केराले बदलेको कसेनीमा कफी पनि लगाऔ
जीवनप्रसाद राई । हतुवागढी गाँउपालिका वडा नम्बर ६, भोजपुर साविक होम्ताङ गाबिस वडा नम्बर १ का रमेश राई नियमित रुपमा केराको ब्यापारमा लागेको ५ बर्ष पुगेको छ । उनको यो ब्यवसाय बिगत ५ बर्षयता देखि अबिरल रुपमा र अबिचलित रुपमा चलेको छ । केराका अलावा उनले सिजनल अन्य फलफुलको पनि ब्यापार गर्दछन । उनले केराको ब्यापार मात्रै होईन पाख्रीबास नगरपालिका वडा नम्बर ३ र ४ कसेनीमा धेरै परिवारलाई केराको ब्यवसायिक खेतीका लागि प्रोत्साहन समेत गरिरहेका छन ।
यो कथा कसरी शुरु भयो भने कसेनी क्षेत्रमा परम्परागत रुपमा मकै तथा धान बाली लगाउने चलन थियो र अहिले सम्म पनि त्यसलाई निरन्तरता दिईदै आईएको छ । अछाम जिल्लामा काम गर्न गएका यहाँका बासिन्दाहरुबाट अछामे मालभोग केराको बिरुवा कसेनीमा भित्रिएको थियो । हाल त्यही केरा निकै क्षेत्रमा फैलिई सकेको छ । यसरी बडेमाको केराको ब्यवसाय फैलाउनुमा रमेश राईको निकै ठुलो योगदान रहेको छ । कसेनी क्षेत्रमा पाईने राम्रो केरा उनी नियमित रुपमा खरिद गर्दथे र बजारमा लगेर बेच्थे । केराको अधिक माग हुन्थ्यो तर कसेनीमा केरा आफुलाई पुग्दो नभए पछि उनले घर घरमै गएर मकैको सट्टामा केरा खेती गर्नका लागि अभियान चलाए । हाल कसेनीमा १ सय भन्दा बढी परिवारले केराको ब्यवसायिक खेती शुरु गरेका छन । प्रति परिवार प्रतिहप्ता रु १० हजार सम्मको केरा बिव्रmी गर्ने गरेका छन ।

एउटा ब्यापारीले आफ्नो ब्यवसाय राम्रो संगले चलाउनका लागि थालेको अभियानले कसेनी क्षेत्रमा हाल बार्षिक रुपमा करोडौ रुपियाँ केराबाट रकम भित्रिने गरेको छ । यसैले कृषकका लागि ब्यापारी अनन्य मित्रको रुपमा लिन सकियो भने त्यसबाट ऐतिहासिक उपलब्धी हासिल गर्न सहयोग पुग्दछ भन्ने कुरा कसेनीको केरा खेती र रमेश राईको उदाहरण काफी छ ।
रमेश राई र उनका दाजु गामेन राईले नियमित रुपमा नै बिहीबारे हटिया हिले, सोमबारे हटिया बसन्तपुर तेह्रथुम, बुधबारे हटिया थलथले शहिदभुमि, शनिबारे हटिया पाख्रीबास, शनिबारे हटिया भोजपुर आदिलाई बजार बिस्तार गरेका छन । परिवार नै समाबिष्ट भएको केरा तथा फलफुल ब्यवसायबाट उनीहरुको जीवनमा आर्थिक रुपान्तरणका लागि निकै मद्धत पुगेको छ ।
कसेनी मुगाखोलाको छेउको ठाँउ हो । यो ठाँउ निकै गर्मी हुने ठाँउ भएकोले यहाँ उष्ण हावापानीमा हुने फलफुल बालीहरु राम्रो संगले फस्टाउने गर्दछ । यहाँको माटो बलौटे तथा दोमट चिम्टाईलो भएको कारणले केराको लागि निकै राम्रो मानिन्छ । प्रांगारिक पदार्थ तथा पानीको प्रसस्त्र मात्रामा सुबिधा भएको कारणले गर्दा नै यो क्षेत्र केराको लागि निकै उपयोगी मानिन्छ । बजारको राम्रो प्रबन्ध अर्थात ब्यापारीहरु केराको बोट सम्म नै पुग्ने भएकोले यो क्षेत्रमा केरा बिना सरकारी लगानी पनि दिन दुई गुणा तथा रात चौगुणा बृद्धि हुदै गरेको छ । केरालाई छहारी मानेर खेती गर्दा यसभित्र कफी लगाउन पनि सकिने कफीका बिज्ञहरु बताउँछन । केरा र कफी दुवै बहुबर्षिय बालीहरु हुन । केरा प्रत्येक बर्ष नयाँ बच्चा निकाल्दै पुरानो बोटहरु नासिदै जाने गर्दछ । तर कफी भने लामो समय सम्म पनि फल दिईरहेको बालीको रुपमा लिन सकिन्छ । यसरी केरा र कफी एकै ठाँउमा खेती गर्न समेत संभावना निकै रहेकोले नै कसेनी क्षेत्रमा केराको फैलावट गर्दै थप कफीलाई समेत प्रबर्धन गरिनुपर्ने आवश्यकता देखिन्छ । जसबाट एउटै ठाँउमा एकै किसानले केरा पनि र कफी पनि खेती गरि दुवै आम्दानी लिन सक्नेछन ।
