भक्तपुर अस्पताल र साझाको विवाद चर्कियो

रमेश गिरी भक्तपुर, २८ भदौ । भक्तपुर अस्पतालको गेटैमा पूर्वतर्फ आकस्मिक कक्ष, पश्चिमतर्फ साझा औषधि बिक्री कक्ष र अलिक पर कोरोना सङ्क्रमित बिरामीको सघन उपचार कक्ष छ । एउटा साँघुरो सानो टहरामा भक्तपुर अस्पतालको औषधि बिक्री कक्ष छ।

पुराना भवन धमाधम मर्मत र रेक्टोफिटिङ भइरहेको अवस्थामा अस्पतालमा बिरामीको बढ्दो चाप र भवनको निकै अभाव छ । सङ्कट झेलिरहेको सो अस्पतालमा वर्षौदेखि कब्जा जमाएर बसेको साझा औषधि लिमिटेडले अस्पताल परिषर छाड्न गरेको पटक–पटकको निर्देशनलाई अटेर गरेको छ । आफ्नै औषधि बिक्री कक्ष राख्न सहज ठाउँ नपाएको अस्पताललाई साझाले भने वर्षौदेखि भाडासमेत तिरेको छैन । साझालाई अस्पताल प्रशासनले हटेर जान भन्दा राजनीतिक दबाबदेखि सरुवासमेतको धम्की दिने गरेको अस्पताल प्रशासनको गुनासो छ ।

विगतका मेडिकल सुपरिटेण्डेन्टले गरेको कमजोरीका कारण यतिखेर अस्पतालले निकै दुःख पाउनु परेको गुनासो अस्पताल प्रशासनको छ । वर्षौदेखि बस्दै आएको साझाले अस्पताललाई धेरै वर्षदेखि भाडा तिरेको रेकर्ड नभएको प्रशासनको भनाइ छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाल अस्पतालले आफ्नो फार्मेसी राख्ने ठाउँ नपाएर सानो जस्ताको टहरामा राख्नु परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वर्षौदेखि साझाले अस्पताल परिसरमा औषधि बिक्री कक्ष राख्दै आएको छ, छोड भन्दा छोड्दैन, ऊ व्यापार गर्छ, हामी बीमाको निःशुल्क औषधि दिन्छौ, ठाउँ चाहियो भन्दा टेर्दैन ।”

अस्पतालको औषधि बिक्री कक्षमा बीमाका बिरामीको लामो लाइन हने गरेको उहाँले जानकारी दिनुभयो । दैनिक २०० देखि २५० बीमाकै बिरामी आउने गरेका बताइएको छ । “साँघुरो भएकाले लाइन बस्ने ठाउँ पनि पाउदैनन्, बीमा बाहेकका कतिपय बिरामी बाहिर महँगोमा औषधि खरिद गर्न बाध्य छन्, साझाले छाडे त्यहीँ ठाउँमा अस्पतालले औषधि बिक्री कक्ष राख्न सक्थ्यो, तर छाड्दैन, उल्टै छाड्दैनांै के गर्छौ भनेर धम्क्याउँछन्”, अस्पताल प्रशासनको गुनासो छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले साझाले अस्पतालको ठाउँ नछाड्दा निकै समस्या परेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “चार वर्ष अगाडि एक वर्षका लागि सम्झौता गरिएको रहेछ, म अस्पतालमा आउनु अघिदेखि नै सम्झौता नगरी नियमविपरीत बस्दै आएको छ, अस्पतालले औषधिमा १० प्रतिशत छुट दिइरहेको छ, प्रमुख जिल्ला अधिकारीसँग बसेर भएको छलफलमा साझालाई अस्पताल छाड्न निर्देशन दिइएको पनि हो, तर अटेर गरेको छ, अस्पताललाई निकै समस्या परिसक्यो ।”

साझाका प्रबन्ध सञ्चालक भरत कोइरालाले अस्पतालको अनुमगन गरेर यहाँको समस्या देखेर र बुझेर जाँदा पनि साझाले कुनै हालतमा अस्पतालभित्रको ठाउँ नछाड्ने अडान राखेको बताउनुभयो । केहीवर्ष अगाडिसम्म स्लिपको भरमा साझाबाट औषधि लैजाने गरेको पाइएको छ ।

अस्पतालको रकेर्डमा विसं २०७४ देखिनै साझाले भाडा नदिएको प्रशासनको भनाइ छ । अस्पतालका मेसु डा गौतमले भन्नुभयो, “म आउँदा यहाँ धेरै बेतिथि थिए, अस्पताल व्यवस्थापन समिति र प्रशासन मिलेर त्यस्ता बेतिथिलाई हटाउँदै लगेका छौँ, साझाले गर्दा हामीलाई समस्या भयो, ठाउँ छोडिदेउ भन्दा पनि छोड्दैन, यो कस्तो जबरर्जस्ती हो ?, पहिलादेखि नै अस्पताललाई चारैतिरबाट पेल्दै आउने प्रवृत्तिले दुःख पाउँदै आएको रहेछ ।”

अस्पतालको लेखा शाखाका अनुसार साझाले रु २९ लाख भाडा तिर्न बाँकी छ । उल्टै साझाले रु २४ लाखको बिल पठाएको बताइएको छ । साझाले अस्पतालका कर्मचारी र अस्पतालले लगेको औषधि भनेर बिल पठाएको छ । अस्पतालले भनेको छ, “कहिले कुन औषधि मागेको हो, कस कसले कुन औषधि कहिले लगेको हो, त्यसको कुनै बिल र प्रमाण छैन, अनावश्यक बिल बनाएर आएको बिलको कसरी भुक्तानी गर्नु ?, साझाले आर्थिक क्षेत्रमा समेत अस्पताललाई समस्या पारेको छ ।”

हरेक आर्थिक वर्षको अन्त्यमा त्यस्ता हिसाब फस्र्यौट गर्नुपर्ने नियम भए पनि साझाले वर्षौ अगाडिदेखिको बिल भनेर रु २४ लाखको बिल ल्याएको र बाँकी रकमको जबरर्जस्ती चेक छाडेर गएको गुनासो लेखा शाखाको छ । साझाले अस्पतालका चिकित्सकलाई औषधि सिफारिसका लागि प्रलोभन र दबाब दिने गरेको तथा केही कर्मचारीलाई प्रलोभन दिने गरेको अस्पतालका कर्मचारीकै भनाइ छ ।

एउटै कम्पाउण्डमा फरक–फरक औषधि पसल हुँदा बिरामी ठगिने र अलमलमा पर्ने गरेको बिरामीका आफन्त बताउँछन् । साझाका प्रबन्ध सञ्चालक कोइराला भने अस्पतालले भाडा लिनै नमानेको जिकिर गर्नुहुन्छ ।

उहाँले भन्नुभयो, “हामीले भाडा दिन खोजेका छौँ, अस्पतालले लिन मानेको छैन, साझा पनि सरकारी स्वामित्वमै रहेको संस्था हो, अस्पतालको औषधि बिक्री कक्षले मात्रै धान्दैन, त्यसैले साझा चाहिएको हो, कतिपय शल्यक्रियाका औषधि साझाले मात्रै बिक्री गर्न पाउँछ, त्यस्ता औषधिका लागि पनि साझा चाहिन्छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।