यू–१९ छनोटः २४ खेलाडी बन्द प्रशिक्षणमा
बैतडी, ४ मङ्सिर । वाइवाइ उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ती खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो । कात्तिक २४ देखि मङ्सिर १ गतेसम्म छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २४ जनाको नामावली निकालेर प्रादेशिक क्रिकेट सङ्घलाई बुझाएको हो । छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहेकोमा कैलालीलाई हराउँदै कञ्चनपुरले उपाधि हात पारेको थियो ।
बन्द प्रक्षिक्षणका लागि बोलाइएका खेलाडीमा राहुल चन्द, अनुराग सिंह, मिलन बोहरा, आकाश चन्द, हेमन्त धामी, आशिष भट्ट, अर्जुन सिंह साउँद, राहुल भण्डारी, कैलाश ऐर, अनिल थापा र सञ्जय बोहरा रहेका छन् । यस्तै खडकबहादुर बोहरा, भूपेन्द्र चन्द, नरेन भट्ट, शेर मल्ल, नारायण जोशी, नरेन साउँद, अर्जुन साउँद, वसन्त कार्की, सङ्गीत बुढाथोकी, दीपक टमटा, वीरेन्द्र बम, वीरेन्द्र नाथ र गजेन्द्र बोहरालाई पनि बन्द प्रशिक्षण बोलाइएको छ । बन्द प्रशिक्षण शुक्रबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन भएको प्रदेश प्रशिक्षक खेमराज भट्टले बताउनुभयो । बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा सुदूरपश्चिम प्रदेशको उन्नाइस वर्षमुनिको टोली बनाइने भएको छ । उक्त टोलीले उन्नाइस वर्षमुनिको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर ७ गतेदेखि काठमाडौँमा उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ ।
स्याङ्जाका चारवटै प्रदेश क्षेत्रमा सभापति निर्वाचित
वालिङ, ४ मङ्सिर ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका चारवटै प्रदेशसभामा सभापतिसहितको पदाधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न अधिवेशनबाट स्याङ्जा क्षेत्र नं १ प्रदेशसभा क को सभापतिमा केशरबहादुर खाँण (ध्रुब), ख मा प्रकाश तिवारी, २ को क मा अर्जुनप्रसाद खनाल र ख मा महेश भट्टराई निर्वाचित हुनुभएको हो । स्याङ्जा २ क मा अर्जुनप्रसाद खनाल ३२७ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी विद्या श्रेष्ठले २५१ मत प्राप्त गर्नुभयो ।
त्यस्तै उपसभापतिमा कुलबहादुर गुरुङ, भविश्वर कोइराला, सचिवमा डण्डापानी पङ्गेनी, अमृत अर्याल, सहसचिवमा दिक्षान्तप्रताप खाँण, बोधराज कुँवर निर्वाचित हुनुभएको हो । कूल ५९८ मतदाता रहेकोमा ५९३ मत खसेको थियो । त्यसैगरी २ ख मा महेश भट्टराई विजयी हुनुभएको छ । भट्टराईले ३८२ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी कमलप्रसाद रेग्मीले १७४ मत प्राप्त गर्नुभयो । उपसभापतिमा सर्वसम्मतबाट टीकाराम तिवारी र खगीसरा आले निर्वाचित हुनुभएको हो । सचिवमा निर्वाचनबाट गोकर्णप्रसाद भट्टराई, रमेश बस्याल, सहसचिवमा विश्वप्रकाश भट्टराई र माया भट्टराई निर्वाचित हुनुभएको हो ।


