सङ्खुवासभामा पहिरोबाट विस्थापितलाई जग्गा

किमाथाङ्का, १० भदौ । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोबाट विस्थापित परिवारलाई जग्गा हस्तान्तरण गरिएको छ । गत २०७७ असार २७ गते राति गएको पहिरोबाट सिलिचोङ–१ बेसिन्दाका ९२ परिवार विस्थापित भएका थिए । विस्थापितमध्ये ५५ परिवारलाई खाँदबारी नगरपालिका–७ मा जग्गा हस्तान्तरण गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति, खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिकाले संयुक्तरूपमा विस्थापित ५५ परिवारलाई गोलाप्रथा गरेर जग्गा बाँडफाँट गरेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो । पहिराबाट विस्थापित ५५ परिवारले पुनःस्थापनाका लागि खाँदबारी रोजेका थिए । खाँदबारीका उपप्रमुखको संयोजकत्वमा गठन भएको जग्गा व्यवस्थापन समितिले निःशुल्क तथा सःशुल्क जग्गा दिन चाहनेबाट विवरण सङ्कलन गरी सबैभन्दा राम्रो मानिएको खाँदबारी–७ भैरेडाँडाको जग्गा छनोट गरेको थियो ।

समितिले खाँदबारी नगरपालिका–७ भैरेडाँडामा ५५ परिवारका लागि ६९ रोपनी जग्गा रु एक करोड ३० लाखमा खरिद गरेको हो । भूगर्वविद् तथा प्राविधिकको प्रतिवेदनपछि जिल्ला विपद् व्यवस्थापन समितिले जग्गा खरिद गरी पीडित परिवारलाई हस्तान्तरण गरेको छ । जग्गाको लालपुर्जा संयुक्त नाममा भए पनि घर निर्माणका लागि कित्ताकाट गरी प्रत्येक परिवारलाई वितरण गरिएको हो ।

जग्गा बाँडफाँटसँगै पहिलो चरणमा अस्थायी टहरा बनाउन रु ५० हजार र घर बनाउन तीन किस्तामा रु पाँच लाख दिने व्यवस्था कार्यविधिमा रहेको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो । पहिरो विस्थापित २५ परिवारलाई सिलिचोङ गाउँपालिकाको चित्रेगाउँमा र चेप्चेवाका १२ परिवारलाई बखल्टुममा स्थानान्तरण गरिएको छ । चित्रेमा ५१ दशमलव पाँच रोपनी रु ७० लाख र बखल्टुममा १७ दशमलव पाँच रोपनी रु ३४ लाखमा खरिद गरी पहिरो विस्थापितका नाममा पास गरिएको छ । उक्त जग्गा चाँडै बाँडफाँट गरिने सिलिचोङ गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले बताउनभयो । जिल्ला विपद् व्यवस्थापन समितिले गत फागुन २९ गते जग्गा खरिद गर्ने निर्णय गरेपछि प्रक्रिया अगाडि बढेको थियो । सङ्घीय सरकार, प्रदेश सरकार र गाउँपालिकाले बजेट व्यवस्थापन गरी जग्गा खरिद गरेको हो ।

पहिरो विस्थापितलाई मनसुनजन्य विपद् प्रभावितलाई पुनःस्थापना गर्नेसम्बन्धी कार्यविधिअनुसार बजेटको व्यवस्थापन गरी जग्गा खरिद तथा घर निर्माण गर्न लागिएको हो । सो कार्यविधिअनुसार सङ्घीय सरकारले ६०, प्रदेशले ३० र स्थानीय सरकार सिलिचोङ गाउँपालिकाले १० प्रतिशत लगानी गरेको छ । घर निर्माणका लागि सिलिचोङ गाउँपालिकाले आफ्नो दायित्वमा परेको १० प्रतिशत रकम जिल्ला विपद् व्यवस्थापन कोषको खातामा जम्मा गरिसकेको जनाएको छ । सङ्घ तथा प्रदेश सरकारमा बजेट माग भएको प्रजिअ खतिवडाले बताउनुभयो । पहिरो गएकै स्थानमा दुई वर्षसम्म जोखिम मोलेर बस्दै आएका पीडित जग्गा पाएपछि खुसी छन् । पहिरोले सिङ्गो गाउँ नै बगाएपछि बेसिन्दा र चेप्चेवाका बासिन्दा विस्थापित भएका थिए । उक्त पहिरोमा परी ११ जना अझै बेपत्ता छन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।