‘धनकुटाको वेलाहारा एयरपोर्ट निर्माणका लागि रकम छुट्याईएको छ’-कांग्रेस सहमहामन्त्री थापा
असोज ९,धनकुटा । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल बहादुर थापाले धनकुटाको वेलाहारा एयरपोर्ट निर्माणका लागि रकम छुट्याईएको बताउनु भएको छ ।

पार्टीको १४ औ महाधिवेशन अन्र्तगत धनकुटाको पाख्रीवास नगरपालिकाको नगर अधिवेशनलाई सम्वोधन गर्दै उहाँले त्यस्तो जानकारी गराउनु भएको हो । आफुहरुले बेलाहारा एयरपोर्टको विषयमा जानकारी पाएपछि यसको बाँकी काम पूरा गर्न प्रधानमन्त्री शेर वहादुर देउवा समक्ष कुरा राखेको र रकम समेत छुट्याईएको उहाले वताउनुभयो ।
त्यस्तै शिक्षण अस्पताल निर्माणको बारेमा पनि कुरा भईरहेको उहाले बताउनुभयो । धनकुटालाई प्रदेशको राजधानी नबनाईएको विषयलाई लिएर उहाँले धनकुटाका कम्युनिष्ट हुतिहारा भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो धनकुटालाई राजधानी त बनाएनन् वनाएनन् एमाले नेतृत्व कै प्रदेश सरकारले प्रदेशको नाम समेत राख्न सकेन ।
अर्को प्रशंगमा उहाँले छिन्ताङ हत्या काण्डको गित बनाएर एमालेले गाउदै वसेको तर शहिदहरुलाई राष्ट्रिय शहिदको रुपमा घोषणा गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले छिन्ताङ हत्या काण्डका शहिदहरुलाई नेपाली कांग्रेस नेतृत्वकै सरकारले राष्ट्रिय शहिद घोषणा गरेको उल्लेख गर्नुभयो । गएको चुनावमा आफुले जनतालाई यदि एमालेलाई भोट दिए पिंजडाको सुगा बनाउछन् भनेको कुरा स्मरण गर्दै अहिले जनताले त्यही महसुष गरेको समेत वताउनुभयो ।
त्यस्तै नेकपा एकीकृत समाजवादी नगर अध्यक्ष एवम् पाख्रीवास ४ नं वडाध्यक्ष सोवित निरौलाले गठबन्धनलाई निरन्तरता दिने करामा जोड दिनुभयो । उहाँले नगरमा अपराधिको झुण्ड रहेको उल्लेख गर्दै जनताले तिरेको करले मासुभात खाएर भ्रष्टचारका नाईकेले भोलि ठाडो शिर पारेर हिड्न नपाओस् भन्नका लागि पनि गठवन्धन आवश्यक रहेको वताउनुभयो । यदि पाख्रीवासका जनता सचेत भएर वेलैमा सही निर्णय नगरे फेरीपनि जनता आफैले तिरेको करको पैसाले जनतालाई नै मासुभात खुवाएर एमाले ओली पक्षले ५ वर्ष सम्म फेरी भरिया बनाउने ठोकुवा गर्नुभयो ।

त्यस्तै माओवादी केन्द्र नगर अध्यक्ष मुक्ति बजगाईले प्रतिनीधिसभा दुई-दुई पटक विगठन गर्ने शक्ति सलवलाईरहेको उल्लेख गर्दै सचेत हुन आवश्यक रहेको वताउनुभयो । पाख्रीवास नगरका एमाले ओली पक्षका शक्तिले अहिले कसरी शोषण गरिरहेका छन् भन्ने कुरा सबैले हेरीरहेको भन्दै उहाँले आउदो चुनावमा भोट माग्न आए प्रतिनीधिसभा दुई पटक विघटन गर्नेलाई किन र के आधारले भोट दिने ? भन्ने प्रश्न जनताले गर्न आवश्यक रहेको वताउनुभयो ।
यता जनता समाजवादी पार्टी जितेन्द्र माङपाहाङ राईले पाख्रीवासमा ५२ सिट जितेर दिउसै मातिएर पातिएर हिड्ने कम्युनिष्टलाई कसरी घुँडा टेकाउने भन्ने कुरा गठवन्धनले वुझ्न जरुरी रहेको उल्लेख गर्नुभयो । पार्टीका नगर सभापति प्रेम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व वडा सभापति,पार्टी कार्यलय सञ्चालनका लागि स्थान दिनुहुने व्यक्ति र गत नगर सभामा जनताको माग राख्न जाँदा उल्टै नगरले झुठो मुद्धा लगाई फसाएको १५ व्यक्तिलाई कदर पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा पार्टीका महासमिति सदस्य आनन्द सन्तोषी राई,जिल्ला सदस्य ज्ञानु गुरुङ,क्षेत्रिय सभापति ईन्दिरा थापा, नेपाल महिला संघकी अम्विका धमला,अभिभावक श्याम गुरुङ,तरुणदल अध्यक्ष विमल गुरुङ लगायतले मन्तव्य राखेको थिए । कार्यक्रमको सञ्चालन कांग्रेस जिल्ला सदस्य जयन्द्र घिसिङले गर्नुभएको थियो ।


