प्रदेश १ मा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगर, ११ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ । ३५५ जनाको पीसीआर परीक्षण गर्दा २२ र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ७, लेटाङ, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी, केराबारी र रतुवामाईमा १–१, सुनसरीको इटहरीमा २, धरान र रामधुनीमा १–१,झापाको दमक, मेचीनगर र विर्तामोडमा १–१, पाँचथरको हिलिहाङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र ५ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ११३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्छ : अनिल झा
काठमाडौं, ११ पुस/लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संविधानमा गणतन्त्रको विषय समेटिएको भए पनि जनताले अनुभूति गर्ने गरी संघीयता र समावेशीको एजेन्डा सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
यसका लागि मधेस आन्दोलन भए पनि अहिलेसम्म सम्बोधन नभएको भन्दै उनले संघीयता र समावेशीको एजेन्डाका लागि जीवन दाउमा राखेर माओवादी क्रान्तिमा होमिएको भए पनि अहिले त्यसलाई सम्बोधन गराउन चुकेको आरोप लगाए ।
‘गणतन्त्र, समावेशी, संघीयताका लागि माओवादी क्रान्तिमा होमियो। हामी शान्तिपूर्ण आन्दोलनमा लाग्यौैँ,’ उनले भने, ‘तर, गणतन्त्र संविधानमा समावेश भए पनि संघीयता र समावेशीबारे उठाइएको एजेन्डा अहिलेसम्म सम्बोधन भएन ।’ यी माग सम्बोधन गर्ने गरी माओवादी अधिवेशनले निर्णय लिने उनको अपेक्षा छ ।


