गाउँ फर्किएर बाँझो जमिनमा तितेपाती खेती

दिलकुमार लिम्बु/ताप्लेजुङ, ३१ असोज । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका सनम गुरुङको परिवार २०६८ सालमा झापा बसाइ सरे । बसाइ सर्नुको मुख्य कारण थियो, बाँदरले अचाक्ली दुःख दिनु । लगाएको बालीनाली सबै बाँदरले नष्ट गरिदिन थालेपछि बसाइ सरेका हुन ।

गाउँमा भएको ७५ रोपनी जग्गा अर्कालाई दिएर झापा झरेका उनीहरू अहिले गाउँ फर्किएर व्यावसायिक तितेपाती खेतीतर्फ लागेका छन् । ‘बसाइ सरेर मधेस गयौँ, त्यहाँको उखरमाउलो गर्मी र धुवाँ धुलोमा बस्न सकिएन,’ सनमले भने, ‘पहाडमै सुन फल्दो रहेछ ।’

अहिले उनले २४ रोपनीमा व्यावसायिक तितेपाती खेती सुरु गरेका छन् । सनमले नै ताप्लेजुङमा पहिलो पटक भुवादार जापानी तितेपातीको व्यावसायिक खेती सुरु गरेका हुन् । बाँझो जमिनको सदुपयोग हुने साथै थोरै लगानीमा आम्दानी लिन सकिने भएकाले पनि खेती सुरुवात गरेको उनी बताउँछन् । उनी मात्रै होइन फुङ्लिङ नगरपालिका–८ का किरण तामाङले पनि १० रोपनी बाँझो जमिनमा खेती थालेका छन् । धार्मिक कार्य र औषधीका रूपमा प्रयोग हुने तितेपाती राम्रो मूल्यमा विक्री हुने गरेको छ ।

‘झापा झरेपछि बाँझो जमिनको माया लाग्यो, अनि जंगली जनवारले पनि क्षति नगर्ने र आम्दानी पनि चाँडै लिन सकिने खेती के हुनसक्छ भनेर खोज्दै जाँदा युट्यूबमा तितेपाती खेतीका बारेमा जानकारी पाएँ,’ सनमले भने, ‘त्यसपछि गाउँ फर्किएर तितेपाती खेती थालेको हुँ ।’
उब्जनी नहुने खेतबारी र पाखा भित्ताबाट थोरै परिश्रम र लगानीमै राम्रो आम्दानी लिन सकिने भएपछि ताप्लेजुङका किसान तितेपाती खेतीमा लागेका छन् ।

औषधि बनाउन प्रयोग हुने तितेपातीको पात र डाँठसँगै बिरुवा बिक्रीबाट आम्दानी हुन थालेको छ । तितेपातीलाई प्रत्येक १५ देखि २० दिनमा संकलन गर्न सकिने गुरुङले बताए । यसको सुकेको पात तथा डाँठ प्रतिकेजी ५० रुपैयाँमा विक्री हुने उनको भनाइ छ ।

ढाड र नसाका समस्या भएका बिरामीको शरीर दुखाइ निको पार्न प्रयोग गरिने औषधि निर्माणका लागि प्रयोग हुने मोग्जा स्टिक बनाउन तितेपाती काठमाडौंको यामासो प्रालि नामक कम्पनीले लैजान्छ ।

यस्तै, बिरुवा भने एक रुपैंयाँ प्रतिगोटामा बिक्री हुने गरेका छन् । यामासो प्रालिले खरिद गरेर लैजाने गरेपनि अझै माग धान्न नसकेको किसानहरूको भनाई छ ।

किसानले उत्पादन गरेको तितेपाती कम्पनीले घरैमा आएर खरिद गर्ने भएपछि व्यक्तिगत जग्गाका तितेपाती रोप्ने अभियान थालिएको छ । जिल्लाको आठराई त्रिवेणी, मिक्वाखोला लगायतका स्थानका किसानले पनि विरुवा खरिद गरेर व्यावसायिक खेती सुरु गरिसकेका छन् ।

विरुवाको माग अहिले देशैभरबाट आएको सनमले बताए । तितेपातीबाट तयार हुने मोग्जा स्टिक जापान निर्यात हुने गरेको छ । मोग्जा स्टिक नसा र ढाड दुःखाइसँगै शरीरका विभिन्न रोगको उपचार अर्थात् मोग्जाथेरापीका रूपमा पनि प्रयोग हुने गरेको छ । तितेपाती खेती र प्रशोधनसँगै तयार गरिएको मोग्जा स्टिक नेपालबाट जापान निर्यात हुँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।