कांग्रेस इलाम १ ‘ख’ सभापतिमा निश्कल राई
इलाम, ४ मंसिर/नेपाली कांग्रेस इलाम निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ को सभापतिमा निश्कल राई निर्वाचित भएका छन् । राईले १ सय ६१ मत प्राप्त गरेर प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । चार प्रतिस्पर्धीमध्ये श्यामबहादुर कार्कीले ८३, मनबहादुर बस्नेतले ७३ रसुवक श्रेष्ठले १४ मत प्राप्त गरेर पराजित भए ।
उपसभापतिमा पहलमान थापा र सुरेन पौडेल निर्वाचित भएका छन् । थापाले २ सय १९ मत र पौडेलले १ सय ९५ मत प्राप्त गरे । सचिवमा लोकबहादुर राई र एगा अर्याल निर्वाचित भएका छन् । राईले १ सय ९६ र अर्यालले १ सय ८५ पत पाएका छन् । सहसचिवमा हेमकुमारी चौहान र सुवास पौडेल निर्वाचित भएका छन् । चौहानले २ सय ३० मत र पौडेलले १ सय ७० मत पाए ।
यू–१९ छनोटः २४ खेलाडी बन्द प्रशिक्षणमा
बैतडी, ४ मङ्सिर (रासस) ः वाइवाइ उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।
प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ती खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो । कात्तिक २४ देखि मङ्सिर १ गतेसम्म छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २४ जनाको नामावली निकालेर प्रादेशिक क्रिकेट सङ्घलाई बुझाएको हो । छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहेकोमा कैलालीलाई हराउँदै कञ्चनपुरले उपाधि हात पारेको थियो ।
बन्द प्रक्षिक्षणका लागि बोलाइएका खेलाडीमा राहुल चन्द, अनुराग सिंह, मिलन बोहरा, आकाश चन्द, हेमन्त धामी, आशिष भट्ट, अर्जुन सिंह साउँद, राहुल भण्डारी, कैलाश ऐर, अनिल थापा र सञ्जय बोहरा रहेका छन् । यस्तै खडकबहादुर बोहरा, भूपेन्द्र चन्द, नरेन भट्ट, शेर मल्ल, नारायण जोशी, नरेन साउँद, अर्जुन साउँद, वसन्त कार्की, सङ्गीत बुढाथोकी, दीपक टमटा, वीरेन्द्र बम, वीरेन्द्र नाथ र गजेन्द्र बोहरालाई पनि बन्द प्रशिक्षण बोलाइएको छ ।
बन्द प्रशिक्षण शुक्रबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन भएको प्रदेश प्रशिक्षक खेमराज भट्टले बताउनुभयो । बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा सुदूरपश्चिम प्रदेशको उन्नाइस वर्षमुनिको टोली बनाइने भएको छ । उक्त टोलीले उन्नाइस वर्षमुनिको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर ७ गतेदेखि काठमाडौँमा उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ ।


