गहुँ छर्ने बेलामा युरिया मलको चर्को अभावः नपाउँदा किसान आक्रोसित

विनोदसिंह विष्ट,डोटी, २८ कात्तिक । गहुँ छर्ने बेलामा जिल्लामा युरिया मल नपाउँदा किसान आक्रोसित बनेका छन् । असोज अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका किसानको धानखेती बगाएपछि के खाने भन्ने चिन्तामा परेका किसानलाई अब गहुँ छर्ने बेलामा युरिया मल नपाउँदा झनै चिन्ता थपिदिएको छ । गहुँ छर्ने बेलामा पनि यहाँका किसानले आवश्यक मल पाएका छैनन् । युरिया मल नपाउँदा सोचेजस्तो उत्पादन नहुने चिन्ता उनीहरूमा देखिएका छन् । मल ल्याउनका लागि सम्बन्धित निकायमा पटकपटक आग्रह गर्दासमेत मल नल्याएको भन्दै किसान आक्रोसित बनेका छन् । अहिले डोटीसहित समग्र सुदूरपश्चिममा युरिया मल अभाव भएको छ ।

धान पसाउने बेलामा पनि मल नपाएको र अहिले गहुँ छर्ने बेलामा पनि मल अभाव भएपछि गहुँ बाली पनि नसप्रिने दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी तथा व्यापारी धनबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “धानखेती बेलामा मल पाएनौँ, बेमौसमी वर्षाले धान बगाइदियो, अब गहुँखेतीका लागि मल माग्दासमेत पाइँदैन, किसानले के गरी खाने ।” जिल्लामा मल आपूर्तिको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनीले भैरहवाबाट मल नआएका कारण मल अभाव भएको बताउँदै आएको छ । मलका लागि भैरहवा कार्यालयमा पटकपटक आग्रह गर्दासमेत ठेकेदारको लापरवाहीले मल आयात हुन नसकेको कम्पनीको दाबी छ ।

सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका निर्देशक यज्ञराज जोशीले प्रदेशका नौवटै जिल्लामा मल अभाव भएको स्वीकार्दै प्रदेशमा कूल एक लाख मेट्रिकटन युरिया मल आवश्यकपर्ने भएपनि आपूर्ति गर्ने जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण वितरण गर्न नसकिएको जानकारी दिनुभयो । डोटीका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जिल्लामा मलको आपूर्तिका लागि तत्काल पहल गर्न सम्बन्धित निकायमा खबर गरेको र अन्य क्षेत्रमा पनि मलका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलका लागि किसानले हामीकहाँ पनि गुनासो गर्नुभएको छ, मैले मल तत्काल ल्याउन आग्रह गरेको छु, अन्य क्षेत्रमा पनि मलका लागि पहल हुँदैछ ।”

मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनीले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको यहाँका किसानको आरोप छ । कृषि सामग्री कम्पनी दिपायलले कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण आपूर्ति गर्न नसकिएको जवाफ दिने गरेको छ । जिल्ला कृषि ज्ञान केन्द्र सिलगढी डोटीले युरिया मलको विकल्पमा कुखुरा तथा गाईभैँसीको मल प्रयोग गर्न सकिने जानकारी दिएको छ । अहिले बजारमा युरिया मलको अभाव भएपछि वैकल्पिक मल प्रयोग गर्न प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरले पनि आग्रह गरेको छ ।

निर्देशक यज्ञराज जोशीले ठूलो परिमाणमा गहुँ गहुँ छर्नेहरुबाट मल नपाएको गुनासो आएको बताउनुभयो । “धेरै क्षेत्रफलमा गहुँ छर्न लागेकाहरूले मलको समस्या भयो भन्नुभएको छ । उहाँहरूको गुनासो आएपछि हामीले पनि समस्या हो वा हैन भनेर बुझेका छौं”, उहाँले भन्नुभयो, “मलको चर्को समस्या देखा परेको हो । मागअनुसारको आपूर्ति गर्न सक्ने अवस्था रहेनछ ।” यहाँ कृषि सामग्री कम्पनीले रासायनिक मल आपूर्ति गर्छ । तर मागअनुरूपको आपूर्ति भएको देखिँदैन ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।