केरा खेती गर्ने तरिका र ठाँउ :
केरा गर्मी हावापानी मनपर्ने फलफुल बाली हो । केही उच्च ठाँउमा केराको बोट आए पनि त्यसमा फल भने लाग्दैन । समुद्र सतहबाट २ सय मिटर देखि बढीमा १ हजार ५ सय मिटर सम्मको उचाई सम्ममा केराको ब्यवसायिक खेती गर्न सकिन्छ । केराको स्थानीय स्तरमा चलेको जातहरु जहाजी, चिनियाँ, मालभोग, आदि हुन । मध्य पहाडि क्षेत्रमा बढी खेती गरिने केरा मालभोग नै हो । यो केराको माग अधिक मात्रामा रहनुका साथै यसको स्वाद वा बास्ना पनि निकै मिठो हुने गर्दछ ।

केरालाई १ रोपनीमा १ सय वोट बिरुवा रोप्न सकिन्छ । यसलाई बोटबाट बोटको दुरी २ मिटर र एक लाईनबाट अर्को लाईनको दुरी २.५ मिटरको फरकमा रोप्न सकिन्छ । केरा रोप्नका लागि २ फिट गहिराई र २ फिट गोलाईको खाल्डो खनी त्यसमा पाकेको कम्पोष्ट मल प्रतिबोट २० किलो सम्म लगाई मल र माटो मोलेर खाल्डो पुरेर केरालाई रोप्नु पर्दछ । यसलाई नियमित सिचांईको ब्यवस्थापन अर्थात बर्षादयाममा पानी परिरहेको बेला बाहेकमा सिचांईको ब्यवस्था गर्नु राम्रो हुन्छ ।
केरा आफैमा पानीको मात्रा बढी हुने भएकोले थोपा सिचांईको माध्यमबाट समेत सिचांईको प्रबन्ध गर्न सकिन्छ । केरामा आउने बिरुवाहरु मध्ये एक गाँजमा ३ वटा मात्रै राख्नु पर्दछ । भने प्रति साल १ डोको मलको प्रबन्ध गरि सिचांई गरिदिनु पर्दछ । यस्ले गर्दा केराको कोसा ठुलो हुनुका साथै बढी दर्जन केरा फल्नमा मद्धत गर्दछ । केरा रोपेको १४ महिना पछि नै फल्न थाल्दछ ।
केराका बोट १ सय बोट रोपेमा प्रत्येक दिन एक बोट बाली लिन मिल्छ भन्ने भनाई रहेको छ । यसो हुदाँ १ रोपनीमा केरा खेती गर्दा प्रत्येक दिन नै एक बोट केरा बाली लिन सकिन्छ । राम्ररी सप्रेको केराबाट २० दर्जन केरा उत्पादन हुन्छ । केरा बोटैमा प्रति दर्जन रु. ५० का दरले बिव्रmी बितरण हुने भएको र यसको बजार राम्रो रहेकोले एकबोट केराबाट रु. १ हजार रुपियाँ प्राप्त हुने गर्दछ । यो हिसाबमा एक रोपनी केराबाट कम्तिमा पनि रु. ३ लाख रुपियाँ आम्दानी हुने देखिन्छ । तर यो मध्य पहाडि क्षेत्रमा मात्रै हो । तराईमा भने केरा निकै सस्तो हुने कारणले गर्दा किसानले पाउने आय निकै कम छ भने पहाडमा किसानले पाउने मुल्य निकै बढी हो । तैपनि पहाडि क्षेत्रमा केरा खेतीमा उल्लेख्य बिस्तार हुन सकेको छैन ।
पाख्रीबास नगरपालिका भित्र यस प्रकारले केरा खेती गर्न सकिने क्षेत्रहरु मुगा खोलाले सिचिंत गरेको क्षेत्रहरु, छेङखोलाले सिचिंत गरेको क्षेत्रहरु, माङमाया खोलाले सिचिंत गरेको क्षेत्रहरु रहेको छ । जहाँ केरा खेती संगै कफी खेती पनि गर्न सकिन्छ र पाख्रीबासको संमृद्धिमा महत्वपुर्ण योगदान केरा र कफीले पुर्याउन सकिन्छ ।
जय केरा, जय कफी, जय पाख्रीबास नगरपालिका ।


