पाख्रीबास नगरपालिकाको नमुना कफी खेती के हो र किन ?

जीवनप्रसाद राई । धनकुटा जिल्लाको ७ वटा स्थानीय सरकारहरु मध्ये पाख्रीबास नगरपालिका एक हो । भुमिको हिसाबमा यो नगरपालिका चौबिसे र साँगुरी गाँउपालिका पछिको दोस्रो ठुलो पालिका पनि हो । पाख्रीबास नगरक्षेत्रका मुख्य क्षेत्रहरु चुङमाङ, घोर्लिखर्क, फलाँटे, सान्ने, मुगा, घामे, थाक्ले जस्ता क्षेत्रहरु २०५६ सालताकै जिल्ला बिकास समिति हुंदा धनकुटाले कफीका लागि उपयुक्त क्षेत्रहरु हुन भनेर प्राबिधिक अध्ययन गरेको थियो । तर त्यो प्राबिधिक अध्ययन भएता पनि तत्कालिन जिबिसले कफीलाई बृहत अभियानको रुपमा लान सकेन । पछि नेपालको संबिधान २०७२ जारी भएपछि नेपाल अधिराज्यबाट संघिय नेपालमा रुपान्तरण भयो । यसपछि संघिय संबिधान अनुसार देशभरी नै ७ प्रदेश र ७५३ स्थानीय तहमा पुनःसरचना भयो । यसपछि बलियो जिबिसलाई सामान्य कामकाजी कार्यालयको रुपमा जिल्ला समन्वय समितिमा सिमित भयो । कफी कार्यक्रम अघि बढ्ने कुरै रहेन ।

पाख्रीबास नगर सरकारले आफुले प्राप्त गरेको अधिकारलाई पुर्ण उपयोग गर्दै २०७६ सालको माघ महिनामा तेखिमे कृषि परामर्श सेवा फर्म धनकुटा १, हिले संग कृषि संभावना तथा आधाररेखा सर्बेक्षणका लागि सम्झौता गरेर कार्यक्रम अघि बढेको काम आजको मिति सम्म आईपुग्दा नमुना कफी तथा प्रशोधन केन्द्र सम्म आई पुगेको छ । कृषि संभावना अध्ययन तथा आधाररेखा सर्बेक्षण कार्यक्रमले सर्बप्रथम १० वटै वडामा धेरै कृषि बस्तुको अध्ययन गर्ने क्रममा अधिक मात्रामा कफीको खेती गर्न सकिने प्रतिवेदन तयारी गरेको थियो । प्रतिबेदनमा तत्कालै कफी नर्सरी स्थापना तथा कफीको स्रोत केन्द्र लगायत ५ हजार हेक्टरमा ८४ लाख बिरुवा लगाउन सकिने र त्यसबाट बार्षिक रुपमा ३ अर्ब रुपियाँ बराबरको कफीको उत्पादन गरि निर्यात गर्न सकिने संभावना समेत औल्याएको थियो । जस अनुसार पाख्रीबास नगर सरकारले कफीमा अहोरात्र कार्य गर्ने प्रतिबद्धता अनुसार नमुना कफी नर्सरी तथा नमुना कफी खेती सम्म आई पुगेको छ ।

पाख्रीबास नगरपालिकाले यसबीचमा आधाररेखा सर्बेक्षणको कार्य, कफीको नर्सरी राख्ने स्थानको छनौट र कफी नर्सरीको स्थापना । यसपछि बृहत नर्सरी स्थापना जसमा ५ लाख कफीको बिरुवा तयारी गरिएको । कफीको नमुना खेती बिस्तार र आम कृषकहरु माझ कफी खेतीको तालिम तथा प्रचार प्रसारको माध्यमबाट पाख्रीबासमा कफी खेती बिस्तार गरिन्दैछ । यसैगरि पाख्रीबास नगरपालिकाले संघिय माननीय राजेन्द्र कुमार राई को प्रमुख आतिथ्यमा पाख्रीबास नगरपालिकामा कफीको अलग्गै शाखाको उद्घाटन समेत गरि बिस्तार गरिएको छ भने पाख्रीबास नगरपालिकाले कफी खेती गर्न चाहने कृषकहरुका लागि भारी अनुदानमा बिरुवा उपलब्ध गराउने निर्णय समेत गरेको छ । पाख्रीबास नगरपालिका भित्रका कृषकहरुका लागि ५ सय सम्म बिरुवा लानेलाई प्रति बिरुवा रु. १०÷– ५ सय १ देखि १ हजार सम्म बिरुवा लानेलाई प्रतिबोट रु. ८÷– भने १ हजार १ भन्दा माथि लानेलाई रु. ६÷– का दरले ढुवानी निशुल्क हुने गरिको ब्यवस्था गरिदिएको छ । नगरपालिका भन्दा अन्यत्रका कृषकका हकमा भने प्रति बिरुवा रु. २०÷– निर्धारण गरिदिएको छ । जसबाट स्थानीय सरकारले कृषिमा कसरी कार्य गर्ने भन्ने बारेमा एक उदाहरण पेश गरेको छ ।

