि व्यवसाय अपनाउँदा निकै फाइदा हुन्छ । यसका लागि गाउँपालिकाले निम्न कार्यहरु निरन्तर अगि बढाउनुपर्छ ।
नर्सरी स्थापना ः कुनै पनि फलपूmल तथा वनस्पतिको उत्पादनलाई बृद्धिका लागि नर्सरी स्थापनालाई प्रमुख प्राथमिकता दिनुपर्छ । यही कारणले गाउँपालिकाले घोषणा गरेको एभोकाडो र कफी उत्पादन कार्यक्रम सफल पार्न सर्वप्रथम यिनको प्रशस्त बिरूवा अत्यावश्यक हुन्छ । त्यसका लागि नर्सरी स्थापना र व्यवस्थापन अनिवार्य हुन्छ । यसैले एभोकाडो तथा कफीको नर्सरी स्थापनामा गाउँपालिकाले पहिलो प्राथमिकतासाथ अगि बढ्नुपर्छ ।
साइनबोर्डहरु राख्ने ः आमचोक गाउँपालिकाले आफ्नो क्षेत्रमा कफी तथा एभोकाडोको पकेट क्षेत्र निर्माण गर्ने निर्णय गरिसकेपछि यस क्षेत्रलाई कफी तथा एभोकाडोमय बनाउन कफी तथा एभोकाडो खेती गर्ने तरिका, यिनबाट लिन सकिने फाइदा एवं मूल्य शृङ्खलाका विषयहरुमा फोटोहरुसहितका ठुलठुला साइनबोर्डहरु सार्वजनिक तथा उच्च महङ्खवका सडकहरुमा राखिनुपर्छ । यसले आमगाउँपालिकावासीलाई निकै सजिलो हुन्छ भने अन्यत्रबाट आउने मानिसहरुका लागि समेत महङ्खवपूर्ण सन्देश जानेछ ।
सचेतना कार्यक्रम ः एभोकाडो तथा कफी खेती विस्तारका लागि गाउँपालिकाले परिमार्जित कृषि प्रणाली तथा व्यावसायिक खेतीबारे गाउँवासीलाई निरन्तर चेतना विस्तार गर्नुपर्छ । यसका लागि खेतीसम्बन्धी तालिम, प्रशोधनसम्बन्धी प्रशिक्षण, अवलोकन भ्रमण तथा व्यवसायसँग सम्बन्धित व्यक्तिहरुलाई प्रविधि विस्तारका लागि सचेत गराई सिप सिकाउने र व्यवहारमा कार्यान्वयन गर्न उत्साहित गर्नुपर्छ । यसका लागि गाउँपालिकाले सकेसम्म आफ्नै स्रोत–साधान परिचालन गर्नुपर्छ ।

सूचना केन्द्र स्थापना ः विश्वमै उच्च चर्चा पाएका वनस्पति हुन् एभोकाडो र कफी । आधुनिक प्रविधिमा पहुँच पु¥याउन सके यिनबारे प्रशस्त सूचना लिन सकिन्छ तर नेपालमा भने हालसम्म पनि एभोकाडो र कफी खेतीबारेका कुनै सूचना आधिकारिक रुपमा प्रवाह गर्ने गरिएको छैन । आमचोक गाउँपालिकाले पकेट क्षेत्र निर्माण गरिसकेपछि एभोकाडो र कफीसम्बन्धी बढीभन्दा बढी जानकारी सर्वसाधारण सबैमा उपलब्ध गराउन व्यवस्थित सूचना केन्द्र स्थापना गरिनुपर्छ । व्यावहारिक रुपमा एभोकाडोमुनि कफी खेती गरिएका नमुनाहरुसमेत पेस गर्नुपर्छ । एभोकाडो तथा कफीबारे लेखिएका पुस्तक, पुस्तिका, ब्रसरहरुसमेत सूचना केन्द्रमा राखिनुपर्छ । यसै गरी फोटो, पोस्टर एवं कफी र एभोकाडो सम्बन्धमा उत्पादन गरिएका भिडियोहरुसमेत सूचना केन्द्रमा राखी सबैलाई सुसूचित गर्न सकिन्छ । यस्तो सूचना केन्द्रलाई आकर्षणको रुपमा स्थापना गरी यसलाई कृषि पर्यटनसँग जोड्न सकिन्छ ।
प्रशोधन केन्द्र स्थापना ः कुनै पनि कृषि उत्पादन अप्रशोधित रुपमा बिक्रीवितरणमा लैजाँदा सोचे जस्तो वा चाहे जस्तो फाइदा हुँदैन । त्यसबाट उच्च फाइदा लिन उत्पादित कृषि वस्तुलाई आवश्यक प्रशोधन गर्नुपर्छ । हालसम्म नेपालमा विभिन्न कृषि वस्तुको व्यावसायिक खेती त गरिएको छ तर त्यसलाई प्रशोधन गर्ने उद्योगतिर लगानी गर्ने संस्कारै विकास भएको छैन । त्यसैले आमचोक गाउँपालिकाले आपूmलाई एभोकाडो र कफी उत्पादनको पकेट क्षेत्र घोषणा गरेपछि यिनको प्रशोधन केन्द्र स्थापना गर्न लागि पर्नुपर्छ, प्रशोधन उद्योगहरु स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ । यसका लागि गाउँपालिकाले अन्य सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वय गरी प्रशोधन उद्योग खोल्न सक्छ ।
