निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमित बढे

चितवन, जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनले आज यहाँ पत्रकारसँग भर्चुअल माध्मबाट आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सो सम्बन्धी तथ्याङ्क सार्वजनिक गरिएको हो ।

कार्यालयका अनुसार गत फागुनमा ९६ जना सङ्क्रमित रहेकोमा क्रमशः बढेर वैशाखमा सो सङ्ख्या चार हजार १७७ पुगेको थियो । वैशाखमा निषेधाज्ञा गरिएसँगै सङ्क्रमितको सङ्ख्या क्रमशःघट्दै गएको थियो ।

कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार वैशाख १५ गतेदेखि लागू गरिएको निषेधाज्ञाका कारण जेठमा सो सङ्ख्या घटेर तीन हजार ८८१ मा झरेको थियो । सो सङ्ख्या असारमा तीन हजार ४२ मा झरेको उहाँले जानकारी दिनुभयो । साउन महिनाको २४ गतेसम्म आइपुग्दा पुनः सङ्क्रमित बढेका छन् । साउनमा मात्रै तीन हजार ९५१ जना सङ्क्रमित भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार वैशाख महिनादेखि साउन २४ गतेसम्म ६६ हजार ३८४ जनाको पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणका क्रममा पाँच हजार ६०३ जनामा सङ्क्रमण पुष्टि भएको छ।

यस्तै एन्टिजेन विधिबाट सात हजार ७५९ को परीक्षण गरिएकोमा दुई हजार ७०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा रहेका विभिन्न अस्पतालमा उपचारका लागि आएका र लक्षण देखिएर परीक्षणका लागि आएकामध्येबाट सो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यहाँ सङ्क्रमित हुनेमध्ये सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका रहेका छन् । यस समूहका दुुई हजार ४१० जना पुरुष र दुई हजार ६४२ जना महिला रहेका छन् । अन्य उमेर समूहमा भने पुरुष धेरै सङ्क्रमित हुने गरेको तिवारीले जानकारी दिनुभयो ।

यस्तै ३० देखि ३९ वर्ष उमेर समूहको दोस्रो, ४० देखि ४९ उमेर समूहको तेस्रो र ५० देखि ५९ वर्ष उमेर समूहका चौंथो क्रममा रहेको सो अवसरमा जानकारी दिइयो । जिल्लामा बालबालिका र ८० वर्ष भन्दामाथिको उमेरका कम सङ्ख्यामा सङ्क्रमित हुने गरेका छन् ।

जिल्लामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका समयमा भन्दा खुकुलो भएको समयमा सङ्क्रमित स्थानीय तहमा बढेको छ । पूर्ण निषेधाज्ञाको समय अवधि वैशाख १५ गतेदेखि असार १४ गतेसम्म भरतपुर महानगरपालिकामा ६ हजार ३०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै खैरहनी नगरपालिकामा ४२७, माडी नगरपालिकामा ३६०, रत्ननगरमा ७२०, राप्तीमा ३१२, कालिका नरपालिकामा ३४६ र ईच्छाकामना गाउँपालिकामा १४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

निषेधाज्ञा खुकुलो भएसँगै असार १५ गतेदेखि साउन २४ गतेसम्म भरतपुर महानगरपालिकामा तीन हजार ६६४, खैरहनी नगरपालिकामा ४१३, माडीमा ४१६, रत्ननगरमा ५७२, राप्तीमा २७९ र कालिकामा २८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ईच्छाकामना गाउँपालिकामा निषेधाज्ञा खुकुलो भएसँगै ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । तिवारीका अनुसार जिल्लाको अस्पतालमा उपचारका क्रममा हालसम्म मृत्यु हुनेको सङ्ख्या ७८९ पुगेको छ । जसमध्ये ४३९ जना जिल्ला बाहिरका र ३५० जना जिल्लाभित्रका रहेका छन् ।

जिल्लामा मृ,त्यु हुनेमध्ये २८ जनाको होम आइसोलेशनमा मृ,त्यु भएको हो । अस्पतालमा ३२२ जनाको मृ,त्यु भएको तथ्याङ्कले देखाएको छ । विसं २०७८ सालमा मात्रै जिल्लाका अस्पतालमा ५९९ जनाको मृ,त्यु भएको छ । ३६१ जना जिल्ला बाहिरका र २३८ जना जिल्लाका रहेका छन् ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कोरोना सङ्क्रमण बढेसँगै निषेधाज्ञामा कडाइ गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण बढ्दै जाँदा निषेधाज्ञामा कडाइ गर्दै लगिएको छ । सबैले निषेधाज्ञाको नियम कडाइका साथ मान्ने हो भने नियन्त्रणमा सहज हुन्छ ।” जिल्लामा सङ्क्रमणको उच्च जोखिम रहेकाले अहिलेकै अवस्था भए भयावह हुनसक्ने उहाँको भनाइ थियो । स्थानीय प्रशासनले हरेक उपाय अपनाउँदा पनि अपेक्षाकृत सुधार हुन नसकेको उहाँले बताउनुभयो । बिरमीको चाप र सङ्क्रमितको अवस्था हेरेर अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