कांग्रेस खोटाङको नेतृत्व चयनका लागि मतदान सुरु
खोटाङ, ८ मंसिर /नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेस खोटाङको मतदान सुरु भएको छ । कांग्रेस जिल्ला कार्य समितिको सात पदाधिकारी, ३२ जिल्ला सदस्यसहित २५ जना संघीय महाधिवेशन प्रतिनिधि छनाेटका लागि बुधबार बिहान ८ बजेदेखि दिक्तेलको सरस्वती माविमा मतदान सुरु भएको हो ।कांग्रेस निर्वाचनमा एक हजार तीन सय ७८ मतदाता सहभागी हुने भएकाले दिनभर मतदान हुने अनुमान गरिएको छ ।
कांग्रेस खोटाङको सभापतिका लागि पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राई र पूर्वसभापति विष्णुकुमार राई चुनावी मैदानमा उत्रिएका छन् । जिल्ला सभापतिका लागि शेरबहादुर देउवा निकट पूर्वराज्यमन्त्री राई र रामचन्द्र पौडेल निकट पूर्वसभापति राई प्रतिस्पर्धामा उत्रिएका छन् ।
पूर्वराज्यमन्त्री राईको प्यानलबाट उपसभापतिमा मनोज तिम्सिना र राजन सैंजू, सचिवमा रोजन राई र राम साम्पाङ, सहसचिवमा ध्यानबहादुर राई र राजकुमार राई चुनावी मैदानमा छन् । यस्तै, पूर्वसभापति राईको प्यानलबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समिर राई, सहसचिवमा सार्जन राई र शालिकराम बञ्जराको मनोनयन–पत्र दर्ता भएको छ ।
पूर्वराज्यमन्त्री राईलाई जिल्ला सभापतिका चार आकांक्षीमध्ये देउवा निकट महासमिति सदस्य रविप्रकाश राई र सिटौला निकट महाधिवेशसन प्रतिनिधि भूपेन्द्र राईको समर्थन छ । पूर्व सभापति राईलाई वर्तमान सभापति नरेश श्रेष्ठ र शेखर कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको समर्थन छ । सभापतिको दावीबाट पछि हटेका रविप्रकाश र भूपेन्द्र संघीय महाधिवेशन प्रतिनिधिका उम्मेद्वार बनेका छन् ।
कांग्रेस महाधिवेशन : कञ्चनपुर सभापति महाधिवेशन प्रतिनिधिमा पराजित
महेन्द्रनगर, ८ मङ्सिर (रासस):नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्र्तगत कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट बोहरा महाधिवेशन प्रतिनिधिका लागि खुल्लातर्फ उम्मेदवार हुनुहुन्थ्यो ।
सभापति बोहराले २४४ मत प्राप्त गर्नुभयो । यस्तै पूर्व सांसद बलदेब बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । उहाँले १९० मत प्राप्त गर्नुभयो । सो निर्वाचन क्षेत्रमा पुरुषतर्फ १९ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । दश जना निर्वाचित भएका छन् । निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा बहादुरसिंह थापा, चिन्तामणि भट्ट, हेमराज ओझा, लोकबहादुर देउवा, पुष्करराज ओझा, दलबहादुर बोहरा, मिनबहादुर सिंह, दुर्गादत्त भट्ट, उद्धव बोहरा र टिकाराम बैज छन् । क्षेत्र नं २ मा कूल ५०४ मत खसेको थियो ।
यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट पुरुष खुल्लातर्फ महाधिवेशन प्रतिनिधिमा यज्ञराज जोशी, खगेश्वर बोहरा, बेलबहादुर रानामगर, प्रकाश थापा, दीपक सिंह, पदम बोगटी, आसेफ कुवँर (भुन्टु), तारणीदत्त चटौत, जङ्गबहादुर चन्द र बीरबहादुर सुनार निर्वाचित भएका छन् । सो क्षेत्रमा पुरुष खुल्लातर्फ ३२ जना महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
क्षेत्र नं २ को सभापतिमा लालबहादुर सिंह विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नवराज जोशीलाई १८४ मत अन्तरले पराजित गर्नुभएको हो । सिंहले ३४१ तथा जोशीले १५७ मत प्राप्त गर्नुभयो । सचिवमा गणेशबहादुर विष्ट ३५० र थानेश्वरप्रसाद भट्ट ३३१ मतसहित निर्वाचित हुनुभयो । यसअघि निर्वाचन क्षेत्र नं ३ को सभापतिमा भने केशवहादुर चन्द निर्वाचित हुनुभएको थियो । चन्दले ३३० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत प्राप्त गर्नुभएको थियो । सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट तथा सह–सचिवमा अर्जुन भट्ट र खड्कबहादुर बस्नेत निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।


