जर्मनी सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको ४१ लाख खोप
काठमाडौँ, १ पुस । जर्मनी सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको ४१ लाख खोपको मात्रा हस्तान्तरण गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत डा स्टेफन रसेकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त खोप हस्तान्तरण गर्नुभएको हो । मन्त्री खतिवडालाई उहाँले कोभ्याक्स सुविधाअन्तर्गत ४१ लाख ४२ हजार २५० खोपको मात्रा हस्तान्तरण गर्नुभएको हो । तीमध्ये २१ लाख ७६ हजार ६५० मात्रा जोन्सन एण्ड जोन्सन र १९ लाख ६५ हजार ६०० मात्रा मोडर्ना रहेका छन् । हस्तान्तरण समारोहमा मन्त्री खतिवडाले जर्मनीले उपलब्ध गराएको खोपले सरकारको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउनुभयो । कोभिड–१९ को सुरुआती अवस्थादेखि नै रोकथाम र नियन्त्रणमा जर्मनी सरकारले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको भन्दै उहाँले आज उपलब्ध गराएको खोपले नेपाल र जर्मन सरकार बीचको द्विपक्षीय सम्बन्धमा आज अर्को इँट्टा थपेको बताउनुभयो ।
“कोभिड–१९ को परीक्षणसम्बन्धी सूचना व्यवस्थापन, स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनमा उपलब्ध गराइएको सहायतासमेत सराहनीय छ,” मन्त्री खतिवडाले भन्नुभयो, “जर्मनी सरकारका तर्फबाट प्राप्त अन्य स्वास्थ्य उपकरण र सामग्री उपयोगी छ ।” नेपालमा स्वास्थ्यबीमाको सुरुआत र संस्थागत गर्न, अस्पताल तथा स्वास्थ्य संस्था निर्माण गर्न, स्वास्थ्य सूचना प्रणाली संस्थागत गर्न तथा समग्र स्वास्थ्य प्रणाली सदृढीकरणका लागि जर्मन सरकारले पु¥याएको सहयोग स्वागतयोग्य रहेको उहाँले बताउनुभयो । भू,कम्प पश्चातको पुनःनिर्माणअन्तर्गत जर्मनी सरकारको सहयोगमा गोरखा, जिरी र रामेछापमा अस्पताल निर्माण सम्पन्न भई हस्तान्तरण गरिसकेको मन्त्री खतिवडाले जानकारी दिनुभयो । यस्तै जर्मनी सरकारले रिकभरी–२ कार्यक्रमअन्तर्गत दोलखाको भीमेश्वर स्वास्थ्य चौकी, भक्तपुरको झौखेल स्वास्थ्य चौकी, साँखु प्राथमिक अस्पताल र बझाङ्को मेलबिसौनी स्वास्थ्य चौकी निर्माणका लागि प्रारम्भिक चरणको काम भइरहेको छ ।
यस्तै डडेल्धुरा अस्पतालको मातृ तथा बाल स्वास्थ्य भवन र स्टाफ भवन निर्माणको काम भइरहेको, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालअन्तर्गत तारकेश्वर र चन्द्रागिरि नगरपालिकामा सेटलाइट अस्पताल बनाउने काम अघि बढेको छ । जर्मनी सरकारले कोभिड–१९ को सुरुवातदेखि सरकारलाई १० मिलियन यूरो बराबरको अनुदान रकम उपलब्ध गराएको थियो । सो अवसरमा नेपालका लागि जर्मनीका कार्यवहाक राजदूत डा रसेकले जर्मन सरकारले नेपाललाई स्वास्थ्य र शिक्षामा सहयोग गर्दै आएको भन्दै खोपले नेपाली जनतालाई कोभिड–१९ को महामारीबाट जोगाउने बताउनुभयो । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले मोडर्ना खोप यही पुस ४ गतेदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने बताउनुभयो । उहाँका अनुसार सरकारले ५७ जिल्लामा विद्यालयमा गई उक्त उमेर समूहका बालबालिकालाई खोप प्रदान गर्ने छ । यस्तै जोन्सन एण्ड जोन्सन भने विदेश जाने र लक्षित अन्य व्यक्तिलाई लगाइने छ ।
कांग्रेस महामन्त्री मतगणनाः दुई हजार २० गन्दा थापा र शर्माको अग्रता कायमै
काठमाडौँ, १ पुस ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म दुई हजार २० मत गणना भएको छ । प्राप्त मतपरिणाम अनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको सुरुदेखिको अग्रता कायमै छ । सबैभन्दा बढी थापाले एक हजार ३८५ मत प्राप्त गर्नुभएको छ । महामन्त्रीका अर्का प्रत्यासी शर्माले ८५१ मत ल्याउनुभएको छ ।
त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवार क्रमशः डा प्रकाशशरण महतले ६९८, प्रदीप पौडेलले ६२९, डा मीनेन्द्र रिजालले ३६५ र डा राजाराम कार्कीले ५९ मत प्राप्त गर्नुभएको छ । महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको हो । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । उपभापति पदमा पार्टीका युवा नेताहरु थापा, डा महत, पौडेल, डा रिजाल, डा कार्की र शर्मा उम्मेदवार हुनुहुन्छ ।


