रित्तिएको गाउँका भरिएका मन

सुमनजङ्ग थापा/कुश्मा, १७ भदौ (रासस) ः पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको एउटा सुन्दर गाउँ छ, भुकदेउराली । आँखै अघि देखिने हिमालका मनोरम दृश्य र एकनासले लहरै मिलेर बसेका घरहरु देख्दा आँखै झिम्काउन मन लाग्दैन । प्रत्येक घरका झ्याल र ढोकामा निलो रङ लगाइएका छन् । यही रङले पनि भुक गाउँ भनेर चिनाएको छ र टाढैबाट पनि यस गाउँलाई नियाल्न सकिन्छ ।

यस गाउँमा दुई सयको हारहारीमा घर छन् । आधाभन्दा बढी घरका ढोकामा लगाइएका चापी नखुलेको भने वर्षांै भएको छ । देशमा सशस्त्र द्वन्द्वमा फस्नु अघिसम्म गाउँको रौनक नै बेग्लै थियो । घरमुली कमाउन विदेशिए पनि उनका परिवार गाउँमै रमाउँथे । आफूहरु पनि घरखेत गर्दै मेलापातमै रमाउने गर्थे । अहिले ती दिनहरु गाउँलेका सम्झनामा मात्र सीमित छन् । उनीहरु भन्छन् “अहिले ती दिनहरु सबै इतिहास भइसके, पाका उमेरका गाउँलेका सम्झनामा मात्र सीमित बन्न पुगेका छन् ।”

“पहिले त गाउँ कम्ता रमाइलो थिएन नि बाब”, अगेनाछेउमा बसेर झिलिङ्गा रोटी बनाउँदै गर्नु भएकी डिलकुमारी गुरुङले भन्नुभयो, “पहिले पनि टाढाटाढाबाट घुम्नका लागि अहिलेजस्तै मान्छेहरु आउने गर्थे, उनीहरु एक दिन मात्रै बस्न र घुम्न भनेर आए पनि चार पाँच दिन बसेर पो जान्थे नि बाबु । हामी पनि निकै खुसी हुनथ्यौँ । किन भने यहाँ आएका मानिसले हाम्रो गाउँ मन पराएर गाउँ छोड्नै मानेका छैनन् ।”

उहाँ जन्मेको, हुर्केको माइती घर पनि आफ्नो घरदेखि केही मिनेटकै दूरीमा रहेको छ । “बाल्यकालदेखि हाम्रा दिनहरु गाउँमै बिते, हामीलाई त आफ्नै यही गाउँ नै प्यारो लाग्दो रहेछ”, गुरुङले भन्नुभयो । उहाँका दुई छोरामध्ये एउटा बेलायती सेनामा र अर्का पोर्चुगलमा हुनुहुन्छ । पोर्चुगलको छोरा सपरिवार उतै हुनुहुन्छ ।

“छोराहरुले गाउँमा दुःख नगर्नु पोखरा गएर बस्नु भन्याभनै गर्छन्”, उहाँले भन्नुभयो, “बुढाले सहर गएर बस्न मनै पराउँदैनन्, कहिलेकाहीँ गइहाले पनि उतिनै बेला फर्किहाल्छन्, कहाँको सधैँका लागि बस्न सकिन्थ्यो र ?”

अवसर र बाध्यताले विदेशमा रहेका देउरालीवासीको मन गाउँकै पाखामा, गोरेटो बाटोमै घुमिरहेको देखिन्छ । नमूना गाउँ बनाउने अभियानमा विदेशबाट आर्थिक सहयोग मात्र होइन सपना पनि बाँड्ने गरेका छन् । उनीहरुले गाउँको विकासका लागि विभिन्न क्षेत्रमा निःस्वार्थ भावनाले लगानी गर्दै आएका छन् । यस गाउँका अधिकांश युवा बेलायत, हङकङलगायत युरोपका देशमा छन् ।

“वडाले गाउँको विकासको लागि खर्च गर्ने रकमको पाँच गुणा बढी रकम विदेशमा बस्ने भुकदेउरालीवासीले गर्नुभएको छ”, निर्वतमान वडाध्यक्ष गौप्रसाद गुरुङले भन्नुभयो, “रातमा गाउँ पूरै झलमल देखिन्छ, ठाउँठाउँमा अत्याधुनिक शौचालय निर्माण गरिएको छ, खेलकुद मैदान बनाइएको छ, स्वास्थ्यचौकी निर्माण गरिएको छ ।”