नमुना कफी खेती किन ?

नेपालमा कफी खेतीको शुरुवात भएको आज उप्रान्त २७ बर्ष भई सकेको छ । कफीको जिल्लाको रुपमा गुल्मी जिल्लालाई लिईने गरिएको भएपनि तिब्र ब्यवसायिक बिस्तारको रुपमा गुल्मी जिल्लाले गति लिएको पाईन्दैन । आज जसरी ईलाम जिल्लाले चियामा निरन्तर गति लिएको पाईन्छ तर कफीमा कुनै पनि जिल्लाले त्यसरी गति दिएको पाईन्दैन । छरिएको अवस्थामा रहेको यो कफी खेतीमा बास्तवमा कफी खेतीको नमुना कस्तो हुन्छ भन्ने कुरा एकै ठाँउमा रहेर धेरै कफीका बिरुवाहरु तथा धेरै जमिनमा खेती भएको ठाँउ आजको आवश्यकता हो । कफी बहुमुखी आम्दानी दिने बहुबर्षिय बाली हो ।

यसलाई एकपटक रोपेपछि ६० बर्ष सम्म पनि फल लिईरहन सकिन्छ । अनि यसलाई हुर्काउदा यसको बोटमुनी पनि अन्य बालीहरु जस्तै बेसार, अदुवा, काउली, बन्दा, कुरिलो जस्ता तरकारीहरु लगाएर पनि अतिरिक्त आम्दानी लिन सकिन्छ भने यसलाई अनिवार्य छहारी आवश्यकता पर्ने भएकोले त्यो छहारी दिदाँ पनि एभोकाडो, सजिवन, पार्किया, डाँलेघाँस, रुख कटहर, केरा, सुन्तला जस्ता बालीहरु लगाई अर्को आम्दानी गर्न सकिन्छ । कफीलाई बर्तमान अवस्थामा उच्च प्रबिधियुक्त तरिकाले समेत खेती गर्न सकिन्छ । रोपिएका प्रत्येक कफीको बोटलाई गणना गर्ने तथा अनुसन्धानका लागि नम्बरिङ गरि प्रत्येक बोटमा कस्तो खालको स्वाद निकाल्नका लागि उत्पादन गर्ने भन्ने सम्मको प्रबिधिहरु समेत प्रयोगमा ल्याउन सकिन्छ । कफीलाई मलको रुपमा प्रदान गरिने तत्वलाई घटबढ देखि लिएर त्यसमा कस्तो गुणस्तरको उत्पादन गर्ने ? भन्ने सम्मको कार्यहरु गर्न सकिन्छ ।

यी तमाम कार्यहरु कृषक स्वयंले गर्न सकिने भएता पनि यसको लागि मार्गदर्शन गरिदिने कुनै निकाय नै आजको आवश्यकता हो । एकै ठाँउमा कस्तो तरिकाले छहारी दिईएको छ र कसरी खेती पद्धतीको बिकास गरिएको छ भन्ने आम सरोकारवाला ब्यक्तिहरुलाई वा संस्थाहरुलाई प्रदर्शनीको लागि समेत नमुना कफी खेतीको बिस्तार आवश्यकता थियो । यही आवश्यकतालाई नै मध्यनजर गरेर पाख्रीबास नगरपालिकाको वडा नम्बर ८ मुगामा नगरपालिका स्वयंले कुल ६० रोपनी जमिनमा नमुना कफी खेतीको बिस्तार गरेको छ । जुन हाल राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले बनाएको योजना अनुसार चक्लाबन्दी कफी खेती अनुसार नै स्थापित पनि भएको छ । नगरपालिकाले आगामी दिनमा १० वटै वडामा समेत नमुना कफी खेती बिस्तार गर्ने लक्ष्य राखेको छ । जुन स्थानीय सरकारले एउटै बालीमा गरेको कार्यको सरहनीय नमुना कार्य पनि हो ।

नमुना कफी खेती कसरी संचालन हुन्छ ?

