वडाध्यक्ष भएपछि पाएकाे पाँच लाख सेवासुविधा सामाजिक कार्यमा खर्चिने घोषणा
इलाम, ५ मंसिर ।इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले वडाध्यक्षमा निर्वाचित भएपछि हालसम्म प्राप्त गरेको सेवा सुविधा बापतकाे रकम सामाजिक कार्यमा खर्चिने घोषणा गरेका छन् । इलामको गजुुरमुखीमा आइतबार आयाेजित पत्रकार सम्मेलनमा उनले हालसम्म कानुन बमोजिम प्राप्त गरेको रकम सामाजिक कार्यमा खर्चिने घोषणा गरेका हुन् ।
उनले नगरपालिकाबाट अहिलेसम्म सेवा सुविधा बापत पाँच लाख रुपैयाँ खातामा जम्मा भएको बताए । त्यसमध्ये दुई लाख रुपैयाँ माइस्थान मन्दिर क्षेत्र विकास समितिको अक्षय कोषमा जम्मा गर्ने बताए । अक्षय कोषबाट प्राप्त रकम इलाम बजारमा रहेका परेवाको चारो व्वयस्थापनमा खर्च हुने गरेको छ । बाँकी दुई लाख रुपैयाँ भने नेपाली कांग्रेसको जिल्ला कार्यालय भवन निर्माणका लागि दिने श्रेष्ठले घोषणा गरे । कांग्रेस इलामको आफ्नो कार्यालय भवन छैन । कांग्रेसले भवन निर्माण गर्ने तयारी गरिरहेको छ ।
बाँकी रहेकाे एक लाख रुपैयाँ भने कांग्रेसको चालु महाधिवेशन र विभिन्न पालिकाहरुलाई सहयोग गरेको श्रेष्ठले बताए । आफू जनताको सेवाको लागि जनप्रतिनिधि भएको र जनताको सेवा गरे बापत सुविधा नलिने घोषणा गरेकाले कानुन बमोजिम प्राप्त रकम सामाजिक कार्यमा खर्चिएको उनले बताए । ‘सेवा सुविधाको लागि जनप्रतिनिधि लिप्त हुनु हुँदैन, कानुन बमोजिम मेरो खातामा रकम जम्मा भयो,’ उनले भने,‘त्यो रकम आफूले खर्च नगरेर मन्दिरको अक्षय कोष र पार्टीको लागि खर्च गर्ने निर्णय गरेको हुँ ।’ कांग्रेसका पूर्व सभापति केशव थापाले श्रेष्ठले महानता प्रकट गरेको टिप्पणी गरे । ‘सबैले गर्नुपर्छ भनेर म भन्दिन, सक्नेले गर्नुपर्छ,’ उनले भने, ‘यो एउटा महानता हो, यस्तो मान्छे थोरै हुन्छन् ।’ श्रेष्ठले नगरपालिकाबाट यातायात सुविधा लिएका छैनन् । इलाम नगरपालिकाले वडाध्यक्षलाई मोटरसाइकल उपलब्ध गराएको छ । श्रेष्ठ २०४६ देखि विद्यार्थी राजनीतिबाट कांग्रेसँग जोडिएका हुन् । तरुण दल इलामका अध्यक्षसमेत रहेका श्रेष्ठ इलाम निर्वाचन क्षेत्र २ को क्षेत्रीय सभापतिका आकांक्षी हुन् ।
दशौँ महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकतायुक्त हुनेछ : प्रवक्ता ज्ञवाली
काठमाडौँ, ५ मङ्सिर (रासस) :नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आउँदो दशौँ राष्ट्रिय महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकतायुक्त हुने बताउनुभएको छ ।प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले आज ‘महाधिवेशनमा विचार र नेतृत्व’ विषयक आयोजना गरेको कार्यक्रममा उहाँले नीतिका बारेमा विधान महाधिवेशन गरेसकेकाले अबको महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकता हुने बताउनुभयो । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
उहाँले विधान महाधिवेशनले नीतिगतरुपमा पार्टीलाई एकताबद्ध बनाएको बताउनुभयो । “नीतिमा एकता नै पार्टीमा एकता हो, हामी नीतिमा एकताबद्ध भइसकेका छौँ”, उहाँले भन्नुभयो, “सेती र त्रिशूली नदीको पानी फरकफरक धारबाट बगे पनि नारायणीमा पुग्दा एउटै धारमा देखिए झैँ नारायणी किरानामा हुने महाधिवेशन एकताको महाधिवेशन हुनेछ ।”हाँले पार्टीको नीतिले मुलुकको लोकतन्त्र र दूरगामी प्रभाव पार्ने भएकाले एमालेको नीतिमा सबैको चासो रहेको उल्लेख गर्दै भन्नुभयो, “तर हामीले दुई महिना अगाडि सम्पन्न गरेको विधान महाधिवेशनमार्फत हाम्रो सिद्धान्त कार्यक्षेत्र र नीति सबै सार्वजनिक गरिसकेका छौँ, अबको प्राथमिकता के हो भन्नेबारेमा दस्तावेज पारित गरेका छौँ, त्यसैले अब एकताको र नयाँ सङ्कल्पको महाधिवेशन हुनेछ ।”
“यति ठूलो पार्टीमा १५ जना पदाधिकारी र २२५ केन्द्रीय सदस्यका रुपमा सबै साथी अटाउन सम्भव छैन, त्यसैले हामी हरसम्भव सहमतिका आधारमा नेतृत्व चयन गर्दछौँ”, उहाँले भन्नुभयो, “सम्भव नभए स्वच्छ र व्यक्तिगत प्रतिस्पर्धा गरी नेतृत्व चयन हुन्छ, अहिले विधानमा हेरफर हुँदैन ।”उहाँले सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा विदेशी लगानी भित्रिएर टेलिभिजन उद्घाटन गरिनु जायज नभएको बताउनुभयो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले महाधिवेशन केन्द्रित प्रचारप्रसारलाई तीव्रता दिइएको बताउनुभयो ।
उहाँले उद्घाटन सत्रमा देश विदेशमा रहेका सञ्चारमाध्यममा प्रत्यक्ष प्रचार गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । नारायणी नदीको किनारामा सबै सञ्चारमाध्यमलाई प्रत्यक्ष प्रसारण गर्न सिग्नल उपलब्ध गराइने उहाँको भनाइ छ ।
चौतारीका उपत्यका अध्यक्ष हेमराज सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, पूर्वअध्यक्ष राजेन्द्र अर्याल, पूर्वमहासचिव प्रमोद दाहाल, उपाध्यक्ष गणेश पाण्डे, उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछानेलगायतको सहभागिता थियो ।


