सामलिङ्ग पावर कम्पनीको आइपिओ बाँडफाँट
काठमाडौँ, १६ कात्तिक । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २१ लाख ९८ हजार ७६४ जनाले दुई करोड ५२ लाख १९ हजार ९०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये नौ हजार ९८६ जनाको आवेदन रद्द भएको र बाँकी २१ लाख ८८ हजार ७७८ योग्य आवेदकमध्ये ६७ हजार ८९० आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ ।
कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु सात करोड ३० लाख मूल्य बराबरका सात लाख ३० हजार कित्ता साधारण शेयरको बिक्री खुल्ला गरेको थियो । कूल शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई, दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कर्मचारीलाई र बाँकी ६ लाख ७८ हजार ९०० कित्ता शेयर सर्वसाधारण छुट्याइएको थियो । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका र माईजोगमाई गाउँपालीका क्षेत्रमा पर्ने माइखोलामा कूल नौ दशमलव ५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत् आयोजना निर्माण गरेको छ । जलविद्युत् आयोजनाले गत असोज १ गतेदेखि व्यापारिक उत्पादनसमेत सुरु गरिसकेको कम्पनीले जनाएको छ ।बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।
यो पनि पढ्नुहोस्..धवलागिरि अस्पतालमा जीवनजल अभाव
गलकोट, १६ कात्तिक । धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ । भाइरल ज्वरो, झाडावान्तालगायतका बिरामीको चाप बढेपनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ । झाडावान्ता भएपछि छोरालाई अस्पताल ल्याउनुभएकी सरिता शर्माले जीवनजल नपाएको गुनासो गर्नुभयो । शर्माजस्तै अन्यले पनि उक्त समस्या भोग्नु परिरहेको छ । केही दिनदेखि जीवनजल अभाव भएको अस्पतालका फार्मेसी इन्चार्ज सन्तोष सुवेदीले बताउनुभयो । “समयमै औषधि ल्याउन खरिद ऐन नै परिवर्तन गर्नुपर्छ, तत्कालै हामीले औषधि खरिद गर्न मिल्दैन”, उहाँले भन्नुभयो, “स्वस्थ्य बिमाले सबै औषधि दिनु भन्छ, तर खरिद ऐन बाधक बन्छ त्यसैले भनेको समयमा औषधि दिन सकिरहेका छैनौँ ।”
फार्मेसीमा जीवनजल मात्रै होइन, थाइरोनम २५ लगायतका अन्य अत्यावश्यक औषधिको समेत अभाव भएको छ । खरिद ऐन परिवर्तन नभएसम्म यस्तो समस्या दोहोरिने सुवेदी बताउनुहुन्छ । धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जीवनजललगायतका अत्यावश्यक औषधिको अभाव हुन नदिने बताउनुभयो । बागलुङ नगरका अन्य स्वास्थ्य संस्थामा जीवनजल, सिटामोललगायत अत्यावश्यक औषधिको अभाव नभएको बागलुङ नगर स्वास्थ्य शाखाका संयोजक रामप्रसाद खनालले जानकारी दिनुभयो ।


