रोकिएन केराउ तस्करी, भरियामात्रै समातिने

काठमाडौं, २३ भदौ । बर्दिया प्रहरीले भारततर्फ तस्करी हुन लागेको ६१ क्वीन्टल बढी (मटर) केराउ मंगलबार मधुवन नगरपालिका–५ बाट बरामद गरेकाे छ । भे.१ त.९६५५ नम्बरको ट्याक्टरमा भारततर्फ लैजाँदै गरेको ३९ क्वीन्टल ३० किलोग्राम र तस्करी गर्न नजिकै थुपारेर राखेको २२ क्वीन्टल गरी ६१ क्वीन्टल ३० किलोग्राम केराउ प्रहरीले बराद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक गोपाल पौडेल र इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त केराउ बरामद गरेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक मधुवन–७ का २० वर्षीय रामकुमार चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । बर्दिया प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बरामद गरिएको उक्त केराउ अन्दाजी चाढे चार लाख नेपाली रुपैयाँ बराबरको रहेको बताए ।

प्रहरीले ट्याक्टरसहित केराउ र मानिसलाई आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया पठाइएको जनाएको छ । बर्दिया प्रहरीले पछिल्लो एक वर्षको अवधिमा तीन पटक गरी करिब दुई सय क्वीन्टल बढी तस्करी हुन लागेको केराउ बरामद गरेको शाहीले जानकारी दिए ।

पछिल्लो समय तस्करी हुन लागेको करिब एक करोड रुपैयाँ बराबरको केराउ नवलपरासी पश्चिम प्रहरीले बरामद गरेको थियो । ३ वटा ट्रक र ७ वटा पिकअप भेनमा लोड गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट प्रहरीले साउन १३ गते ७ सय ३० क्वीन्टल केराउ बरामद गरेको थियो ।

किन हुन्छ केराउ तस्करी ?

खुल्ला सीमानाको फाइदा उठाउँदै नेपालबाट तस्करहरूले केराउ भारत तस्करी गर्छन् । दुई देशका तस्करहरूको मिलेमतोमा तस्करी हुने केराउ नेपालमा उत्पादित केराउ भने होइन । तर, तस्करहरू नेपालमै उत्पादित केराउ भनेर भारत तस्करी गर्छन् । नेपाली व्यापारीहरूले क्यानडाबाट आयात गर्ने केराउ स्वदेशमा थोरै मात्र खपत हुन्छ ।

भारतमा नेपालबाहेकका मुलुकबाट केराउ आयात गर्न प्रतिवन्ध छ । तर, कानुनलाई छलेर भारतीय व्यापारीले नेपाली व्यापारीसँगको मिलेमतोमा विदेशबाट नेपालमा आयात गर्छन् र त्यसलाई नेपाली वस्तु भन्दै भारत भित्र्याउँछन् । तेस्रो देशबाट नेपालमा ल्याएर केराउ भारत लैजाँदा रोकावट हुँदैन । तर, नेपालबाट भारत लैजानु भनेको गैरकानुनी हुन्छ । तर, नेपाली व्यापारी र भारतीय व्यापारीहरूको साठगाँठमा सीमावर्ती जिल्लाबाट ठूलो मात्रामा केराउ तस्करी हुने गरेको छ ।

प्रदेश १ प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राई खुल्ला सीमानाका कारण केराउको तस्करी भइरहेको बताउछन् । ‘तस्करीको केराउ पक्राउ परिरहेका घटनाले पनि तस्करी भइरहेको पुष्टि हुन्छ,’ राईले भने, ‘सकेसम्म प्रहरीले पक्राउ गर्छ, चोरी तस्करी नियन्त्रण गर्नु प्रहरीको काम नै हो ।’ नेपालमा केराउ तेस्रो मुलुकबाट आउने गर्दछ । नेपालमा भित्रिएको केराउ सबै खपत हुँदैन ।

नेपाल भन्दा भारतमा प्रतिकिलो केराउ ५० रुपैयाँसम्म महंगो हुने भएकाले तस्करी बढेको प्रहरीको भनाइ छ । व्यापारीले भारत तस्करी गर्ने केराउ सीमा क्षेत्रमै भण्डारण गरेर राख्ने गरेको पाइएको छ । ‘उनीहरुले सीमा क्षेत्रमा भण्डारण गरेर राख्छन् । नेपाली भूमिमा नराख भन्न मिलेन’, एक प्रहरी अधिकारीले भने ‘त्यहीँबाट प्रहरीको आँखा छलेर रातारात तस्करी हुन्छ ।’

समातिने भरियामात्रै

प्रहरीले केराउ तस्करीको क्रममा पक्राउ गर्ने प्राय सबै भरियामात्रै हुन् । भरिया र सवारी साधनलाई प्रतिकिलो १०–१५ रुपैयाँ दिएर नेपालबाट केराउ भारत पठाउने गरिएको प्रहरीले जनाएको छ ।

भरियाहरूलाई तस्करले दोहोरो जिम्मा दिने गरेका छन् । नेपालबाट केराउ भारत पठाउने र भारतबाट खाद्यान्न र लत्ता कपडा नेपाल ल्याउने । यसरी नेपाल ल्याउँदा भारतीय तस्करहरूले उनीहरूलाई प्रति ट्रिप १ हजार रुपैयाँ भन्दा बढी दिने गरेका छन् ।

गत वर्ष कार्तिक १ गते कैलालीमा केराउ तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको ह त्या नै भयो । ह त्यामा संलग्नको आरोपमा ८ जना र केराउ तस्करीमा सघाएको आरोपमा अर्का एक जनालाई प्रहरीले पक्राउ पनि गर्‍यो ।

२५ लाख रुपैयाँ भन्दा बढीको केराउ तस्करी गर्न प्रहरीको हत्या भएको निष्कर्ष प्रहरीले निकाल्यो । तर त्यो घटनापछि पनि कैलालीबाट केराउ तस्करी भने रोकिएको छैन । कैलाली प्रहरीले त्यसपछि पनि थुप्रै केराउ बरामद गर्नुले तस्करी नरोकिएको पुष्टि हुन्छ । भारतसँगको खुल्ला सीमानाका कारण तस्करहरूले प्रहरीको आँखा छलेर केराउ तस्करी गर्ने गरेको प्रहरीको भनाइ छ । -न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।