यस नमुना कफी खेती नगरपालिकाको नै सम्पुर्ण लगानी गरेको हुनाले जमिन उपलब्ध गराउने ब्यक्तिले यसबाट हुने आम्दानी प्राप्त गर्ने छैनन  तर निश्चित अवधिको समय समाप्त भएपछि त्यो नमुना कफीको उत्पादन जस्को जमिन हो उसैको बाली र आम्दानी पनि हुने हुन्छ । नगरपालिका र जग्गाधनी बीचमा सम्झौताको अवधिभर भने जग्गाधनीले जमिनको कुनै भाडा वा शुल्क लिने छैन । यसैले कफीलाई रोप्ने देखि फलाउने र बजारीकरण समेत नगरपालिकाले नै ब्यवस्थापन गर्नुपर्ने हुन्छ । नमुना कफी खेतीको प्रचार प्रसार देखि लिएर यसलाई पाख्रीबास नगरपालिकाले सम्पुर्ण कृषकहरुको हितका लागि प्रयोगमा ल्याउने गर्दछ । यसबाट पाख्रीबास नगरपालिकाका अलावा अन्य स्थानीय तहका कफीका सरोकारवाला हरुलाई समेत यस नमुना कफीले महत्वपुर्ण मार्गदर्शन गर्नेछ ।

नमुना कफीबाट स्थानीयहरुलाई तथा पाख्रीबास नगरपालिकालाई के फाईदा हुन्छ ?

धेरै जसो सरकारी तवरबाट संचालन भएका कार्यक्रमहरु प्रभावहीन जस्तै देखिन्छन । यसो हुनुमा कार्यालयका कर्मचारीहरुको सरुवा तथा सरकारको फेरबदल नै प्रमुख कारण हो । स्थानीय सरकारहरुको पनि फेरबदल हुन सक्दछ नेतृत्व सधै एउटैको हातमा हुन्छ भन्ने हुदैन । तर नमुना कफी खेती दिगो र आम कृषकहरुका हितमा भएकोले यसमा जुनसुकै दलको सरकार आए पनि यस कार्यक्रमहरु निरन्तरता दिनुपर्दछ । यो कुनै ब्यक्ति वा दल बिशेषलाई फाईदा पुग्ने खालको कार्यक्रम होईन । यस कार्यव्रmमले पाख्रीबास नगरपालिकाको बृहतम हितको लागि कार्य गर्दछ । यसको उद्धेश्य र लक्ष्य कफी सरोकारवालाहरुका लागि नै हो । तर यसबाहेकका अन्य कैयौ बहुमुखीय बिषयहरु यसभित्र समावेश हुनेछन ।

नमुना कफी खेती केवल नमुना कफीको रुपमा मात्रै रहनेछैन । यो पाख्रीबास नगरपालिका भित्र रोजगारी सिर्जनाका खातिर, कृषि पर्यटन प्रबर्धन र पर्यपर्यवरण पर्यटनका लागि समेत अन्तर सम्बन्धित रहेर कार्य गर्नेछ । यसका लागि पाख्रीबास नगरपालिका र स्थानीय समुदाय बीच अन्योन्श्रित सम्बन्धको बिस्तार पहिलो शर्त हो । स्थानीय जनसमुदायले जति लगनशीलताका साथ काममा जागरुकता देखाउनेछ त्यतिनै मात्रामा नगरपालिकाले यस नमुना कफीको लागि लगानीको बातावरण तयारी गरिदिनुपर्नेछ । जति लगानीको मात्रा बृद्धि हुदै जानेछ उति नै मात्रामा नगरपालिका र स्थानीयहरुलाई अधिक मात्रामा फाईदा हुनेछ । जस्तै यस नमुना कफी हेर्नका लागि बिभिन्न क्षेत्रबाट बिधार्थीहरु, स्थानीय तहका प्रतिनिधीहरु, सहकारीकर्मीहरु, कृषि सरोकारवालाहरु, नीति निर्माण तहका ब्यक्तिहरु लगायतका मानिसहरु आउनेछन । यसका लागि कार्यक्रम नै गरेर मार्केटिङ गर्नुपर्ने हुन्छ ।

