पर्यटक आकर्षित गर्दै गोसाइँ ताल

राजु विश्वकर्मा/लहान, १५ भदौ । केही वर्षअघिसम्म झौवाई खोल्सीको रुपमा परिचित सिरहाको लहान नगरपालिका– १५ बानोस्थित जङ्गल क्षेत्रमा यतिबेला पुग्दा तालको झझल्को दिने गरी संरचना तयार गरिएको छ । करिब १५ बिघा क्षेत्रफलमा फैलिएको सो खोल्सीलाई संरक्षण गरी स्थानीय युवाको सक्रियतामा मर्मत गरिएको हो । ताल र तालकै बीचमा मन्दिर बनाइएको छ । तालमा डुङगा शयरको व्यवस्था गरिएको छ ।

आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले उक्त खोल्सीलाई स्थानीय युवाले धार्मिक पर्यटकीयस्थल बनाउन सक्रियता बढाएपछि जङ्गल क्षेत्रमा अवस्थित सो क्षेत्र पर्यटकीयस्थलको रुपमा विकसित हुन थालेको हो ।

कोरोना कहर सकिएपछि पर्यटन वर्ष मनाउने तयारी गरिरहँदा बानोका युवाले करिब १५ बिघा क्षेत्रफलमा फैलिएको सो खोल्सीलाई संरक्षण गरी धार्मिक पर्यटकीयस्थल बनाउन लागि परेका हुन् । स्थानीय गाउँलेद्वारा २०३३ सालदेखि संरक्षित सो खोल्सीलाई पर्यटकीयस्थल बनाउन गोसाइँडाँडा ताल नामाकरण गरिएको छ । संरक्षित वनभित्रबाट बग्दै आएको पानी झौवाई खोल्सीमा जमेपछि स्थानीयवगासीले बाँध बनाएर पोखरीको रुप दिएर सिँचाइको रुपमा उपयोग गर्दै आएका थिए ।

लहान बजारबाट करिब पाँच किलोमिटरको दूरीमा रहेको बानोमा थारु, मुसहरलगायतका जातजापतको ११० घरधुरी छन् । सांसद प्रदीप गिरीको संसदीय कोषबाट रु १५ लाख, डिभिजन वन कार्यालय लहान सिरहाबाट रु १० लाख र भू–संरक्षण कार्यालयको रु ६ लाख ५० हजारको सहयोगमा स्थानीयले त्यही खोल्सीबाट र पोखरीबाट यतिबेला ताल बनाएको रुपमा पुननिर्माण गरेका छन् ।

सो खोल्सीबाट बनाएको ताललाई स्थानीयवासीको सक्रियतामा बनेको चुरियाडाँडा सामुदायिक वन उपभोक्ता समिति बनाएर संरक्षण गरिएको छ । सो ताललाई पोखराको मिनी फेवातालको झल्को दिने गरी आवश्यक पूर्वाधार तयार गर्दै पर्यटकलाई आकर्षित गर्ने थप योजनाहरु बनाएको स्थानीय युवा श्रवण चौधरीले बताउनुभयो ।

“हामीले पर्यटक तान्न पहिलो चरणमा खोल्सीको नाम परिवर्तन गरेर गोसाइँडाँडा नामाकरण गरेका छौं”, उहाँले भन्नुभयो, “खोल्सी हुँदै पोखरी र पोखरीबाट तालमा रुपान्तरण गराएको र तालको पूर्वी–उत्तरी चुरेडाँडामा ऐतिहासिक गोसाइँ थान रहेकाले तालको नामाकरण पनि त्यही अनुसार राखिएका छौं ।”

“प्रत्येक वर्ष असार १ गतेका दिन गोसाइँ थानमा पूजा गर्ने परम्परा रहेको छ”, अर्का स्थानीय युवा सञ्जीव चौधरीले भन्नुभयो, “ यहाँ पूजा गरेपछि समयमै वर्षा हुने र धानखेती गर्ने बानोवासीको चलन छ, त्यही परम्परालाई कायम राख्न तालको नाम नै गोसाइँ ताल नामाकरण गरेका छौं ।” लामो समयको प्रयासमा निर्माण गरिएको सो तालमा अहिले तत्कालका लागि दुई वटा डुङगाको व्यवस्था गरिएको छ ।

तालकोबीच भागमा रहेको ढिस्कोमा पुग्न बोटिङको व्यवस्था गरिएको र चारैतिर चुरेक्षेत्रले घेरिएको ताल वरपर विभिन्न स्थानमा पर्यटकलाई आराम गर्न २० वटा विश्रामस्थल निर्माण गरिएको गोसाइँताल संरक्षण समितिका अध्यक्षसमेत रहनुभएका स्थानीय युवा अभिनन्द चौधरीले जाकारी दिनुभयो ।

“निर्माण गरिएको विश्रामस्थलबाट बसेर पर्यटकले तालसँगै चुरे वनक्षेत्रको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो,“विश्रामस्थलमै बसेर जङ्गल क्षेत्रभित्रका चराचुरुङ्गीको चिरबिर ध्वनीको आनन्दसमेत उठाउन सक्छन ।” युवाहरुको सक्रियतामा तालको संरक्षण गरेर बोटिङको व्यवस्था गरेपछि तालसम्म आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको अध्यक्ष चौधरीको कथन छ ।

यहाँ आउने पर्यटकको धार्मिक आस्थालाई जोगाउन गोसाइँडाँडा तालको टुप्पोमा स्थापना गरिएको महादेव मन्दिरमा भक्तजन जल चढाउन आउने गरेको स्थानीयवासी बताउछन् । “हामीले गोसाइँ ताललाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न गुरुयोजना तयार गरेका छौं”, अध्यक्ष चौधरीले भन्नुभयो,“ धेरै भन्दा धेरै आन्तरिक र बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्यसाथ ताल वरिपरि भ्यू टावर, बुद्ध मन्दिर, पिकनिकस्थल बनाउने योजना छ ।” त्यसका लागि सरकारी र दातृ निकायमा पहलसमेत भइरहेको उहाँको भनाइ छ ।

लहान नगरपालिका १५ ढोढनामै रहेको प्रसिद्ध राजदेवी मन्दिरमा पूजाआजा गर्न आउने श्रद्धालुलाई त्यहाँबाट करिब दुई किलोमिटरको दूरीमा रहेको सो तालको मनोरम दृश्य देखाउने योजना समेत बनाएको समितिका सदस्य आनन्द चौधरीले बताउनुभयो ।

“राजदेवी मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई तालसम्म लैजाने योजना हामीसँग छ”, उहाँले भन्नुभयो,“त्यसका लागि आवश्यक सवारीसाधनको व्यवस्थापनसँगै अन्य योजना बनाइरहेका छौं ।” आफ्नो गाउँबस्ती वरिपरिको क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन सकिए विकासको अन्य सम्भावना खुल्ने भन्दै स्थानीय युवा सक्रिय रुपमा तालको आवश्यक संरचना बनाउन लागि परेको अर्का युवा महेन्द्र चौधरीले बताउनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।