१८ हजार बालबालिकालाई मोडर्ना खोप दिइने
मान्म, १ पुस । कालीकोटमा १८ हजारभन्दा बढी बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको छ । यहाँका १२ देखि १७ वर्ष उमेर समूहका १८ हजार १६७ बालबालिकालाई पहिलो मात्राको कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका नौ वटा स्थानीय तहमध्ये शुभकालिका गाउँपालिकामा एक हजार ७२२, महावैमा दुई हजार ७९, नरहरीनाथमा तीन हजार ६९६, पचालझरनामा दुई हजार ९१, पलाँतामा दुई हजार ७७७ र सान्नी त्रिवेणी गाउँपालिकामा दुई हजार ५०७ तथा खाँडाचक्र नगरपालिकामा तीन हजार ५४४, रास्कोटमा तीन हजार ३०३ र तिलागुफा नगरपालिकामा दुई हजार ८९२ गरी कूल २४ हजार ६११ जना ती समूहका बालबालिका रहेका छन् । तीमध्ये पहिलो मात्राको खोप १८ हजार १६७ जना बालबालिकालाई दिने लक्ष्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले जानकारी दिनुभयो ।
“जिल्ला शिक्षा विकास समन्वय इकाइ कालीकोटको दिएको डाटाअनुसार २४ हजार ६११ जना बालबालिका रहेका छन्”, उहाँले भन्नुभयो, “स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाले १८ हजार १६७ बालबालिकालाई मोडर्ना खोप दिने लक्ष्य दिएको छ । यकीन तथ्याङ्क पालिकाबाट फेरि मागेका छौँ ।”जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा हालसम्म सञ्चालित कोभिडविरुद्धको खोप अभियानको समीक्षा तथा आगामी पुस महिनाको १२–१४ गते सञ्चालन हुने १२ वर्षदेखि १७ वर्ष उमेर समूहका लागि मोडर्ना खोप अभियान सञ्चालन सम्बन्धमा छलफल भएको उहाँले जानकारी दिनुभयो । खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको र खोपसम्बन्धी दक्षता हासिल गरेका स्वास्थ्यकर्मी र गाउँगाउँमा रहेका स्वास्थ्य स्वयंसेविका परिचालन गरिने निमित्त व्यवस्थापक महतले बताउनुभयो । मोडर्ना खोप जिल्लाका नौ वटै स्थानीय तहका १२० भन्दा बढी खोप केन्द्रमा उपलब्ध हुने उहाँको भनाइ छ ।
समयमै योजना सम्पन्न गराउन स्थानीय तहको सक्रियता
राँझा, १ पुस ।बाँकेका स्थानीय तहले निर्माणाधीन योजना समयमै सम्पन्न गराउन सक्रियता देखाएका छन् । स्थानीय तहमा सञ्चालित तथा निर्माणाधीन योजना समयावधिमै सम्पन्न गराउन अनुगमनमा तीव्रता दिएका छन् । दैनिकजसो योजना अनुगमन गरी समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनी र उपभोक्ता समितिलाई आवश्यक निर्देशन दिने कार्य भइरहेको जानकी गाउँपालिकाकी कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो । गाउँपालिकाभित्र निर्माणाधीन सडक, पुल, गाउँपालिका प्रशासनिक भवनको नियमितरुपमा अनुगमन गरी समयावधि भित्रै काम सम्पन्न गर्न ताकेता गरिएको उहाँले बताउनुभयो । गाउँपालिकामा सञ्चालित योजनालाई तोकिएको समयमा पूरा गराउने उद्देश्यले डुडुवा गाउँपालिकाले अनुगमनमा तीव्रता दिएको छ । पालिकामा सञ्चालित ठूला तथा साना योजनाको अवस्था बुझ्न र निर्माण कम्पनीलाई ताकेता गर्न अनुगमनलाई तीव्रता दिइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
उहाँले गाउँपालिकामा सञ्चालित सबैभन्दा ठूलो योजना गाउँपालिकाको प्रशासनिक भवन, विद्यालय भवन, तथा विभिन्न धार्मिकस्थलमा निर्मित भौतिक पूर्वाधारको अनुगमन गरिएको जानकारी दिनुभयो । गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम करिब ८० प्रतिशत पूरा भएको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । प्रशासनिक भवन नयाँ आर्थिक वर्षअघि नै सञ्चालनमा ल्याई गुणस्तरीय सेवा प्रवाह र साधन स्रोतको परिचालन तथा व्यवस्थापन गर्नेतर्फ ध्यान दिएको उहाँको भनाइ छ ।बाँकेको नरैनापुर गाउँपालिकाले पनि योजना समयावधिमै सम्पन्न गराउन आवश्यक तदारुकता देखाएको छ । निर्माणाधीन गाउँपालिका प्रशासनिक भवनको अनुगमन गरी समयमै काम सम्पन्न गर्न आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो ।उहाँका अनुसार रु छ करोड ८० लाखको लागतमा निर्माणाधीन भवनको अनुगमन गरी सम्झौता अवधिमा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनी जुगल प्रतिष्ठा जेवीलाई ताकेता गरिएको छ ।


