निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच

बागलुङ, १० भदौ । निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ । सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको हो । बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार उपल्लाचौरमा २५ र सोमबार नारायणचोकमा ५० जनाको एन्टिजिन जाँच गरिएको थियो । त्यसमध्ये नारायणचोकमा गरिएको परीक्षणमा एक जनालाई कोरोना पोजेटिभ देखिए पनि बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ । “एन्टिजिन परीक्षणलाई हरेक दिन निरन्तरता दिन्छौँ, बाटैमा जाँच गर्दा निषेधाज्ञामा बिनाकाम हिँडडुल गर्ने पनि निरुत्साहित हुन्छन्”, खनालले भन्नुभयो ।

यसअघि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले एन्टिजिन परीक्षणको दायरा बढाउने निर्णय गरेको थियो । कोरोना परीक्षण गर्न नमान्ने, हिच्किचाउनेलाई पनि सम्झाइबुझाइ गरेर परीक्षण गर्ने गरिएको छ ।

एन्टिजिन विधिबाट परीक्षण गर्दा तुरुन्त रिपोर्ट आउँछ । लक्षण भएका व्यक्तिमा मात्र एन्टिजिनले पोजेटिभ नतिजा देखाउने गरेको जनस्वास्थ्य अधिकृत खनालले बताउनुभयो । कोरोना सङ्क्रमितको छिटो पहिचान र समुदायमा महामारीको स्थिति पत्ता लगाउन एन्टिजिन विधि उपयुक्त मानिन्छ ।

जिल्लामा हालसम्म तीन हजार ४५५ को एन्टिजनबाट कोरोना जाँच गरिएको छ भने २२ हजार २८७ को पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

कूल परीक्षणमध्ये सात हजार ४२१ मा कोरोना पुष्टि भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या भने ३७० मात्र छ । यहाँ कोरोना सङ्क्रमणका कारण ६५ जनाको ज्यान गएको छ । सङ्क्रमणको जोखिम घटाउन गत साउन २८ गतेदेखि यहाँ कडा निषेधाज्ञा छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।