छैठौं भीमदल राई स्मृति हतुवागढी गोल्डकप २०७८ को तयारी पुरा
भोजपुर । भीमदल राई स्मृति प्रतिष्ठान, हतुवागढी–१, घोडेटार भोजपुरले आयोजना गर्ने “छैठौं भीमदल राई स्मृति हतुवागढी गोल्डकप २०७८” को तयारी पुरा भएको आयोजकले जनाएको छ । आज भएको खेल तालिका सार्वजानिक कार्यक्रममा बोल्दै प्रतिष्ठानका खेल संयोजक अनिल कुमार राईले भने –“यस संस्करणको प्रतियोगिता सञ्चालनका लागि हामी पूर्ण तयार भएका छौं ।”
यस क्षेत्रकै सबैभन्दा प्रतिष्ठित र धेरै नगद पुरस्कार रहेको यस प्रतियोगितामा जम्मा १६ टिमहरु सहभागि हुने आयोजकले बताएको छ । प्रत्येक २÷२ वर्षमा प्रतियोगिता आयोजना गरिने भए पनि गत वर्ष कोभिड १९ का कारण प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।
यस प्रतियोगिताको विजेता टिमले नगद रु. १६६,६२२÷–, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उप विजेता टिमले रु. १०१,०३०÷– नगद सहित मेडल र प्रामण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको सेमी फाइनल खेलबाट मेन अफ द म्याच र विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
आयोजकले प्रतियोगिताको प्रतक्ष प्रशारण गर्ने व्यवस्था पनि गरेको छ । जुन भोजपुर जिल्लाको फुटबल इतिहासमा पहिलो पटक प्रतक्ष प्रसारण हुने आयोजकको दावी रहेको छ । गोलनेपाल डटकमबाट प्रतक्ष प्रसारण हुने छ ।
प्रतियोगिताको मुख्य प्रायोजक भीमदल राई स्मृति प्रतिष्ठान रहेको छ । सह–प्रायोजकको रुपमा हतुवागढी गाउँपालिका, घोडेटार भोजपुर रहेका यस प्रतियोगिता विभिन्न संघ संस्था तथा खेल प्रेमीहरुको आर्थिक सहयोगमा सञ्चालन हुने प्रतिष्ठानका सचिव शंकरहरि खालिङ्गले जानकारी दिनुभयो ।
यस प्रतियोगिताको तेस्रो संस्करण सम्म महिला तथा पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको भए पनि विभिन्न कारण तेस्रो संस्करण पछिका प्रतियोगिताहरुमा खुल्ला पुरुष फुटबल प्रतियोगिता मात्र सञ्चालन हुदै आएको छ ।
यहि पौष १ गतेबाट ४ गते सम्म श्री सगरमाथा मा.वि. घोडेटार, भोजपुरमा सञ्चालन हुने यस प्रतियोगिताको मिडिया पार्टनरको रुपमा, हतुवा हेराल्ड, गोल नेपाल डट कम, खबर सञ्चार डटकम, रेडियो भोजपुर र रेडियो उन्नति रहेका छन् ।
आइटी पार्टनरका रुपमा प्रिमियर टेक सोलुसन्स् प्रा.लि. धरान, भिडियो पार्टनर जस्केलो कृएशन, इलिप्स् मल्टी मिडिया, स्टुडियो पार्टनर किङ्ग डिजिटल स्टुडियो र युट्युव पार्टनर दशंकरशोउ रहनेछ ।


