संक्रमणकाे ग्राफ फेरि उकालाे, उपत्यकाका अस्पताल भरिए

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँजसो बिरामी बढेका हुन् ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताललगायत संस्थामा बिरामीको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

दैनिक संक्रमित बढेपछि कोभिड–१९ उपचारका लागि छुट्याइएका सघन उपचारकक्ष (आइसीयु), हाइडिपेन्डेन्सी युनिट (एचडीयु), भेन्टिलेटर र साधारण शय्या भरिएका छन् ।
सशस्त्र प्रहरी बल अस्पतालका डा प्रवीण नेपालले अस्पतालका सबै शय्या भरिएको जानकारी दिए । उजका अनुसार १० दिन यतादेखि बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्या भरिएका हुन् । ‘संक्रमित आउने क्रम बढेकाले हामीसँग भएका २०० शय्या भरिन्छन् होला’, उनले भने, ‘अहिले बिरामी पनि पहिलेका जस्तै श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने समस्या रहेको छ ।’

उनका अनुसार आइसीयूमा २०, एचडीयूमा ५० र साधारण शय्यामा १३० जना बिरामी रहेका छन् । अहिले संक्रमणको दोस्रो लहर चलिरहेको छ । दोस्रो लहर गत चैतबाट शुरु भएको हो । दोस्रो लहरसँगै बिरामी बढ्न थालेका हुन् । दोस्रो लहरमा संक्रमणलाई ज्वरो आउने, निमोनिया हुने, श्वासप्रश्वासमा समस्या आउनेजस्ता समस्या देखिएको छ । संक्रमणको दोस्रो लहर गत वैशाख अन्तिम सातामा उच्च विन्दुमा पुगेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुला राखेर जनस्वास्थ्यका मापदण्ड लागू नगरेमा असोज १५ पछि संक्रमण तेस्रो लहर आउने चेतावनी दिएको छ ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा जागेश्वर गौतमले विगत दुई हप्तादेखि संक्रमण बढ्दै गएको बताए । उनले निषेधाज्ञा खुकुलो भएको, भीडभाड बढेको र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा बिरामी बढ्दै गएको बताए ।

उनका अनुसार अस्पतालमा १०० बिरामी रहेका छन् । तीमध्ये ३५ जना आइसीयू र चार जना भेन्टिलेटर र अन्य एचडीयूमा रहेका छन् । सङ्क्रमित बढ्ने जोखिमलाई ध्यानमा राखेर अस्पतालले एक हजार शय्या तयारी अवस्थामा राखेको उनको भनाइ छ । यहाँ एक सय आइसीयू र १०० भेन्टिलेटर रहेका छन् ।

उनले सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि अस्पतालमा २० टनको तरल अक्सिजन र दुईवटा अक्सिजन प्लान्ट जोडिएको जानकारी दिए । यस्तै थप एकवटा अक्सिजनको प्लान्ट जोड्ने तयारीमा अस्पताल रहेको छ ।

शुक्रराज अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले निषेधाज्ञा खुलेसँगै बिरामी बढ्दै गएको बताए । उनका अनुसार अहिले २२ जना आइसीयू, २० भेन्टिलेटर र ३५ जना कोभिड–१९ शय्यामा रहेका छन् । यस्तै पाटन अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा आशिष श्रेष्ठका अनुसार कूल १५१ बिरामीमध्ये २१ आइसीयूमा र १० भेन्टिलेटरमा रहेका छन् । यस्तै विगत २४ घण्टामा पाटन अस्पतालमा २२ सङ्क्रमित भर्ना भएका छन् । पाटनमा ३० आइसीयू, १५ भेन्टिलेटर शय्या रहेका छन् ।

काठमाडौं उपत्यकामा आठ हजार ८९५ सक्रिय संक्रमित रहेका छन् । देशभरि १५७ अस्पताल कोभिड–१९ का लागि सूचीकृत गरिएका छन् । ती अस्पतालमा दुई हजार ६०० आइसीयू रहेका र ६३० थप गर्ने प्रक्रियामा छन् । यस्तै ९०० भेन्टिलेटर र दुई हजार ७५ एचडीयू रहेका छन् । उपत्यकाका सरकारी अस्पतालमा ३११ आइसीयू र १३९ भेन्टिलेटर र साधारणसँगै एचडीयू दुई हजार ६६ शय्या रहेका छन् ।

देशभरिमा ६९० जना आइसीयु र १७५ भेन्टिलेटर, तीन हजार २२४ जना संस्थागत आइसोलेशन र २८ हजार ४०५ जना होम आइसोलेशनमा रहेका छन् । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले शय्या भरिन थालेको बताए । उनले अहिले १२२ जना सङ्क्रमित बिरामी उपचाररत रहेको जानकारी दिए । तीमध्ये ९१ जना साधारण शय्यामा, अक्सिजन दिएर आइसीयूमा ११ र भेन्टिलेटरमा १८ र दुई जना आकस्मिक सेवामा उपचार गराइरहेका छन् ।

उनले बिरामी आउन थालेकाले अब २२ वटा साधारण शय्या र एक वटा मात्र आइसीयू शय्या खाली रहेका बताए । अस्पतालमा १४५ शय्या कोभिड–१९ का सङ्क्रमितका लागि छुट्याइएको छ । त्रिवि शिक्षण अस्पतालमा पाँच एचडीयु र २२ आइसीयू बालबालिकाका लागि छुट्याइएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भीडभाड बढेकाले सङ्क्रमितसँगै बिरामी पनि बढेको बताए । ‘अहिले केही दिनयता समाजमा सङ्क्रमण बढेका पाइएको छ, उनले भने, ‘संक्रमित दिनप्रतिदिन बढेका छन् ।’ उनले निषेधाज्ञा खुकुलो भए पनि सबैले जनस्वास्थ्यका मापदण्ड लागू गर्न आग्रह गरे। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।