नेपाली कांग्रेसको जिल्ला र केन्द्रिय नेतृत्व परिवर्तन हुन आवश्यक : पूर्व जिल्ला सभापति राई
धनकुटा । नेपाली कांग्रेसको १४औ महाधिवेशनबाट धनकुटा जिल्ला र केन्द्रमा नेतृत्व परिवर्तन आवश्यक रहेको पूर्व जिल्ला सभापति हरि कुमार राईले बताउनु भयो ।
नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति राईले साँगुरीगढी वडा नं. ९ र १० का क्षेत्रीय प्रतिनिधिहरुसँगको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीको १४औ महाधिवेशनबाट जिल्ला र केन्द्रमा जुझारु र शसक्त नेतृत्वलाई मतदान गरेर नयाँ नेतृत्व चयन गर्दै कांग्रेसलाई नयाँ ढंगबाट अघि बढाउनु पर्ने बताउनु भएको हो ।
केन्द्रीकृत र पुरानो शैलीले अब कांग्रेस चल्न नसक्ने र त्यसको लागि अधिवेशनबाट शसक्त कांग्रेस बनाउनको लागि मतदान गर्न क्षेत्रीय प्रतिनिधिहरुलाई पूर्व सभापति राईले अनुरोध गर्नुभयो ।
कांग्रेस लोकतान्त्रिक पार्टी भएको कारण निर्वाचन भन्नु नै कांग्रेस हो,कांग्रेस भन्नु नै निर्वाचन हो ।तसर्थ अधिवेशनको निर्वाचनको विषयमा अत्तिनु पर्ने कुनै पनि कारण नभएको बताउनु भयो ।तसर्थ मजबुत र साझा कांग्रेस बनाउनको लागि जुझारु र शसक्त नेतृत्व स्थापित गर्न अब ढिला गर्न नहुने पूर्व जिल्ला सभापति राईले बताउनु भयो ।
१४औ अधिवेशनबाट जिल्ला र केन्द्रमा कांग्रेस रुपान्तरण हुन आवश्यक रहेको र यसको लागि सहि नेतृत्व चुन्नतर्फ सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरु लाग्न संविधान सभा सदस्य अञ्जना ताम्लीले बताउनु भयो ।
नेता केन्द्रित नेतृत्वलाई होइन नीति केन्द्रित नेतृत्व बनाउन समयको माग रहेको र त्यसको लागि पार्टीभित्रका विषयहरु निर्मम ढंगले समीक्षा गर्न आवश्यक रहेको नेपाली कांग्रेसका जिल्ला सदस्य,नेपाल प्रेस युनियन धनकुटाका पूर्व जिल्ला अध्यक्ष तथा पुर्व केन्द्रीय सदस्य,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष युवा नेता मोहोन वान्तावा राईले बताउनुभयो ।
नेपाली कांग्रेसको १४औ महाधिवेशनबाट सबै क्षेत्र,भूगोल र विषयका प्रखर,शसक्त र जुझारु नेतृत्व निर्माणमा आफुहरु गम्भीरतापूर्वक लागेको र त्यसमा मत प्रदान गर्न हुन क्षेत्रीय प्रतिनिधिहरुलाई जिल्ला सदस्य वान्तावा राईले आग्रह समेत गर्नुभयो ।
१४औ अधिवेशन भनेको कांग्रेस जागरण अधिवेशन समेत भएकोले सहि विवेक प्रयोग गरेर विकेन्द्रीकृत शक्ति सन्तुलनबाट मात्र धनकुटा कांग्रेस जीवन्त बन्न सक्ने कुरा नेपाल तरुण दलका जिल्ला सचिव तथा नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष नरेन्द्र राईले बताउनु भयो ।
कार्यक्रममा नेपाल शिक्षक संघका पूर्व कोषाध्यक्ष नारायण प्रसाद रिजाल,नेपाल आदिवासी जनजाती संघ जिल्ला उपाध्यक्ष मिना राई,प्रजातान्त्रिक विचार समाजका जिल्ला अध्यक्ष,डिलएलएका पूर्व जिल्ला अध्यक्ष तथा कानुन व्यावसायी दिपक गुरागाँई लगायतकाले नेतृत्व परिवर्तनमा जोड दिएका थिए ।