प्रवर्धनात्मक कार्यक्रम ः गाउँपालिकाले एभोकाडो तथा कफी खेती निरन्तर विकास र विस्तारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहनुपर्छ । यिनको खेतीमा आएको परिवर्तन, बिरूवा उत्पादन र फल वृद्धिमा आएका नयाँ प्रविधि, प्रशोधन र अन्य वस्तु उत्पादनमा भएको विकासबारे स्थानीयवासी कृषक र अन्य जनसाधारणलाई जानकारी गराई कफी र एभोकाडो खेतीलाई मिसनको रुपमा स्थापना गरिएको हुनाले यसको प्रवर्धनमा गाउँपालिकाले निरन्तर कार्यक्रम चलाइरहनुपर्छ । यसबाट आफ्नै स्रोतसाधन विकास र अधिकतम प्रयोग हुन्छ भने यसबारे सर्वत्र चेतना पैmलन्छ । सुरू सुरूमा कृषकहरुबाट उत्पादित वस्तुहरुको बजारीकरणका लागि गाउँपालिकाले महङ्खवपूर्ण भूमिका खेल्नुपर्छ । तर, अहिले सामाजिक सञ्जाल तथा मिडियाको राम्रो पहुँच र उपस्थितिले बजार प्रवर्धन कार्य निकै सजिलो भएको छ ।
गाउँपालिकालाई हुने फाइदा
एभोकाडो तथा कफीको पकेट क्षेत्र निर्माण गरेपछि गाउँपालिकालाई निकै फाइदा हुनेछ । खासमा जानी नजानी वा परम्पराको रुपमा धानसँग मास, भटमास रोप्ने, मकैमा सिमी लगाउने आदि गरिए पनि नेपालमा दुईतले खेती प्रणालीबारे सरकारले प्रोत्साहन र प्रवर्धन अहिलेसम्म गरेको छैन । यसैले आमचोक गाउँपालिकाले चलाउने यो अभियान नेपालकै नमुना हुनेछ । सोही कारण मानिसहरु यहाँ आकर्षित हुन सक्छन् । यस खालका कार्यक्रम हेर्न आउने सरोकारवाला निकाय, नीति निर्माण तहमा रहेका व्यक्ति, दृश्यावलोकनमा आउने आन्तरिक तथा वाह्य पर्यटक आदिको लर्को लाग्नेछ । आमचोक गाउँपालिका निवासीहरुले पाहुनाको सत्कार तथा खान, बस्न र घुम्न गरिने व्यवस्थापनले होम स्टे, होटल, रेस्टुराँ, रिसोर्टहरु राम्ररी सञ्चालन हुनेछन्, जसबाट सहरी क्षेत्र मात्र होइन, ग्रामीण जनताले पनि दीर्घकालीन फाइदा लिन सक्नेछन् । ग्रामीण जनताले उच्च आम्दानी गर्नु भनेको गाउँपालिकाको आम्दानी हो । त्यसैले आमचोक गाउँपालिकाले एभोकाडो तथा कफीको व्यावसायिक खेतीलाई प्रमुख कार्यक्रमको रुपमा तत्काल अगि बढाउनुपर्छ ।
निष्कर्ष
भोजपुर जिल्लाका नौवटा स्थानीय तहमा ११ बालीहरुको पकेट क्षेत्र सिफारिस गरिएको छ । अब प्रश्न उठ्छ— के भोजपुरमा अन्य बालीहरुको खेती गर्नै सकिन्न ? यसै गरी भोजपुरको प्रमुख बालीको रुपमा देखिएको सुन्तलाबारे लेखक बोल्दै बोलेन भन्ने सन्देश पनि जान सक्छ । भोजपुर जिल्लामा सबै प्रकारका कृषि वस्तु खेती गर्न सकिन्छ तर विशिष्टीकृत उत्पादन भने यहाँ सिफारिस भएका पकेट क्षेत्र बनाउन उपयुक्त बालीले दीर्घकालसम्म बढी आम्दानी लिन सकिन्छ । शिक्षा क्षेत्रमा पनि सबै विषय जान्नेभन्दा एउटा विषयमा विशेषज्ञता हासिल गरेकालाई त्यस विषयमा प्राथमिकता दिने चलन छ । यसैले विधावारिधिको विषय राखिएको हो । त्यस्तै कृषि उत्पादनमा पनि विशिष्टीकरण गर्नुपर्ने अवस्था आएको छ । व्यावसायिक कृषि उत्पादनका लागि धेरै वस्तु होइन, सीमित वस्तु धेरै उत्पादन गर्नुपर्छ ।

