अत्यावश्यकीय सेवा क्षेत्रका व्यवसायीले पाए खोप

बागलुङ, ५ भदौ । अत्यावश्यकीय सेवा क्षेत्रका व्यवसायीले कोभिड–१९ विरुद्धको खोप पाएका छन् । खाद्य, किराना, तरकारी, फलफूल, ग्यास, दूध, माछामासु, होटल व्यवसायीलगायतले खोप लगाएका हुन् । कसैले पूर्ण मात्रा पाइसके भने कोही दोस्रो खोपको प्रतिक्षामा छन् ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले छ सयभन्दा बढी व्यवसायीले खोप लगाइसकेको बताउनुभयो । “व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा खोप लगाउन पाउने प्रबन्ध गरिएको छ”, उहाँले भन्नुभयो, “सञ्चालकलाई मात्र नभएर व्यवसायमा आबद्ध कर्मचारी र कामदारका लागि पनि खोप माग गरेका छौँ ।” अत्यावश्यक सेवामा संलग्न व्यवसायीलाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराइएको अध्यक्ष राजभण्डारीको भनाइ छ । सङ्घले जिल्ला खोप समन्वय तथा अनुगमन समितिसँग मिलेर व्यवसायीलाई खोप दिलाउन पहल गरेको थियो ।

यसअघि होटल तथा रेष्टुराँ व्यवसायी सङ्घलगायत व्यवसायीका सङ्घ सङ्गठनले खोप पाउनुपर्ने माग गर्दै आएका थिए । पहिले छुटेका अत्यावश्यक सेवामा संलग्न व्यवसायीलाई आजदेखि खोप लगाउन थालिएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताउनुभयो । सञ्चालकको व्यवसाय दर्ता प्रमाणपत्र र सक्कल नागरिकताका आधारमा खोप दिइएको उहाँको भनाइ छ । व्यवसायीसँगै पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिलाई यही भदौ ८ र ९ गते दोस्रो खोप लगाइने भएको छ ।

यस्तै खोप लगाउन छुटेका वित्तीय संस्थाका कर्मचारी, स्नातक र स्नातकोत्तर तहको परीक्षामा सहभागी हुने विद्यार्थी तथा कोभिसिल्डको पहिलो मात्रा लगाई दोस्रो खोप लगाउन बाँकी ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई पनि खोप दिन शुरु गरिएको छ ।

यहाँका सबै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालित छ । स्वास्थ्य कार्यालयका खोप सुपर भाइजर राजु खत्रीका अनुसार हालसम्म ५९ हजार ९३५ ले पहिलो र ४७ हजार ९०७ ले खोपको दुवै मात्रा लगाएका छन् । अझै करिब एक लाख जनसङ्ख्यालाई खोपको पहुँचमा ल्याउन बाँकी रहेको सुपरभाइजर खत्रीको भनाइ छ ।

खोप अभियानकै बीचमा कोरोना सङ्क्रमणको जोखिम बढेपछि जिल्लामा अहिले कडा निषेधाज्ञा छ । गत साउन २८ गतेदेखि जारी निषेधाज्ञाका कारण अत्यावश्यकबाहेकका सबै सेवा क्षेत्र, बजार, व्यवसाय र यातायात बन्द छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।