सन्तानको शिक्षाकै लागि अहोरात्र खट्दैछन् कलिला आमाहरू

सुधा देव/सप्तरी, २७ भदौ । सप्तरी राजविराज नगरपालिका–१ कि ३३ वर्षीया रञ्जुदेवी राम छोराछोरीलाई उच्च शिक्षा दिनका लागि दिनरात खटिरहेकी छन् । उनको श्रीमान मजदुरी गर्छन्, श्रीमती घरको काम र खेती गर्छिन् । तीन छोरी र एक छोरा गरी चार सन्तानकी आमा रञ्जु दिनभर काममा व्यस्त हुन्छिन् । अरूको छोराछोरी जस्तै आफ्ना छोराछोरीलाई पनि शिक्षादीक्षा दिनसके आत्मनिर्भर बन्न सक्नेमा उनी विश्वस्त छिन् ।

‘हाम्रो जातको यहाँ ८० घरधुरी छ, दुई सय ५० भन्दा बढी जनसंख्या छ । तर, यहाँ आफ्ना छोराछोरीलाई कसैले उच्च शिक्षा दिन सकेका छैनन् । एसईई पास गर्ने छोरीछोरीमा एक दर्जनभन्दा बढी छैनन्’, उनले भनिन् ।

शिक्षा र शिक्षित व्यक्तिको महत्वको विषयमा जानकारी नभएकोले छोराछोरीलाई शिक्षा दिनुपर्ने विषयमा जिम्मेवार नभएका हुन् । तर, छोराछोरीमा भेदभाव नगरी चारैजना सन्तानलाई उच्च शिक्षा दिने रञ्जुको इच्छा छ ।

१३ वर्षको उमेरमा विवाह गरेकी उनी १७ वर्षमा आमा बनेकी थिइन् । २० वर्षे वैवाहिक जीवन बिताइरहेकी रञ्जुले सुरुदेखि नै घर परिवारको जिम्मेवारी सम्हाल्दै आएकी छन् । उनले छोराछोरी पनि एक्लै हुर्काउनु पर्ने बाध्यता भयो । आर्थिक अभावका कारण कति रात भोकभोकै सुत्नु परेको पीडा उनले अहिलेसम्म बिर्सन सकेकी छैनन् ।

‘हाम्रो पालामा हाम्रो समुदायमा गाउँघरमा छोरीलाई कसैले पढाउँदैन्थे, छोरीको जति छिटो विवाह गरिदिए, बोझ हल्का हुने बताउँथे । छोराछोरीमासमेत भेदभाव हुन्थ्यो । तर, अहिले पनि अवस्था फेरिएको छैन’, उनी भन्छिन् । शिक्षाको अभाव र बालविवाहका कारण आफूले भोगेको पीडा छोराछोरीले भोग्नु नपरोस् भनेर दिनरात परिश्रम गरिरहेको उनी बताउँछिन् ।

रञ्जुकै भोगाइजस्तै स्थानीय ४० वर्षीया रामवती रामको पनि छ । रामवतीको आर्थिक अवस्था एकदमै कमजोर छ । तर, पनि उनी पाँच सन्तानलाई पढाउन जमर्को गरेकी छिन् ।

‘छिमेकमा छोराछोरीलाई नपढाएर उमेरै नपुगी विवाह गर्दा भोग्नु परेको पीडा मैले नजिकबाट देखेको छु । त्यस्तो मेरो छोराछोरीले पनि भोग्नुपरोस् भन्नेमा सचेत छु । उनीहरूको शिक्षाको अधिकार संरक्षणको लागि म जतिपनि परिश्रम गर्न तयार छु’, १५ वर्षको उमेरमा विवाह गरेकी रामवतीले भनिन् । उनको जेठी छोरी १०, माहिली ९, कान्छी ७ छोरा ३ कक्षामा पढ्दैछन् । उनीहरूलाई उच्च शिक्षा नदिएसम्म जीवन सार्थक नहुने उनको भनाइ छ।

स्थानीय ३९ वर्षीया सुमित्रादेवी राम ६ जना छोराछोरीको आमा र तीन जना नातिनातिनाकी हजुर आमा हुन् । श्रीमानले एक्लै मजदुरी गरेर आठजनाको परिवार पाल्न कठिनाइ भएकोले जेठी र माहिली छोरीको १६ वर्षको उमेरमा विवाह गरिदिएको सुमित्रा बताउँछिन् ।

चेतनाको अभावमा ३० वर्षिया सरितादेवी सरदारलाई पनि आमा बाबुले पढाएन् । उमेर नै नपुगी विवाह गरिदिए । उनी चार सन्तानकी आमा हुन् । उनले पनि आफ्ना सन्तानहरूलाई पढाउन दिनरात मजदुरी गरिरहेकी छन् ।

आर्थिक अवस्थाका कारणभन्दा पनि शिक्षाको महत्व नबुझेर अहिले पनि दलित समुदायले आफ्ना सन्तानलाई शिक्षादीक्षा नदिएका राजविराज नगरपालिका–१ मा रहेको महाकवि देवकोटा आधाभूत विद्यालयका प्रधानाध्यापक विक्रम झाको बुझाइ छ ।

उनी भन्छन्, ‘गरिबीभन्दा पनि पढाइको महत्त्व नबुझेर नै यहाँका दलित समुदाय उच्च शिक्षा हासिल गर्दैनन् ।’ आमामा बच्चालाई कुनै पनि हालतमा पढाउनुपर्छ भन्ने चेतना आएमा बालबालिका शिक्षितको पहुँचबाट टाढा नहुने सप्तरी जिल्लाको पहिलो महिला शिक्षक अवकास प्राप्त बच्ची मिश्रको भनाइ छ।

उनी भन्छिन्, ‘शिक्षाको महत्त्व के छ, शिक्षाले नै हाम्रो जीवनलाई सार्थक बनाउन सक्छ भन्ने कुरा आमालाई बुझाउन सक्यौं भने बालबालिका शिक्षाबाट बन्चित हुँदैनन् ।’ न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।