विदेश र सहर बस्ने देउरालीवासी मिलेर गाउँमा सहकारीमार्फत अलैँची खेतीको सुरुआत गरिएको छ । “घर छाडेर बाहिरिएकाको खाली भएको बाँझो जमिन दश वर्षको लागि भाडामा लिएर अलैँची खेती गर्न थालिएको छ”, निर्वतमान वडाध्यक्ष गुरुङले भन्नुभयो, “ताङ्ले, लप्सीबोट, भमरकोट हुँदै म्याग्दीको घोडेपानी जोड्ने काम भइरहेको हुँदा यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने देखिन्छ ।” गुरुङ पर्यटकीय चहलपहल बढेपछि सहरमा भएका युवा गाउँ फर्कनेमा ढुक्क हुनुहुन्छ ।

बाजा बजाउने दलित समुदायको संस्कृति जोगाउन पनि विदेशमा बस्ने स्थानीयवासीले सहयोग गर्दै आएका छन् । “हामीलाई चाहिने बाजा, पोसाक र समाजघर निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ”, बाजा बजाउँदै गर्नुभएका भुकदेउराली नौमती बाजा समूहका सदस्य डिलप्रसाद परियारले भन्नुभयो, “हामी बाजा बजाउन अन्यत्र धेरै ठाउँमा पनि जाने गरेका छौँ, त्यहाँबाट आउने केही पैसा हामीले राख्छौँ भने बाँकी समाज घरमा राख्ने गरेका छौँ ।” उहाँका अनुसार यसभन्दा अघि सङ्कलन भएको रकम गाउँकै घोडेटो बाटो निर्माणमा खर्च गरिएको छ ।

भुकदेउरालीका दश घरमा पाहुना घर सञ्चालन गरिएको छ । रित्तिएको गाउँमा बाहिरबाट पाहुना आउँदा सिङ्गो गाउँ नै खुसी हुन्छ । बाजागाजासहित पुरै गाउँले मिलेर फूलमालाले सम्मानसहित पाहुना घरसम्म पु¥याउने गर्छन् । “गाउँमा मान्छेहरु बस्न छाडिसके”, पाहुना घरकी सञ्चालिका पूर्णिमा गुरुङले हाँस्दै भन्नुभयो, “तपाईंहरु पाहुना भएर आउँदा ज्यादै खुसी लाग्छ, सधँै गाउँमै बसिदिए हुन्थ्यो झैँ लाग्छ ।”

एक दिनका लागि आउने पाहुनालाई पनि घरकै सदस्य जसरी गरिने व्यवहारले गहिरो आत्मीयता दर्शाउँछ । पाहुना घरका कारण रित्तिएको आफ्नोे गाउँ फेरि भरिनेमा उनीहरु आशावादी छन् । “देशमा सङ्कटपछि गाउँ पूरै खाली भयो”, भुकदेउराली नमुना गाउँ सामुदायिक होमस्टेका अध्यक्ष टेकबहादुर गुरुङले भन्नुभयो, “अहिले तीनचार घरका फर्किसक्नुभएको छ, एक दिन सबैजना गाउँमै फर्कनु होला भन्ने विश्वास छ ।”

कुश्मा, बागलुङ, पोखरादेखि मात्र नभएर काठमाडौँलगायत टाढाका जिल्लाबाट पनि पाहुना घरमा पर्यटक आउने गर्छन् । पछिल्ला दिनमा त चलचित्रदेखि विभिन्न गीतको छायाङ्कन गर्नसमेत चलचित्रकर्मी आउने गरेका छन् ।

गाउँमा आउने पाहुनाका लागि स्थानीयरुपमै उत्पादन भएका अर्गानिक खानाका परिकारजस्तै कोदोको सेलरोटी, कोदोको ढिँडो र कोदोको सुख्खा रोटी, भुटेको मकै, भटमास, गुन्द्रुकको अचार, स्थानीय जातका दाल, लोकल कुखुराको मासुलगायतका खाना तयार हुन्छन् ।

“यस ठाउँ साँच्चिकै नमूना रहेछ”, कुश्माबाट घुम्नका लागि भुकदेउराली पुगेका विजय चापागाईंले भन्नुभयो, “प्राकृतिक सुन्दरता त छँदैछ, त्यसका अतिरिक्त गाउँलेले पाहुनालाई देखाउने आत्मीयता, सफासुग्घर घरआँगन र रातमा झलमल बल्ने गाउँ अनि ठाउँठाउँमा बनाइएका आधुनिक शौचालयले मेरो ध्यान खिचिरहेको छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।