जडिबुटी बाेकेकाे ट्रक नियन्त्रणमा
खोटाङ, १० जेठ । खोटाङमा प्रहरीले दरपीठ नभएको स्थानीय जडिबुटी नियन्त्रणमा लिएको छ । बागमती प्रदेश ०१००६ ख ३३४७ नम्बरको ट्रकमा राखेर अन्यत्र लैजाँदै गरेको अवस्थामा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीबाट जडिबुटी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
हलेसीस्थित ट्राफिक चोकमा खटिएको प्रहरीको टोलीले सोमबार सवारी साधन चेकजाँच गर्नेक्रमका शंका लागेर चेकजाँच गर्दा दरपीठ नभएको जडिबुटी फेला परेको ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले जनाएको छ । प्रहरीले जडिबुटी, ट्रक चालक, सामानको मालिक र ट्रकलाई नियन्त्रणमा लिएर कारबाहीका लागि डिभिजन वन कार्यालयलाई जिम्मा लगाएको छ । कागजपत्र नमिलेको र शंकास्पद देखिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
जग्गा अधिग्रहणको सिमाङ्कन अन्तिम चरणमा
काठमाडौँ, १० जेठ ९रासस० ःकैलालीको धनगढीस्थित गेटा विमानस्थल विस्तार तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणका लागि सिमाङ्कन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जग्गा अधिग्रहणका लागि सिमाङ्कनको कार्य चाँडो सक्न निर्देशन दिनुभएको थियो । अहिले उक्त कार्य अन्तिम चरणमा पुगेको गेटा विमानस्थलस्थित नेपाल नागरिक उड्डयनको कार्यालयले जनाएको छ ।
जग्गा अधिग्रहणका लागि गरिएको सिमाङ्कन तथा चार किल्लाको निरीक्षणका लागि काठमाडौँबाट त्यसतर्फ प्राविधिक टोली जाने तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले जनाएको छ । जग्गा अधिग्रहणका लागि चार किल्लाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको गेटा विमानस्थलस्थित उड्डयन कार्यालयका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ हामीले जग्गा अधिग्रहणको चार किल्लाको सिमाङ्कन कार्य अन्तिम चरणमा पु¥याएका छौँ, आज प्राविधिक टोली आएर हेर्नेछन् ।” गेटा विमानस्थलको विस्तार तथा क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि गएको पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले जग्गा अधिग्रहणको निर्णय गरिसकेको थियो ।
विमानस्थलका अनुसार पूर्वतर्फ खुटिया सडक, उत्तरतर्फ हालको तारबार गरिएको क्षेत्रबाट ३४० मिटर उत्तरसम्म, पश्चिमतर्फ हालको तारबार गरिएको क्षेत्रबाट ७०० मिटर, पश्चिमसम्म र दक्षिणतर्फ हालको तारबार गरिएको क्षेत्रबाट १०० मिटर दक्षिणसम्म विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने लगभग टुङ्गो लागेको जनाइएको छ । जग्गा अधिग्रहण हुने क्षेत्रमा अहिले माटो खन्नेदेखि जग्गाको स्वरुप बिगार्ने काम भएको गुनासो आएपछि गेटा नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै सो क्षेत्रमा माटो नखन्न र जग्गाको स्वरुप नबिगार्नसमेत सम्बन्धित जग्गाधनीलाई आग्रह गरेको छ ।


