प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण

विराटनगर, ४ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । २३० जनाको पीसीआर परीक्षण गर्दा झापामा ५, मोरङमा ४ र इलाममा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको दमक र बाहृदशीमा २–२ र शिवसताक्षीमा १, मोरङको उर्लाबारी, लेटाङ, केराबारी र रतुवामाईमा १–१, इलामको चुलाचुली र माईजोगमाईमा १–१ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८ महिला र ७ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ९१ रहेको छ ।

पूर्वमा बसोबास गर्ने लिम्बू समुदायले चासोक तङ्नाम मनाउँदै
दिलकुमार लिम्बू/ताप्लेजुङ, ४ पुस ।नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने लिम्बू समुदायले आज चासोक तङनाम धुमधामका साथ मनाउँदै छन् । प्रत्येक वर्ष धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वको रुपमा चासोक तङ्नाम मनाउने गर्छन ।

खेती प्रणालीको विकासदेखि नै लिम्बू समुदायले चासोक तङ्नाम पर्व मनाउँदै आएको लिम्बू समुदायको जातिय संस्था (किराँत याङथुङ चुम्लुङ)ताप्लेजुङका शाखाका सचिव इदिरा मान्याङबोले बताए । धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ । आजको दिन किरात समुदायमा बस्ती चासोक तङ्नाममय बनेको छ । प्रदेश १ मा किरात समुदायको बसोबास भएकाले आज सार्वजनिक विदा समेत दिएको छ ।

प्रायः पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरी चासोक तङ्नामन मनाउने गरेको मेन्याङबोले बताए । चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुजिन्छ । सारमा, बाली उब्जाइदिने प्रकृति– जल, जमिन, वायु, अग्नि (सूर्य) लाई विशेषले पुजिन्छ । चासोक तङ्नाम अन्नप्रति सम्मान व्यक्त गर्ने परम्परा पनि हो । लिम्बू जातिले अन्नलाई माङ् (देवता) मान्दै आएको किरात याक्थुङचुम्लुङका ताप्लेजुङका उपध्यक्ष डिपी बालुङबाले बताए ।

चासोक तङ्नामका बेला पैयुँ फूल्नुका साथै माछा, चरा दक्षिणतिर लागेको उँधौली याम (दक्षिणायण­) को न्वागी पर्व चासोक तङ्नाम पर्वको रुपमा मनाउने गर्छन् । लिम्बू भाषामा ‘चासोक’को अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पूजेर तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नु भन्ने हुन्छ । तागेरानिङ्वाभुमाङ जल, जमिन, वायु, अग्नि वा सूर्यका जन्मदाता मानिन्छ । ‘तङ्नाम’ले पर्व अर्थात् उत्सव जनाउँछ ।

लिम्बू मुन्धुम (शास्त्र) अनुसार आदिम लिम्बू पुर्खा सावा येत्हाङहरूले काँचो कन्दमुल खोजी खाने गर्थ्यो । यसबाट उन्मुक्ति पाउन पुर्खाले तपस्या गर्नु भयो । यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो जातको पाङ्दुर), क्यावो (फापर), फामु (कागुनी) लगायत बिज दिएको लिम्बू शास्त्रमा उल्लेख छ । प्राप्त बिज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बू महिला) ले संरक्षण गरेर कृषि युगको सुरुवात गरेकेा विश्वास छ । आगोले मानिस खाद्यान्न पकाएर खान अभ्यस्त भए । यसपछि मानिसले स्वास्थ्यकर खाद्यान्न पाउन थाले । यसपछि प्रकृतिसहित खाद्यान्नको बीउ दिने ‘तागरेनिङ्वाभुमाङ’लाई सधन्यवाद आफूले नखाई चोखो अन्न अर्पण गर्न थालियो । यसैको निरन्तरता ‘चासोक तङ्नाम’ अहिले पनि कायम रहेको लिम्बू समुदायकाे विश्वास छ  ।

धान र कोदो पाकेपछि लिम्बू जातिले चासोक गर्नैपर्ने चलन छ । चासोक पूजा आ-आफ्नो घरमा फेदाङ्मा (लिम्बू पुरेत) बोलाई गर्नु पर्छ । फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुगार्दै नयाँ अन्न खान पाउने अनुमति माग गर्छन् । खादा, रोग व्याधी नलागोस्, स्वस्थ जीवन जिउन पाइयोस् भन्ने कामना पनि गरिन्छ । फेरी पनि धेरै अन्न फलाउन सहयोगको याचनासमेत गरिन्छ ।

चासोकका बेला कलात्मक रूपमा चिटिक्कको पुतली झलक दिने धानका बाला बुनिन्छ । यसलाई घरको पनि शोभा बढ्नेगरी ढोकाछेउमा झुन्ड्याइन्छ । यसरी आफूहरूको पहिचानसहितको सभ्यता बोक्ने चासोक तङ्नाम लिम्बू जातिले आफ्नो मौलिकताको मुख्य चाड लिने गर्छन् ।

‘चासोक तङ्नाम’ विभिन्न धार्मिक, ऐतिहासिक, साँस्कृतिक स्थलमा आयोजना गरिन्छ । संस्थागत चासोक तङ्नाम मनाउने क्रममा यसलाई साँस्कृतिक पर्यटनसँग पनि जोड्न थालिएको छ । चासोक पर्यटन प्रवद्र्धन गर्न लिम्बुवान क्षेत्रका विभिन्न ठाउँमा, मेलासमेत लाग्न लाग्छ । जहाँ लिम्बूजन्य अन्य संस्कृति पनि प्रवद्र्धन गरिन्छ  ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।