धेरै भन्दा धेरै मानिसहरु जब आउन थाल्नेछन थोरै मात्रामा भए पनि पाख्रीबास नगरपालिकालाई राजश्व जम्मा हुने गरि टिकटको प्रतिब्यक्ति सहुलियत मुल्यमा बिक्री गर्नुपर्ने हुन्छ । न्युनतम रुपमा लिईने टिकट शुल्कको आधा रकम नगरपालिकालाई र आधा रकम नमुना कफी ब्यवस्थापनका लागि भनेर स्थानीय स्तरमा नै लगानी गर्ने बातावरणको तयारी गरिनुपर्ने हुन्छ । यसका साथै स्थानीय तवरमा कफी खेतीको नमुनाले गाँउमै घरबासको ब्यवस्थापन गर्नुपर्ने हुन्छ । घरबास ब्यवस्थापनका लागि स्थानीय स्तरमा स्वत धेरै मानिसहरुले रोजगारी प्राप्त गर्ने हुन्छन । त्यस प्रकारका रोजगारी अनगिन्ती खालका हुन्छन जस्तै :भनिन्छ एउटा पर्यटकका कारणले ११ जनाले रोजगारी पाउने गर्दछन । यस्तै धेरै मानिसहरुको आवात जावातले बास बस्ने घरहरुको कम्तिमा पनि २० देखि ३० घरको आवश्यकता हुन्छ भने धेरै मानिसहरु आउदा सुत्नका लागि टेण्टहरुको समेत ब्यवस्थापन गरिनुपर्ने हुन्छ ।

यसरी आउने पर्यटकहरु तालिम लिने उद्धेश्यका समेत हुने भएकोले तालिमका लागि चाहिने ब्यवसायिक खालका भवनहरु समेत निर्माण गरिनुपर्ने हुन्छ । त्यस तालिम घरमा ब्यवसायिक तथा सामान्य गरि राम्रै कामको सिर्जना हुने गर्दछ । होटल वा घरबास घर भन्दा परको अर्को घर भएकोले मानिसहरुलाई सर्बप्रथम सुत्न र खानको लागि प्रबन्ध गरिनुपर्ने हुन्छ । कोठाको राम्ररी सफाईका साथ न्युनतम रुपियाँमा सुत्ने ब्यवस्थापन गरिनुका साथै खानपानका लागि चामल, दाल, तरकारी, गेडागुडी, माछामासु, दूधदही, चियाकफी, अण्डा, लोकल कुखुरा, खसी, बंगुर आदिको ब्यवस्थापन लगायतका कार्यहरु गाँउमै गरिनु पर्दछ । यस प्रकारका सम्पुर्ण ब्यवस्थापन गाँउमै उत्पादन गर्ने नीति बनाई नगर सरकारले कार्य गर्नुपर्दछ । संभव भएका जुसहरुको निर्माण, स्थानीय पेय बस्तुहरुको निर्माण गर्नका लागि सबै गाँउले हरुलाई समानुपातिक रुपमा बितरण गरिनु पर्दछ ।

लमजुङको घले गाँउले देखाएको घरबासबाट नेपालका अन्यत्रका धेरै घरबासहरुले सिक्न सक्दछ । त्यहाँ हाल घलेहरुले परापुर्वकाल देखि संचालनमा ल्याएका सामाग्रीहरुको संग्रहालय समेत संचालन ल्याएका छन । यस्तै खालका संग्रहालय संचालन, पर्यटकहरुका लागि पुस्तकालय निर्माण, कोशेली घरको निर्माण गरि ग्रामीण क्षेत्रमा नमुना कफी खेतीका साथमा नमुना आम्दानी कार्यक्रमहरु संचालनमा ल्याउन सकिन्छ । यसका लागि नगरपालिकाले सामाजिक परिचालनको माध्यमबाट एकिकृत कार्यक्रमहरु संचालन गरिनुपर्दछ । अनि सरसफाई अनिवार्य शर्तको रुपमा अवलम्बन गरिनुपर्दछ ।

(लेखक तेखिमे कृषि परामर्श सेवा फर्मका संचालक हुनुका साथै पाख्रीबास नगरपालिकाको नमुना कफी खेती संचालनार्थ/ पाख्रीबास नगरपालिकाका स्रोत ब्यक्ति समेत हुन ।-सम्पादक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।