भोजपुर जिल्लाका स्थानीय तहमा जति फलपूmल तथा वनस्पतिको खेतीबारेका लागि पकेट क्षेत्र बनाउने निर्णय गरियो, ती सबैमा अन्य थुप्रै प्रकारका कृषिजन्य वस्तुहरुको पनि खेती गर्न सकिन्छ । ती वस्तुको आवश्यकता तथा महङ्खवलाई मध्यनजर गरी व्यावसायिक उत्पादनमा ध्यान दिनुपर्छ । उदाहरणका लागि साल्फाचिलिछो गाउँपालिकालाई चिराइतो अथवा भोजपुर नगरपालिकाले तेजपातबाहेक अन्य खेती गर्नै हुँदैन भन्ने होइन, भूबनोट, हावापानी, जमिनको उपलब्धता, उत्पादन विस्तारमा सम्भाव्यता आदिलाई मध्यनजर गरी अधिक उत्पादन हुने बालीबाट आम्दानी लिन सकिन्छ । आमचोक गाउँपालिकाले व्यावसायिक कफी खेती गर्दा यसका लागि चाहिने छहारी प्रयोजनका लागि एभोकाडोको व्यावसायिक खेती गर्दा दुईतले उत्पादनबाट उच्च फाइदा लिन सक्छ । यसैले सजिवन, तेजपात, एभोकाडो, चिउरी, आरूबखडा, लप्सी, मेकाडेमिया नट जस्ता बालीहरु लगाउँदा यसैको मुनि कफी खेती गर्न सकिन्छ । कफी बाली र छहारीको रुपमा लगाइने अन्य बालीहरु गरी दुई तलाको खेती भयो भने कफी बालीमुनि अन्य केही बालीहरुसमेत लगाएर तीनतले खेतीसमेत गर्न सकिन्छ । भोजपुर जिल्लाले यस्तो प्रविधिबाट प्रशस्त फाइदा लिनुपर्छ । सिफारिस गरिएबाहेक कुनै पनि गाउँ वा नगरपालिकाले अन्य बालीमा हातै हाल्नु नहुने भनेको होइन । खाली उत्पादनमा विशिष्टीकरण गरी उच्च आम्दानी लिने कुरा मात्र हो ।
अन्न बाली, तरकारी बाली तथा फलफूल बालीहरुबारे धेरै कुरा उल्लेख गरिरहनु पर्दैन किनभने यी सबै क्षेत्रका साझा उत्पादन हुन् । सिफारिस भएका बालीहरुको व्यावसायिक खेती गरिँदा पनि यी सबै बाली लगाउन सकिन्छ । भोजपुर जिल्लाले पशुपालनमा पनि कार्य गर्न सक्छ । धराने कालो बङ्गुरको उत्पादन र प्रशोधनमा व्यावसायिक कार्य गर्न भोजपुरले नै अग्रसरता लिनुपर्छ । यसै गरी सम्भावनाका आधारमा माछा पालनका लागि समेत भोजपुर जिल्ला निकै अगाडि आउनुपर्छ । बाख्रा पालनको सम्भावना उल्लेख गरिरहने विषय होइन, भोजपुरसँग यस मामलामा धेरै पुरानो अनुभव छ । सिँचाइको बारेमा यहाँ कुरै उठेन किनकि सबै बालीका लागि सिँचाइ आवश्यक पर्छ । प्रमुखतः यसमा परिवर्तनकामी कार्यहरुबारे मात्र छलफल गरिएको हो ।
भोजपुर जिल्लामा व्यावसायिक कृषि उत्पादनका लागि जति पनि पकेट क्षेत्रबारे विषय प्रस्तुत भए, ती सबैको माग नेपाली बजारमा मात्र होइन, विश्व बजारमा झन् धेरै छ । यस्ता कुरालाई हृदयङ्गम गरे भोजपुरले सिङ्गो नेपाललाई कृषिमा उत्पादनमा महङ्खवपूर्ण सन्देश दिन सक्छ ।
(लेखक कृषि पर्यटन अभियन्ता हुनुका साथै कृषि परामर्शदाता समेत हुन । कृषिका दर्जन पुस्तक बजारमा ल्याएका उनी कृषि पर्यटन अभियान लिएर नेपालका ७७ वटै जिल्ला पुग्ने उनी नेपालको पहिलो नागरिक पनि हुन ।)


