‘मुटु दु’ख्छ गिट्टी कुट्दा कुट्दा’

जितेन्द्र थापा/दैलेख, २७ भदौ । टाउकोमा नेपाली टोपी, ऊनीको बाक्लो स्विटर, दिउँसोको उखरमाउलो गर्मी, छडीमा छाता अड्काएर दिउँसोको गर्मी छल्दै गिट्टी कुट्दै गरेका भेटिन्छन् उनी ।

कोभिड महामारीको भन्दा भोकको चिन्ता छ उनलाई । गिट्टी कुट्दै साँझ चुह्लो बाल्नु उनको दैनिकी हो । कोरोनाभन्दा पेटको आगो कसरी बुझाउने भन्ने चिन्ता छ उनलाई ।

उमेरले ७७ वर्ष पुगे पनि उनका दुःख ज्यूँका त्यूँ छन् । कोभिडका कारण जारी निषेधाज्ञाको परवाह छैन उनलाई, परवाह छ त भोक-प्यास मेटाउन कामको अनि थोरै आम्दानीको ।

दैलेख ठाटीकाँध- १ का आउँसे सुजी यसरी नै गुजारा गरिरहेका छन् । वडा- १ को मुख्य आवतजावत हुने ठाउँ भैरवथान नजिकै बसेर उनले गिट्टी कुटेरै दैनिकी चलाएको निकै समय भयो ।

सुनसान बिहान भालेको डाकसँगै आउँछन् र दिनभरि गिट्टी कुट्छन् उनी । बिहानको खाना खाएर ३० किलोको एक बोरा गिट्टी कुटेबापत प्रति बोराको ७० रुपैयाँ पाउँछन् आउँसे ।

‘कोभिडको समयमा घरमै बसे हुने म बूढाले’, उनले भने, ‘के गरौँ बाबै ! काम नगरी साँझ चुह्लो बल्दैन काम गर्नै पर्‍यो । गिट्टी कुट्दाकुट्दा बूढेसकालमा मुटु दुख्छ, हात-खुट्टा गलेर खाइना छन् ।’

गिट्टी कुट्दाकुट्दा फुटेका हात देखाउँदै उनले भने, ‘आँखा पनि राम्रोसँग देख्दैन, हथौडा गिट्टीमा बजार्दा उल्टै हातमा बाजारिन्छ, म बूढाका दुःख !
पहिले श्रीमती हुँदा यति दुःख गर्नुपर्दैन थियो । दुई बूढाबूढी भैँसी पाल्थ्यौँ, घीउ बेच्थ्यौं,अहिले श्रीमतीले छाडेर गैहाली ।’

उनकी श्रीमतीको मृत्यु भएको छ वर्ष पुग्यो । श्रीमतीको मृत्युपश्चात दुःख नै दुःख भएको बताउँछन् उनी । ‘श्रीमती भएकी भए बरु आफैँ काम गर्थें, श्रीमतीलाई घरमै खाना बनाउन भन्थेँ, यतिका दुःख त हुन्थेनन्’, उनले भने ।

बिहानदेखि साँझसम्म गिट्टी कुट्दाकुट्दा कहिले साँझ परेको पत्तै पाउँदैनन् उनी । ‘छामछुम गरेर अँध्यारोमा घर जान्छु’, उनी भन्छन् ।

घरमा सुजीसहित १६ वर्षीय नाति छन् । नातिले पानी ल्याएर आगो बाले बल्छ, नत्र त्यसै सुत्ने उनी सुनाउँछन् । दिउँसोको उखर्माउलो गर्मीमा गिट्टी कुट्दा फुटेका हात देख्दा नातिले ‘बाज्या, मेरो लागि हजुरलाई बूढेसकालमा यसरी हात फोर्नुपरेको छ है ! हजुरको नातिले केही गर्न सकेन है !’ भनेर झन् भावुक बनाएर टुप्लुक्क आँसु खसाल्दै अँगालोमा आउने उनले बताए ।

‘क्या गर्नु बाबै ! तरुनै हुने बेला बरु सुख पाइएका हुन् । ऊ बेला सुख पाएर हो कि अहिले बूढेसकालमा यसरी दुःख गर्नुपरेको छ । हाम्रा पनि सुखका दिन आउलान् नि भनेर मन बुझाउँछु’, उनले निराशा पोखे ।

गाउँगाउमा सिंहदरबार आयो भन्छन् तर आफू जस्ता बूढाले यसरी दु:ख पाएको ती सिंहदरबारले किहले देख्लान् ? भन्ने लागेको छ उनलाई ।-/न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।