हिउंदे अधिवेशनमा प्रदेशको नामाकरणको छलफल हुन्छ : मुख्यमन्त्री राई
धनकुटा । प्रदेशको नामाकरणको बारेमा आउने हिउंदे अघिबेशनमा छलफल चलाउने प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले बताउनु भएको छ । आज जिल्लाको पाख्रीबास नगरपालिका ४ मा संयुक्त लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित स्वागत तथा बधाई शुभकामना कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले उक्त कुरा बताउनु भएको हो ।

मुख्यमन्त्री राईले अहिलेको सरकार सत्ताको भागबन्डाको लागि विशेष राजनीतिक परिस्थितिले बनिएको भन्दै विगतमा लोकतन्त्र मास्ने,गणतन्त्र र संघियतालाई मास्ने गरि राजा,पंचायतकाल जस्तो निर्वाचित प्रधानमन्त्री र मन्त्रीहरुबाटै स्थिति सृजना गरिएपछि संघिय प्रणालीलाई बलियो बनाउन यो गठबन्धन आवश्यक भएको बताउनु भयो ।
नामाकरणको बारेमा केही भ्रम,हल्ला बाहिर आएपनि वास्तविकता त्यस्तो नभएको भन्दै करिब ४ बर्षको यो अवधिमा त्यसबारे छलफलनै नभएको वहांले बताउनु भयो । यदि पहिला नेकपाको सरकार हुंदा यो छलफल ल्याइएको भए चाहे जे सुकै नाम होस् सजिलै पास हुन्थ्यो तर चलाइएन त्यसपछिको नेकपा एमालेको सरकारले पनि नामाकरणबारे कुनै छलफल नचालएको बताउनु भयो ।
राईले भने प्रदेश नामाकरण दुई तिहाइ बहुमतले मात्र पास गर्न सकिने तर अहिलेको अवस्थामा कसैसंग त्यो बहुमत नभएको र यो गठबन्धनको हाम्रो सरकारमा पनि त्यो संख्या अपुग रहेको भन्दै नेकपा एमालेको पनि समर्थनमा मात्रै सम्भव भएकोले हामी सर्वदलिय छलफल गरेर प्रदेशको नामाकरण टुंग्याउनको लागि नेतृत्व गर्नेछौं ।

कार्यक्रममा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (एकिकृत समाजवादी) का नगर कमिटी अध्यक्ष तथा वडा ४ का वडाअध्यक्ष सोवित निरौला,नेकपा(माओवादी केन्द्र) का नगर सचिव बलराम खड्का,नेपाली कांग्रेस नगर अध्यक्ष प्रेम भण्डारी,जनता समाजवादी पार्टी नगर अध्यक्ष जितेन्द्र मांग्पाहांग द्वारा संयुक्त रुपमा हस्ताक्षरित ज्ञापन पत्र मुख्यमन्त्री राईलाई बुझाइएको छ । पत्रमा विगतका योजना छनौट त्रुटिपूर्ण र पक्षपातपूर्ण भएको भन्दै पाख्रीबास नगरको दीर्घकालिन बिकासका लागि स्वास्थ्य,शिक्षा,कृषि र पर्यटन सबै क्षेत्रलाई समेटेर वजेट विनियोजनका गर्नका लागि ध्यानाकार्षण गरिएको छ ।
सोही अवसरमा प्रदेशको नाम किरात वा सगरमाथा-किरात राखिनु पर्ने भन्दै किरात राई यायोक्खा पाख्रीबास नगर कमिटी अध्यक्ष प्रमिला राई र सहसचिव जितेन्द्र मांग्पाहांगद्वारा हस्ताक्षरित ज्ञापन पत्र पनि मुख्यमन्त्री राईलाई बुझाइएको छ ।


