टोल टोलमा साकेला उँभौलीको रौनक

केदार मगर/खोटाङ, १० जेठ । स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै पूर्वी पहाडी जिल्ला खोटाङमा किराँत समुदायको महान् चाड साकेला (उँभौली)को रौनक छाएको छ । अहिले किराँत समुदायको बसोबास रहेको हरेक टोलमा ढोल–झ्याम्टा र साकेला गीतले गाउँ नै गुञ्जयमान बनेको छ ।

‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म साकेला (उँभौली) मनाउने चलन छ । साकेलाको अवसरमा परम्परागत वेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाउँदै गोलो घेरामा साकेला सिली नाच्ने गरिन्छ ।

घर–घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै साकेला नाच्ने गरिन्छ । अहिले किराँत समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीमा युवायुवती, केटाकेटी र बूढापाकाको जमघट तथा साकेला गीत र नाचले गुञ्जयमान बनेको बाहिरी भू–भागबाटै स्पष्ट सुनिन्छ ।

साकेला चाड वर्षमा दुईपटक अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमादेखि उँभौली र उठाउने बेला मङ्सिरे पूर्णिमादेखि उँधौली मनाउने गरिन्छ । उँभौलीका अवसरमा किराँत राईहरूको ऐतिहासिक थलो मानिएको ठाउँहरूमा पूजाआजा गरिएसँगै महिना दिनसम्म मनाउने प्रचलन छ ।

जिल्लाको ऐतिहासिक तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुङ, रुपाकोट, मेरुङ, जन्तेढुङ्गा, छोङ्खालगायतका धार्मिक तथा पर्यटकीयस्थलका साथै साकेला थानमा साकेला नाचिन्छ । किराँती राईहरूको घनाबस्ती रहेको माझ किराँत खोटाङका हरेक गाउँ तथा बस्तीमा अहिले साकेला सिली प्रदर्शन गर्दै आपसमा शुभकामना आदानप्रदान गरेर उँभौली चाड मनाउने क्रम धुमधामका साथ चलिरहेको छ ।

छितको गुन्यू, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपी किराँती मौलिक वेषभूषामा ठाँटिएर हरेक किराँतीका घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदायमात्र नभई गैरकिराँत समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् । चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल–झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनाका साथ साकेला मनाइन्छ । खुला आकाशमुनि संयुक्तरूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला नाचिन्छ ।

बालबालिकादेखि वृद्धसम्म एउटै लहरमा सामूहिकरूपमा नाचिने साकेला नृत्यले आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गर्छ । हातखुट्टाको चालले पङ्क्तिबद्धरूपमा नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ ।

साकेला चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने किराँत राई यायोख्खा खोटाङका युगशन किराँतले बताउनुभयो । “साकेला पर्वमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान–प्रदान गर्ने गरिन्छ”, उहाँले भन्नुभयो, “प्रकृति र पितृको पूजासँगै मनाइने यो साकेला पर्वले किराँत र गैरकिराँतबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पु¥याउने अपेक्षा गरेका छौँ ।”

यसैबीच उभौली चाडको अवसर पारेर जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा अहिले हरेक दिन साकेला सिली प्रदर्शन भइरहेको छ । उँभौलीको अवसर पारेर आफन्तजनसँग भेटघाट गर्नुका साथै शुभकामना आदान–प्रदान गर्दै साकेला सिली प्रदर्शन गर्ने गरिएको आयोजक किराँत राई यायोख्खाले जनाएको छ ।

उँभौली चाडको सुरुआती दिन अर्थात् यही जेठ २ गते मझुवागढीबाट सुरु भएको साकेला सिली पदर्शनी तथा शुभकामना आदान–प्रदान कार्यक्रम यही जेठ २८ गते शनिबार औपचारिकरूपमा समापन गरिने आयोजकले जनाएको छ । दिक्तेलको माटीकोरे खेलमैदानमा आयोजना गरिने समापन कार्यक्रममा बृहत् साकेला सिली प्रदर्शन गरिने जनाइएको छ ।

उँभौली चाड समापन कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घसंस्थाका प्रतिनिधिलगायतलाई निम्तो दिइएको किराँत राई यायोख्खा खोटाङका अध्यक्ष हात्तीराम राईले जानकारी दिनुभयो । समापन कार्यक्रममा सहभागी अतिथिलिाई समेत साकेला सिली नाच्न लगाएर मनोरञ्जन दिलाइने आयोजकले जनाएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।